देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देहरादूनमा ५१ नेपाली विद्यार्थी निर्घात पिटिए

देशान्तर

भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै ‘बन्धक’ बनाएका छन् । दसैं–तिहारको बिदामा घर फर्कन पाऊँ भन्दै ५१ जना नेपाली विद्यार्थीले निवेदन दिएपछि विवाद बढ्दा रिम्पोचे ज्ञानबज्रले विद्यार्थीमाथि कुटपिट गरेका हुन् । कुटाइ खानेहरू ६ देखि १७ वर्षसम्मका छन् ।


अंग्रेजी शिक्षा तथा बौद्ध लामा पढाइ हुने उक्त एकेडेमीमा २ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेकामा ‘घर जान चाहने’ सबै विद्यार्थी तथा नेपाली मूलका शिक्षकसमेतको मोबाइल खोसिएको र एकेडेमी आवासबाहिर आउजाउ गर्न नदिइएको विद्यार्थीका अभिभावकले बताएका छन् । ‘रिम्पोचे ज्ञानबज्रले फलामको डन्डीले हाम्रा नानीहरूलाई हिर्काएछन्,’ सिन्धुपाल्चोकका ग्याल्जेन शेर्पाले कान्तिपुरलाई भने, ‘मेरा १७ र १३ वर्षका छोराहरू एकेडेमीकै विद्यार्थी भएको ७ वर्ष भइसक्यो, पहिलो पटक यसरी कुटिएको घटना सुनें ।’ उनी छोराहरूलाई घर फर्काउन मद्दत मागिरहेका छन् ।

शेर्पाका अनुसार एकेडेमीमा नेपाली गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाउने गरिन्छ । हरेक वर्ष मंसिरमा लुम्बिनीमा हुने बौद्धपूजामा देहरादूनबाट आउने रिम्पोचेले विद्यार्थी लिएर जान्छन् । शाक्य एकेडेमी विदेशी दाताको सहयोगमा चल्दै आएको छ । ‘मैले पनि लुम्बिनीबाटै छोराहरू रिम्पोचेलाई बुझाएको थिएँ,’ शेर्पाले भने, ‘तर यो वर्ष अलिक ननिको काम त्यहाँ भयो । चार महिनाअघि लकडाउनकै बेला मेरो भाइको छोरालाई पागल भन्दै बोर्डरमा ल्याएर छाडिदिए, त्यो छोराको मानसिक उपचार गर्दै छौं ।’ शाक्य एकेडेमीमा आफ्ना छोराछोरीले कुटपिट बेहोरेको र खानपिनसहितका समस्या खेपेको जानकारी रामेछाप, गुम्देलका टेन्डी शेर्पाले बुधबार दिउँसो मानव अधिकारकर्मी मोहना अन्सारीलाई दिएका थिए ।

टेन्डीका अनुसार सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, धादिङ, हुम्ला, जुम्ला, रुकुम, बागलुङसहितका ३० भन्दा बढी जिल्लाका लामा विद्यार्थी शाक्य एकेडेमीमा पढ्छन् । ‘घर जान माग गर्दा कुटपिट गरेर राखिएको रहेछ । अब कम्तीमा १० दिन स्कुल बाहिर जान नदिने रे । त्यही भएर उद्धारका लागि पहल सुरु गरेका हौं,’ टेन्डीले भने ।

शाक्य एकेडेमीका १८ विद्यार्थी भने दसैंअगाडि भागेर नेपाल आएका थिए । उनीहरूले समेत स्कुलमा खानसमेत नपाइएको लगायतका समस्या अभिभावकलाई सुनाएका थिए । ‘स्कुलका प्रिन्सिपल र अध्यक्षसमेत कहींकसैको सम्पर्क आउन चाहेका छैनन्, दिल्लीको नेपाली दूतावासलाई पनि खबर पुर्‍याउन सकिएको छैन,’ टेन्डीले भने । उनले एकेडेमीमा पढाउने केही भारतीय शिक्षक तथा सहयोगीबाट पाएको तस्बिरमा कुनै विद्यार्थीको निधारमा गहिरो चोट देखिन्छ भने कुनैको हातखुट्टाको औंला चुँडिएको र हातखुट्टा भाँचिएको देखिन्छ । कान्तिपुरमा खबर छ ।