देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी, बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसहित प्यानलको उम्मेदवारी दर्ता

देशान्तर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उमेदवारी दर्ता गरेका छन् ।

महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनका प्यानलका सबै उपाध्यक्षका उमेदवारहरुले बुधबार उमेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उमेदवारी दर्ता गराएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ ।

गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड(१९ का कारण स्थगित भएको थियो । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उमेदावार प्रस्ताव गरेको थियो । पछि गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उमेदवारी घोषणा गरेका थिए ।

महासंघको चुनावका लागि उमेदवारहरुले आजदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्न सक्नेछन् । मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

उमेदवारी दर्तापछि ढकालले कोभिड– १९ र अन्य विभिन्‍न कारणबाट उत्पन्‍न व्यावसायिक समस्या समाधान र मुलुकको आर्थिक समृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उमेदवारी दिएको बताए । अहिलेको जटिल परिस्थितिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको भन्दै उनले आफ्नो समूह मात्र अहिलेको समय र परिस्थितिअनुकूल नेतृत्व हुनसक्ने दाबी गरे ।

“देश कोभिड– १९ को महामारीको चपेटामा परेको छ । अर्थतन्त्रका सबैजसो अवयवहरु क्षतविक्षत भएका छन् । व्यवसाय र व्यवसायी दुवै संकटमा परेका छन् । यो अहिलेको जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमा समेत दीर्घकालीन रुपमा प्रभाव पर्छ । व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उमेदवारी दिएका छौं,” उनले भने ।

उनले मुलुकभर भएको व्यावसायिक सञ्जाल, सानादेखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायी मित्रहरुसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जितको मुख्य आधार भएको बताए । राज्य र व्यवसायीबीचको सम्बन्ध सुधार गर्दै मुलुकमा व्यावसायिक वातावरण बनाउन आफूहरुले भूमिका निर्वाह गर्ने उनले बताए ।

ढकालले आफ्नो समूहले महासंघलाई ठूला–साना सबै उद्योगी(व्यापारीको साझा चौतारीका रुपमा स्थापित गर्ने र सबैका समस्या र गुनासा सुनुवाइ हुने वातावरण बनाउने उल्लेख गरे । “महासंघलाई साना, मझौला र ठूला सबै व्यवसायीको साझा चौतारीका रुपमा स्थापित गर्न, खास गरेर जिल्ला नगरका साना व्यवसायीका समस्या समाधान गर्न, मुलुकमा लगानीमैत्री वातावरण बनाई वैदेशिक लगानी भित्र्याउन हाम्रो प्यानलले अहम् भूमिका निर्वाह गर्न सक्छ,” उनले भने, “यसका लागि सबै व्यवसाय र व्यवसायीको प्रतिनिधित्व हुने गरी हामीले प्यालन बनाएका छौं ।”

वस्तुगत संघतर्फका उपाध्यक्षका उमेदवार उमेशलाल श्रेष्ठले महासंघको नेतृत्वमा व्यावसायिक व्यक्ति तथा स्टेकहोल्डर आए मात्र त्यसले निजी क्षेत्रका व्यवसायीहरुको वास्तविक प्रतिनिधित्व हुने बताए । सरकार तथा अन्य सरोकारवाला निकायहरुमा व्यवसायीका समस्याहरु र व्यवसायका विषयवस्तुहरु उठान गर्न, व्यवसायी मैत्री कानुन, नीति, नियमका लागि पैरवी गर्न र सम्बन्धित निकायले पनि सुन्ने अवस्था बनाउन आफ्नो टिम मात्र सक्षम रहेको उनले बताए ।

जिल्ला नगर उपाध्यक्षका उमेदवार गुणनिधि तिवारीले साना तथा मझौला व्यवसाय नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै महासंघमा पनि साना तथा मझौला व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्न चन्द्र ढकालको समूहलाई व्यवसायीहरुले रोजेको बताए ।

एसोसिएटतर्फका उमेदवार रामचन्द्र संघईले आफू निर्वाचित भएपछि निजी व्यावसायिक प्रतिष्ठानहरुले भोगेका समस्या समाधानमा विशेष ध्यान दिने बताए । उनले आफ्नो कार्यकालमा उत्पादनमूलक उद्योगलाई बढवा दिने, आन्तरिक रोजगारी सिर्जना गर्ने र, रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधारमा काम गर्ने बताए ।

ढकाल समूहबाट उपाध्यक्षका सबै उमेदवारहरुले आजै उमेदवारी दिएका छन् । जिल्ला नगरतर्फबाट उपाध्यक्षका उमेदवार तिवारीले भने भर्चुअल माध्यमबाट उमेदवारी दर्ता गरेका हुन् । आफ्नो समूहबाट कार्यसमिति सदस्यका उमेदवारहरुले उमेदवारी दर्ता गर्ने क्रम जारी रहेको ढकाल समूहले बताएको छ ।