November 26, 2020, Thursday
२०७७ मंसिर १२
ताजा अपडेट

नेकपा फेरि विवादको भुमरीमा

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

 चार महिनाको छिनाझपटीपछि फेरि विवाद नहुने गरी मिलेको भनिएको नेकपाभित्रको सहमतिबारे नेता घनश्याम भुसालले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकमा भनेका थिए, ‘यो सहमति ब्रेन ट्युमरका बिरामीलाई निको पार्छु भनेर टाउकामा घस्ने नुरानीको तेल लगाइदिएजस्तै हो ।’

भुसालकै जस्तै सार थियो– स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, रघुजी पन्त र मातृका यादवको पनि । उनीहरूले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा शक्ति बाँडफाँट गर्ने गरी विवाद समाधान गर्न बनेको कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव र त्यही आधारको अध्यक्षद्वयको प्रतिवेदनलाई तात्कालिक युद्धविरामको संज्ञा दिएका थिए तर प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल पक्षधर अधिकांश नेताहरू उक्त सहमतिबाट उत्साहित भए । विभाजनको संघारमा पुगेको पार्टीलाई जोगाएको र अब कोरोना नियन्त्रणमा समेत पार्टीको ध्यान केन्द्रित गर्ने उनीहरूको भनाइ थियो ।

Advertisement

अध्यक्षद्वयले पनि आन्तरिक विवाद सुल्झियो भनेर नेकपाले गत भदौ २६ लाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय (कट अफ डेट) का रूपमा व्याख्या गरे । पार्टी केन्द्रीय सदस्यहरूलाई सर्कुलर पठाउँदै उनीहरूले सोही दिनदेखि पुनः त्यस प्रकारको अन्तरविरोधपूर्ण विवाद नगर्ने प्रतिबद्धता जनाए ।

नेकपाको सचिवालय बैठकसमेत जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडामा बस्यो, जसलाई कार्यकारी अधिकार पाएका अध्यक्ष पुष्पकमल दाहालको भूमिका बढेको देखाउन नेकपाले दिएको सन्देशका रूपमा व्याख्या गरिएको थियो । उक्त बैठकमा सरकार पुनर्गठन र राष्ट्रिय सभा सदस्यमा मनोनीत वामदेव गौतमलाई मन्त्री बनाउन हुन्छ कि हुन्न भन्ने विषयमा लामो छलफल चल्यो ।

त्यसपछि नेकपामा सचिवालय बैठक कम र अध्यक्षद्वयबीच छलफल धेरै हुन थाले तर जति धेरै छलफल भयो, त्यति नै विवाद बल्झिँदै गयो । अध्यक्षद्वयले गत भदौ २९ गते अन्तरपार्टी निर्देशन जारी गर्दा भनेझैं भदौ २६ गते ‘कट अफ डेट’ बन्न सकेन । स्थायी कमिटी सदस्य मातृका यादव त्यतिखेर सहमतिका लागि भन्दा पनि गल्ती ढाकछोपका लागि मात्रै पार्टीभित्र मेलमिलाप भएकाले विवाद बल्झिने निश्चित नै भएको बताउँछन् ।

‘पार्टी जटिल अवस्थामा पहिले पनि थियो, अहिले पनि छ, त्यतिखेर स्थायी कमिटीमा विवाद मिल्यो भनेको पनि केही पाउन र केही बचाउनका लागि मात्रै हो, मैले त्यो बेला नै कार्यदलले ल्याएको सहमतिको प्रस्ताव रूपान्तरण हैन, गल्तीको ढाकछोप हो भनेको थिएँ,’ यादवले कान्तिपुरसँग भने, ‘कमरेडहरूले पार्टी नफुटोस् भनेर सहमति गर्नैपर्ने स्थिति आइलाग्यो भन्नुभयो । यस्तो मोजमस्ती गर्न पाएका छन्, नेताहरूले पार्टी फुटाउँछन् र ? हामीले रूपान्तरणको छलफल गर्नुपर्थ्यो सकेनौं ।’

यादवले भनेझैं नेकपाभित्रको विवाद बल्झिँदै गएको छ । कतिसम्म भने पछिल्लो सातायता अध्यक्षद्वयबीच संवादसमेत हुन सकेको छैन । बुधबार मात्रै पनि अध्यक्ष पुष्पकमल दाहालसँग महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले छुट्टाछुट्टै भेटेर पार्टीभित्रको द्वन्द्व समाधानका लागि पहलकदमी लिन आग्रह गरे तर प्रधानमन्त्री ओलीले छलफलका लागि गरेको निम्तो भने अर्का अध्यक्ष दाहालले बुधबार पनि अस्वीकार गरेको उनी निकटस्थहरूको भनाइ छ । कान्तिपुरमा खबर छ ।


  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share