अब म घरमै एकान्त भोग्न थाल्दछु । देश–दुनियाँ पनि जान्नु प¥यो नि त ? टीभी खोलें । ब्रेकिङ न्युज सुनेपछि बन्द गरें । प्रायः मन्त्रीहरू जुन विभागमा गयो, त्यसैमा वा अन्यमा पनि नयाँनयाँ कुरा बताइरहन्छन् । कति अगाध ज्ञान छ यिनको ? बाध्यताले ज्ञानी पनि बनाउँदा ेरहेछ । माने यिनीहरू जति कमायो त्यति त्यागमूर्ति हुन्छन् । देशका लागि त्याग गर्न सिकाउँछन् । यो यस्तै रहेछ । यसबारे सोच्न आफूलाई निषेध गरें । धूमपान निषेध । किनभने यसको अन्त्य छैन । देशमा कति कुरा वृद्धिमा छन् । हत्या, बलात्कार त मामुली भइहाले । घुस खाउ नखाउ, धनी हौं भने समृद्ध र सुखी हौं के केको नाउँ लिनु ? अनिकालमा ज्यान गुमाउनु लगभग दैनिक कार्यक्रम भइसक्यो । महामारीको खबरले आतंकित तुल्याउँछ । केही भएन भने, अज्ञात रोगको पनि महामारी हुन्छ । एकथरी महामारीले होइन, उमेर पुगेकाले मृत्यु भएको सावित गर्न लागिपरेका हुन्छन् । मानिस आशावादी बनोस् भन्ने पवित्र उद्देश्य होला हुन् त । तर भइदिँदैन र पो मा¥यो । त्यसो त देश निरन्तर समृद्धिका पाइला चाल्दै सुखी बन्दैछ भन्ने सधैं थाहा पाइरहिन्छ । जीएसटीमा आशातीत वृद्धि, औसत उमेर, मुद्रा सञ्चिती, प्रतिव्यक्ति आयमा वृद्धि नै छ, योभन्दा के हुन्छ उन्नति भनेको, प्रत्यक्षम कि प्रमाणम् । विश्वमै यसैलाई उन्नति र विकास भन्ने गरिन्छ भने हामीकहाँ मात्र अपवाद हुन सक्दैन । कतै अलिकति बाली कम फल्यो, कही केहीजना आधा वा चौथाइ पेट खाएर बसेका छन् भने तिनलाई कडा कारबाही गरेर तत्काल ठीक पारिनेछ ।
यस्तो फरमान एक दिन आयो भने पनि कि आश्चर्यम् ? उन्नति, विकास, समृद्धिलाई होइन भन्नु त, नेटीभीबाट आयो भन्दैमा ? जहाँबाट आए पनि प्राप्त सत्यलाई स्वीकार गर्ने बानी बसाल्न सक्नु पर्दछ, प्यारा देशवासीहरूले । आजको सभ्यताको यही माग हो । हामी अब ढुंगे युगमा कदापि जान सक्दैनौं ।
यी सबभन्दा बरु एकान्त खोजेर एकान्त क्रिया गर्न रुचाउनु बेस । कुनै पनि प्रेमिकाको विम्ब बनाउ वा कुनै पनि हिरोइनको । यसमा पनि कहिलेकाहीँ वाक्क लाग्यो भने केही कमाइधमाइको जोहोमा कल्पना खर्च गर्छु यसको पनि अन्त्य छैन । समय राम्रै काटिन्छ । बेरोजगारले धनी हुने कल्पना उमार्ने हो भने जति धनी भए पनि भयो । ‘फोब्र्स’को कुनै एक नम्बरमा पर्न आउनेगरी समेत दुनियाँकै, अझ मिल्छ भने समग्र ब्रम्हाण्डकै एक नम्बर सम्पन्न, कसको पिता, पितामहले सोध्न सक्छ हेरू त ? त्यही गर्न थालें । प्रायः त्यसो गर्दागर्दै निदाइन्छ ।
रातको ठीक १ बजे कोही एउटा मानिस साइलेन्सर नभएको मोटरबाइकमा सडकबाट हिँड्छ । केटाकेटीमा भन्थे, यो भूतप्रेतादि विचरण गर्ने समय हुन्छ । भन्थे के, आज पनि त्यही समय तोकिन्छ तिनका लागि । स्पिरिट समय । जड्याहाको स्पिरिट समय होइन तर फेरि हो पनि भूतहरूले त टाइम टेबुल परिवर्तन गरेकै पनि होलान् । तर यो भूत होइन । भूत चढ्दैन । त्यो पनि साइलेन्सर नभएको । यो फजुलको तरंग हो । तर म सोच्दछु, पक्कै त्यो कुनै जड्याहा नै हो । आज जाड सेवन गरिन, त्यसको पनि असर हुन सक्छ, जड्याहा सोच्नमा । तर त्यो एकदम ठीक समयमा आउँछ । १ बजे । एकछिन सोच्छु, यस्तो कसरी भयो होला ? जड्याहा सधैं एकयुरेट टाइममा देखिनु अनि सुनिनु अचम्मै हो । पंक्चुअल जड्याहा देखेकै छैन, जड्याहा हो भने । त्यसैले जड्याहा होइन भने त्यति राति को आउँछ त ? त्यसकारण जड्याहा नै हो ? मापसेमा पर्दो रहेनछ ? यो पनि एक आश्चर्यमिश्रित प्रश्न छ । एकदिन कसैले बतायो, पछिल्तिर एउटा प्रहरी बस्छ प्रायः । एकै ठाउँमा घर छ, त्यसकारण सजिलो भयो । आउने जाने पनि, खुवाउने प्याउने पनि । प्रहरी नै लागेपछि के लाग्यो त ?
एकदिन एउटा ज्येष्ठ नागरिकले सोधेछ, “यसरी यतातिर किन लाग्छौं भाइ ?”
– “लागेपछि के गर्नु त ?”
ज्येष्ठ नागरिक हाँस्न थाल्यो ।
मैले त्यसलाई आजसम्म देखेको छैन । देख्न सजिलो पनि छैन । त्यो सडक मेरो कोठा नजिक त छ, त्यति, तर त्यो हेर्न अर्काको कोठाको बार्दलीमा जानुपर्छ । उत्सुकता त किन हुन्थ्यो त फेरि ?
म त्यसलाई पर्खन्छु । त्यो गुज्रिन्छ अनि मात्र सुत्छु ।
एउटा प्रश्न :
सुत्नुअघि एउटा अनौठो प्रश्न आउँछ । त्यो किन त्यही समयमा आउँछ ? अघि वा पछि किन आउँदैन ?
कुनै एकदिन त त्यस्तो होला ?
अब म भ्रमित भएँ । म त्यो आओस् अनि सुतुँला भनेर कुरेको छुँ कि त्यो कहिल्यै त लेट होला भनेर कुरेको हुँ ? जड्याहा भनुँ न, ठीक समयमा आयो–गयो । म यसपटक मेरै प्रश्नका साथ सुत्ने तरखर गर्न थालें ।
(लेखकको हालै प्रकाशित नवीनतम उपन्यास ‘चकमन्नमा एकान्त’को एक अंश ।)
प्रतिक्रिया