देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कालापानीमा भारतीय फौजको परेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत

देशान्तर

काठमाडौं – राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक गुप्तचर प्रमुखको ‘इन्ट्री’ले देशभक्त नेपालीको मन कुडिएको छ ।नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग संवाद गर्नुपर्नेमा भारतको जासुसी संस्थाका प्रमुख सीधै नेपाल आएर प्रधानमन्त्रीसँग मध्यरातसम्म वार्ता गरेका छन् ।

यसले कूटनीतिक मर्यादा र देशको स्वाभिमान ध्वस्त बनाएको भन्दै सत्तापक्ष र प्रतिपक्षका नेताहरूले कडा विरोध जनाएका छन् ।प्रधानमन्त्री केपी ओली र ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ताको योजना दुई साता अगाडिबाट भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार दुई साताअघि ‘रअ’का डेपुटी प्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेका थिए । उनी पनि प्रधानमन्त्रीकै चाहनामा नेपाल आएका थिए । भेटमा प्रधानमन्त्री ओलीले ‘तपाईंको प्रमुखसँग भेट्न चाहन्छु’ भन्ने प्रस्ताव गरेका थिए । उनले दिल्ली गएर यसबारे थप छलफल गर्ने बताएका थिए । नेपालका प्रधामन्त्रीले नै भेट्न चाहेका छन् भनेपछि ‘रअ’ प्रमुख वायुसेनाको जहाज चढेर दलबलसहित काठमाडौं आएका हुन् ।

छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ ९रअ०का प्रमुख सामन्तकुमार गोयलको टोली बुधबार नेपाल आएको थियो । भारतीय वायुसेनाको ‘आइएफसी ४६२०’ उडानबाट बुधबार अपराह्न १ बजे काठमाडौं अवरण गरेका गोयललाई राति सवा ९ बजे बालुवाटारमा स्वागत गरिएको थियो ।

राति ९ः१५ मा बालुवाटारको गेटभित्र प्रवेश गरेका गोयल मध्यराति १२ः१० मा बाहिरिएका थिए । भारतका गुप्तचर प्रमुखले नेपालका जननिर्वाचित प्रधानमन्त्रीसँग बिताएका दुई घन्टा ५५ मिनेट सार्वभौम, स्वाभिमानी देशका लागि अँध्यारो पलको रूपमा दर्ज भएको छ ।

गुप्तचर संस्थाका प्रमुखले नेपालमा गुप्तचर वा अन्य सुरक्षा अंगका प्रमुखलाई भेट्नु अस्वाभाविक होइन । तर, उनी यसपालि सीधै नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न आएका हुन् । यो विषयमा मिडियामा समाचार प्रसार भएपछि प्रधानमन्त्री ओलीको सचिवालयले भेटको पुष्टि गर्दै प्रेस नोट जारी गरेको छ ।

‘भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार आउनुभएको थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा विहिबार जारी नोटमा भनिएको छ, ‘भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभयो ।’

छिमेकी भारतले नेपालको सिमाना अतिक्रमण गरेकोमा नेपाली राष्ट्रियता उद्वेलित छ । नेपालको भूगोल फिर्ता गर्न र भारतसँग आत्मसम्मानपूर्ण संवाद अपरिहार्य छ । तर, त्यसका लागि नेपालका प्रधानमन्त्रीले आफ्ना समकक्षीसँग वार्ता गर्ने हो कि गुप्तचर प्रमुखसँग ? यो विषयमा मिडिया र प्रतिपक्षले मात्र होइन, सत्तापक्षका नेताहरूले पनि प्रश्न उठाएका छन् ।

सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत प्रधाममन्त्री ओलीले ‘रअ’ प्रमुखसँग भेटेको भन्दै आपत्ति जनाएका छन् । ‘लिम्पियाधुरा, कालापानी, लिपुलेकका सन्दर्भमा मतभेद भइरहेको र भारतसँग सचिवस्तरमा वा मन्त्रीस्तरमा वार्ता गरौँ, आफ्ना मत राखौँ भनिरहेको र भारतले त्यसलाई स्वीकार नगरिरहेको अवस्थामा कायमै छ ।

यहीवेला भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखलाई जुन शैली, समयमा नेपाल ल्याइयो, बोलाइयो र प्रधानमन्त्रीले राति लामो वार्ता गर्नुभयो,’ नेता रावलले भने, ‘यो भेट हामीले संविधान निर्माण गर्दा नेपालको संविधानमा अंकित गरेको परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत छ । सरकारको नेतृत्व गरेको नेकपाको नीति, विचार, मान्यताको विपरीत छ । कूटनीतिक मर्यादाविपरीत छ ।’

त्यस्तै प्रतिपक्षी कांग्रेसले ‘रअ’ प्रमुखसँग भएको भेटको विषयवस्तु प्रधानमन्त्रीले देशलाई बताउनुपर्ने माग गरेको छ । ‘देशको प्रधानमन्त्रीले अर्को देशको गुप्तचर संस्थाको प्रमुखसँग भेट्नुपर्ने के काम पर्छ ? यो कूटनीतिक मर्यादाविपरीतको हो ।

भेटघाटमा के कुरा भएको हो ? यसको भित्री रहस्य के हो ? त्यो कुरा सरकारले प्रतिपक्षीलाई, देशलाई र जनतालाई प्रस्ट रूपमा जानकारी दिनुपर्छ । म यसको भित्री रहस्य के हो ? तुरुन्तै सार्वजनिक गर्न माग गर्दछु,’ कांग्रेस उपसभापति विमलेन्द्र निधिले नयाँ पत्रिकासँग भने । नयाँ पत्रिका दैनिकबाट