March 7, 2021, Sunday
२०७७ फाल्गुन २३
ताजा अपडेट

‘बुद्धिको पाइला’ कवितामा बुद्धिविलास

  • 96
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    96
    Shares

ज्ञाननिष्ठ ज्ञवाली नेपाली साहित्य र प्राध्यापनका क्षेत्रमा नाम चलेका एक प्रतिभाशाली विद्वत् व्यक्ति हुन् । डेढ दर्जनको संख्यामा कृति प्रकाशित गरिसकेका उनले हालसालै ‘बुद्धिको पाइला’ नामक कवितासंग्रह लिएर कविवरका रूपमा आफ्नो नाम दर्ता गराएका छन् । करिब साढे दुई दर्जन जति कृतिहरू सम्पादन गरिसको उनले दर्जनौं कृतिहरूमा भूमिका लेखेर कृतिको मूल्य निरूपण गर्ने कामसमेत गरेका छन् । उनको यस कृतिमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले अत्यन्तै छोटो र पुस्तकको सार कुरा आउने हेतुले मन्तव्य राखेका छन् । जम्मा ८० पृष्ठमा फैलावट भएको यस संग्रहमा २२ वटा कविताहरू विभिन्न राष्ट्रियस्तरमा नाम चलेका पत्रपत्रिकामा छापिई संकलित हुने मौका पाएका छन् । पूर्वीय शास्त्रीय छन्दको गहिरो ज्ञान भएका कवि ज्ञवालीले छन्दात्मक कविता पस्किएर ह्रास भइरहेको छन्द कविता लेखनलाई मूर्तरूप दिने र काव्य शिल्पलाई उजिल्याउने काम गरेका छन् । खण्डकाव्यात्मक आकारको प्रस्तुत कृतिमा आबद्ध रहेका अधिकांश कविताले राष्ट्रप्रेमको भावलाई आत्मसात गरेका छन् ।

ज्ञवाली बौद्धिकता र अनुभवले खारिएका उच्च कोटिका कलमजीवी, स्वाभिमानी, निर्भीक र कर्मशील योद्धा हुन् । उनका कविता राष्ट्रियता, देशप्रेम, जातीय एकता, सामाजिक सद्भाव, विश्वबन्धुत्वको भावना, राजनीतिक खिचातानी, प्रशासनिक ढिलासुस्तीका विरुद्ध सतिसाल भएर उभिएका छन् । विकृति विसंगति, व्यभिचार, दुराचारका सामु दावानल बनेर उभिएका छन् । आन्तरिक कलह अनि एकतामा खलल पुगेकाले शत्रु पक्ष हाबी भई राष्ट्रियतावादी कमजोर बन्दै गएको दुःखेसो ज्ञवालीका कवितामा गर्दछन् ।

Advertisement

कवि ज्ञवालीले प्राकृतिक नेपाली सौन्दर्य, ऋतुराज वसन्तले धर्तीको कौमार्यभित्र लठ्ठिएका प्रेमिल भावनालाई वसन्तको सुसेलीसँगै मानवीय जीवन उन्मक्त र स्वच्छन्द भई सामान्य हावाले समेत काउकुली लगाएको भावलाई बढो मार्मिक र जीवन्त रूपमा प्रस्तुत गरेका गर्दछन् ।

“वसन्तको आगमन अब हुन्न क्यार
तिमीलाई दिएँ मैले आफ्नै नौलो प्यार ।” (पृ.: ३७)

बौद्धिकताको कसीमा घोटेर हेर्नुपर्ने कृतिमा कहीँ कतै प्रेमाङ्कुर भाव उदीप्त हुनु मानवीय सहृदयता पनि हो जसले मायावी भाव प्रदीप्त पार्दछ । नत्र सिंगो कवितासंग्रहमा बुद्धि विलासले डेरा जमाउन सफल भएको देखिन्छ । हुन त कवि खोज अनुसन्धानका साथै प्राध्यापनका क्षेत्रमा सिद्धहस्त र नाम चलेका समीक्षक र सर्जक पनि हुन् । त्यसको आभाष हुनु उनीप्रति न्याय नै हुन्छ ।
कविले अहिलेको समयमा आएर कोरेका कविता नभई ती त पहिलैदेखि विभिन्न पत्रपत्रिमा छापिएर छरिएर रहेका र मौका पाउनासाथ संकलित हुने अवसर पाएको हो । त्यसैले कहीँ कतै प्रेमभावका कविता प्रविष्टि हुनुले जवानीको राग मात्रै पोख्ने मौका पाएका हुन्नन्, त्यसमा समयको छिटा पनि लतपतिएर आएका हुन्छन् भन्ने कुरा बुझ्नुपर्छ । यसकारण प्रकृति र मानवबीच सादृश्यता देखाउन खोज्नु ज्ञवालीको वैशिष्ट्य नै हो ।

कवि हरेक कविताका पंक्तिपुञ्जमा राष्ट्रियताको भाव मुखरित गर्न पुग्छन् । उनी साहस र धैर्यका साथ प्रत्येक कवितामा देशसँग जोडेर आफूमा भएको देशभक्तिको गाथा गाउँदै यो धर्ती ऋषिमुनिहरूको तपोभूमि हो । जन्मभूमिको गाथा गाएर कहिल्यै नथाक्ने कवि आफू दूरदेशमा भए पनि बाल्यकाल र शैशावस्था मनभरि टाँस्दै सपनीमा त्यही भूस्वर्गमा डुबुल्की मारिरहन पाउने कल्पनानुभूति गर्दछन् । आफू र बुद्धको जन्मस्थल एकै क्षेत्रमा भएको खुसी व्यक्त गर्दै कवि सुखानुभूतिको रागमा चुर्लुम्म डुब्न पुग्छन् ।

कालीको तटमा उचा शिखरमा गुल्मी रमेको छ नि
धर्ती व्योम सफा र निर्मल हुँदा लाली जमेको अनि
आनन्दी वन, शैल, भृङ्ग, चिडिया पार्थे मनै चञ्चल
हो जन्मस्थल बुद्ध र कविको त्यो लुम्बिनी अञ्चल । (पृ.:२७)

महान् ऋषि मनहरूको वासस्थान रहेको यस धराधामलाई मणि हराएको प्राणीजस्तो बनाउनु माल पाएर चाल नपाउने कथित समाजसेवाको नाममा राजनीति गर्ने लाजनीतिज्ञहरूप्रति व्यंग्य गर्न कवि चुकेका छैनन् । छन्द र अन्यानुप्रासको नमुना नै मान्न सकिने कविताहरू सरल, सहज र सुबोध्य भइकन पनि लालित्यपूर्ण र श्रुतिरम्य पनि छन् । पूर्वीय ग्रन्थहरूको गहिरो अध्ययन गरेका कवि कवितामा त्यसको प्रभाव प्रछन्न रूपमा अभिव्यक्त गर्दछन् । सुकोमल शैलीमा प्रस्तुत गरिएका कवितापुञ्जमा विभिन्न अलंकार र बिम्बको कुशल समायोजन देख्न सकिन्छ ।


  • 96
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    96
    Shares