देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाबुराम बहुलाएका होइनन् भने आरोप प्रमाणित गरेर देखाऊ !

देशान्तर

माथवरसिंह बस्नेत

पञ्चायतकालमा सरकारले कसैलाई पनि कुनै पनि आरोपमा मुद्दा चलाउँथ्यो, जसमाथि मुद्दा चल्थ्यो, उसैले आफू अपराधी नभएको प्रमाणित गर्नुपथ्र्यो । सरकारले एक पटक आरोप लगाइसकेपछि त्यसको पुष्टि गरिरहन आवश्यक पर्दैनथ्यो, प्रहरीको प्रारम्भिक प्रतिवेदन नै मूल प्रमाण मानिन्थ्यो । खास गरेर राजकाजसम्बन्धी फौजदारी मुद्दामा प्रहरीको प्रतिवेदन नै सबैभन्दा ठूलो प्रमाण हुन पुग्थ्यो । सरकारी वकिलको काम नै त्यसको पुष्टि गर्नु मात्र हुन्थ्यो । बाँकी सबै आरोपको खण्डन गर्ने र त्यसका निम्ति चाहिने प्रमाण जुटाउने भार आरोपीका तर्फबाट बहस तथा पैरवी गर्ने वकिलको हुन्थ्यो । यथार्थमा स्वतन्त्र न्यायालय भएको देशमा त्यो जिम्मेदारी आरोप लगाउने पक्षले निभाउनुपर्ने थियो । तर पञ्चायत प्रजातन्त्रमा न्यायिक स्वतन्त्रता सरकारी पक्षलाई मात्र उपलब्ध थियो । अर्को पक्षलाई थिएन ।

पञ्चायत, निर्दलीय व्यवस्था थियो । त्यसैले त्यस्तो न्यायिक व्यवस्था थियो । बाबुराम भट्टराई एकदलीय व्यवस्था ल्याउन प्रजातान्त्रिक व्यवस्थाका विरुद्ध लडेका व्यक्ति हुन् । त्यसैले उनले पनि पञ्चायतकै मान्यता सकारेर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू– पुष्पकमल दाहाल र शेरबहादुर देउवामाथि बूढीगण्डकी जलविद्युत् परियोजना स्वीकृत गर्दा ९ अर्ब रुपैयाँ कमिसन बाँडचुँड गरेर खाएको गम्भीर आरोप लगाएका छन् । त्यो आरोप किन पनि गम्भीर छ भने जुन बेला चिनियाँ कम्पनीसँग त्यो सम्झौता भएको थियो, त्यस बेला बाबुराम भट्टराई प्रधानमन्त्री थिए । उनले आफूसित त्यसको प्रमाण भएको दाबी पनि गरेका छन् । स्वाभाविक हो, देशको कार्यकारी प्रमुखको त्यत्ति ठूलो र महत्वपूर्ण निर्णयका दस्तावेजमाथि पहुँच हुने नै भयो । त्यसमाथि आफ्ना प्रतियोगी सबैमाथि भ्रष्टाचारको आरोप लगाउने कुत्सित नियत राख्ने व्यक्तिले प्रमाण जुटाउनु नितान्त स्वाभाविक हो । त्यसमा आश्चर्य मान्ने सवालै उठ्दैन । सवाल त यो त कि अहिलेसम्म उनले त्यो प्रमाण सार्वजनिक गरेर उनीहरूलाई झ्यालखान हाल्ने काम किन गरेनन् ? कसले उनलाई रोकेको थियो ?

त्यसको कारण धेरै हुन सक्छन्, जसमध्ये पहिलो चाहिँ सत्ता बाहिर बसेका तीन नेताले ९ अर्ब कुम्ल्याउन सके भने सत्तासीन प्रधानमन्त्रीले कति अर्ब भाग पाए होलान् भन्ने प्रश्न आफैंतिर सोझिने भएकाले उनले यसअघि मुख खोल्न नसकेका हुन् भन्ने निष्कर्षको चित्तबुझ्दो जवाफ उनीसँग नभएकाले हो । त्यत्ति ठूलो परियोजनाको निर्णय र सम्झौतामा चिनियाँ ठेकेदारले सत्ता बाहिरका नेताहरूको दबाब र प्रभावको त्यत्ति ठूलो मूल्य तिर्न सक्छन् भने जो प्रधानमन्त्रीको कुर्सीमा विराजमान छ र जसले मन्त्री र सचिवको कठालो समातेर निर्णय गराउन सक्छ त्यस्तो व्यक्तिलाई भुँडे भागसहित टक्र्याउन चुक्ने त प्रश्नै उठ्न सक्तैन । प्रष्ट छ, त्यो प्रश्नको समुचित जवाफ तयार नपारी बाबुरामले अरूलाई जाक्न जुन खाडल खने, अहिले उनी आफैं त्यसमा जाकिन लागेका छन् । उनलाई उनैको कामले जहाँ खडा गरिदिएको छ, त्यहाँबाट उम्किन सक्ने ठाउँ फेला नपरेको कारण पनि त्यही हो ।

कांग्रेस र कम्युनिस्ट दुवै पार्टीले उनका आरोपलाई आधारहीन तथा कपोकल्पित भनेर ठाडै खारेज मात्र गरेका छैनन्, प्रमाण छ भने सार्वजनिक गर्न चुनौती पनि दिएका छन् । प्रधानमन्त्री ओलीले कडा प्रतिवाद गर्दै कतिसम्म भनेका छन् भने भट्टराईको हावा खुस्केको अथवा बहुलाएको द्योतक हो, त्यो अभिव्यक्ति । त्यो परियोजना कसले बनाउने, कति रकममा बनाउने, कहिले बनाउन थाल्ने ती कुनै कुराको कुनै निर्णय नभएको परियोजनाका लागि कसले पैसा दिन्छ र कसले लिन्छ ? त्यस्तो हावादारी कुरा स्वच्छ मनस्थिति भएको मान्छेले गर्ने त के कुरा, सोच्न पनि सक्तैन । तर हावा खुस्केका मान्छेले कुन बेला के कुरा गर्छ, त्यसको ठेगान उसैलाई हुँदैन, अनि बाबुराम विचराले होस् थामेर कुरा कसरी गर्न सक्थे ?

आरोप गम्भीर छ, विषय संगीन छ । आफ्नो युगका तीन प्रमुख नेताको चरित्रमाथि हमला भएको छ, आफ्नै कामरेडहरूबाट प्रत्याक्रमण भयो भने बाबुरामको ज्यान पनि जान सक्छ । त्यो असम्भव किन छैन भने बाबुरामले माओवादीका नेता हुँदा कार्यकर्तालाई सिकाएकै मार्न र मर्न हो । जोसँग जे छ, उसले त्यही हतियार प्रयोग गर्ने हो । यो पक्ष बेग्लै हो कि अब पार्टीका नेताहरूको प्रतिरक्षामा कार्यकर्ताले मर्न र मार्न तयार हुने संस्कार र संस्कृति नास भइसक्यो । अहिले त हाताहाती लिने र दिने चलन चलिसकेको छ, त्यो पनि डनको प्रयोग गरेर । नेताहरूका चरित्र र संस्कारले आफ्नै कार्यकर्ताबाट पनि बचेर हिँड्नुपर्ने स्थिति उत्पन्न भइसकेको छ ।

बाबुराम भट्टराईको क्रेडेन्सियल भनेको चीनका माओका नाममा राजनीति गर्ने अनि त्यही पार्टीलाई भारतका सेवामा समर्पित गर्न सफल भूमिका निभाउने व्यक्तिका रूपमा स्थापित छ । उनलाई माओवादीभित्रको प्रचण्ड कारबाहीबाट कसले कति पटक ज्यान जोगाइदिएको थियो र प्रधानमन्त्री पद पनि कसरी दिलाइदिएको थियो, ती सबै निकट अतीतका घटना भएकाले धेरैलाई कण्ठ छ, दोहो¥याइरहन आवश्यक छैन । उनी माओवादीबाट उछिट्टिए पनि सबैतिरबाट फालिएका छैनन्, अड्को पड्कोमा अझै उनको उपयोग हुन सक्ने सम्भावनाले कम्युनिस्ट पार्टीमा मात्र होइन, कांग्रेसमा पनि परोक्ष प्रभाव कायम राख्न उनी सफल छन् । त्यही कारण उनी त्यस्ता आधारहीन आरोपबाट पनि बच्न सफल होलान् । तर उनको जे जति जनतामा बचेखुचेको भ्रम थियो, त्यो र राजनीतिक साखका लागि चाहिने न्यूनतम विश्वसनीयता पनि ध्वस्त हुन यसपालि अपरिहार्य छ, यदि उनले आफ्नो आरोप सावित गर्ने प्रमाण, जनताको अदालतमा पेस गरेनन् भने ।

नेपालीमा एउटा उखान छ, एकातिर काटे सिङ्माङ, दुईतिर काटे पुङ्माङ । अहिलेसम्म सिङ्माङको भ्रम छर्न सफल भए पनि अब पुङ्माङ हुनबाट बच्न उनले आफैंले लगाएको आरोपको प्रमाण सार्वजनिक गर्नै पर्छ, होइन भने उनलाई पुङ्माङ हुनबाट कसैले बचाउन सक्ने छैनन्– उनका इष्टदेवताले पनि सक्ने छैनन् । त्यो तथ्य अब बच्चाले पनि बुझ्ने भइसकेको छ ।