स्थानीय, प्रान्तीय तथा संघीय सदनहरूको चुनावहरू प्रसारित भइसकेपछि तर खासगरी विगत आठ महिनादेखि सर्वसाधारणले प्रश्न गर्न थालेका छन्– नेपाली कांग्रेस (नेका) के गर्दैछ ? आक्कलझुक्कल नेकाद्वारा जारी गर्ने विज्ञप्ति, पार्टी सभापतिको वक्तब्य, इतर पक्षका वरिष्ठ नेताका धारणाहरू तथा पार्टी प्रवक्ताको तर्कसंगत सशक्त वक्तव्यहरू सञ्चारमाध्यममा प्रस्तुत हुने कार्यहरू पर्याप्त भएका हुँदा हुन् त यो प्रश्न सुनिने नै थिएन । देश कोभिड महामारीको भुँमरीमा दिनप्रतिदिन गाजिँदैछ । नेका भने सत्तासीन दल सरह नै जनसाधारणसँग पटक्कै सरोकार नराख्ने आन्तरिक दलीय किचलो तथा गुटबन्दीबीचको युद्धमा लुटपुटिँदैछ । जनसरोकारका विषयहरूलाई प्राथमिकतामा नराखेर आन्तरिक गुटगत संघर्षमा रुमलिँदा नेकाको छवि हिलाम्य मात्र होइन उसको उपस्थितिको अनुभूति आम नागरिकहरूलाई हुन छोडी सकेको छ । सर्वसाधारणका निमित्त नेका प्रतिपक्ष दल हो अथवा सरकारको मतियार छुट्ट्याउन कठिन हुँदैछ । यो परिस्थिति आउनका अनेक कारणहरू छन् तर प्रमुख चाहिँ दलमा हुनुपर्ने आन्तरिक छलफल, मन्थन तथा संवादको अभाव भन्ने मेरो ठम्याइ छ । यो आलेख यसै विषयमा केन्द्रित गरिएको छ ।
हिजोका दिन
कांग्रेस दलभित्र वैचारिक छलफल कसरी हुने गर्दथ्यो ? अवसर प्राप्त हुनासाथ कांग्रेसका कुनै समयका प्रखर बौद्धिक नेताको रूपमा परिचित ऋषिकेश शाह, डा.तुलसी गिरी तथा विश्वबन्धु थापा आदिका सामुन्ने यो प्रश्न राखेको थिएँ । तिनैको उत्तरअनुसार बीपी कोइरालाको अध्ययनशील तथा चिन्तन गर्ने अभूतपूर्व गुणहरू थिए । उहाँ आफूलाई मन परेका अर्थात् राष्ट्रका तथा दलका निमित्त सान्दर्भिक र हितकारक विचारहरूलाई आत्मसात गर्नुहुन्थ्यो । नेपाली सान्दर्भिकता अनुरूप तिनलाई परिमार्जित गरेपछि सुरुमा उहाँ उक्त धारणा सुवर्णशमशेरसँग ‘सेयर’ गर्नुहुन्थ्यो । सुवर्णले बीपीको मनशाय बुझेर अर्थात् यदि बीपीले आफ्नो धारणा बनाइसक्नु भएको छ भन्ने लाग्यो भने सहमति जनाइहाल्ने उहाँको स्वभाव थियो । सुवर्णले सहमति जनाएपछि बीपीले परामर्श गर्ने दोस्रो व्यक्ति सूर्यप्रसाद हुनुहुन्थ्यो । सूर्यप्रसाद बीपीका प्रस्तुतिको सान्दर्भिकता, व्यावहारिकता तथा मुलुक र राष्ट्रलाई पर्न सक्ने निकट भविष्य तथा दूरगामी असरहरूको बारेमा विश्लेषण गरेर छलफल गर्ने गर्थे । सूर्यप्रसादलाई चित्त बुझाउन कठिन भएको अवस्थामा ‘सुवर्णजीले हुन्छ भनिसक्नुभएको छ’ भनेर सूर्यप्रसादको सहज अनुमोदन वा सहमति लिने विधि बीपीले अख्तियार गर्नुभएको थियो । अन्त्यमा गणेशमान सिंहका सामु बीपी आफ्नो प्रस्ताव व्याख्यानसहित प्रस्तुत गर्नुहुन्थ्यो । ‘तपाईंहरूको सहमतिमा मेरो पनि सहमति छ’बाट गणेशमानको अनुमोदन हुन्थ्यो । बीपीले दलका अन्य नेता तथा कार्यकर्ताहरूका सामुन्ने चार नेताहरूको सहमतिमा भएको निर्णयका रूपमा प्रस्तुत गर्नुहुन्थ्यो जसलाई कसैले पनि प्रश्नसमेत गर्न नसक्ने ‘पार्टी निर्णय’ हुने परिपाटी थियो ।
आठ वर्षको जेल जीवनमा बीपीले विशेषगरी योगेन्द्रमान शेरचन तथा देवानसिंह राईलाई आफूले पढेका पुस्तकहरू अध्ययन गर्न दिने तथा उहाँहरूसँग त्यस्ता पुस्तकहरूका विषयमा छलफल गर्ने गरेको उल्लेख गरिएको छ । निर्वासनमा रहँदा बीपीले केही उम्दा युवा नेताहरू विशेषगरी शैलजा आचार्य, प्रदीप गिरी तथा चक्रप्रसाद बाँस्तोलासँग सैद्धान्तिक छलफल गर्ने गरेको बुझिन्छ । गफिने क्रममा चक्रजी बरोबर बीपीले आफूसँग परामर्श गर्ने गरेको वर्णन गर्नुहुन्थ्यो । प्रदीप गिरी तथा बीपीबीचका सम्बन्धहरूको विषयमा कौशलराज रेग्मीले खुब वर्णन गर्नुभएको छ । प्रदीप तीक्ष्ण स्वभाव भएका अध्ययनशील युवा भएकोले गर्दा बीपीले तिनलाई सामीप्यमा राख्ने गरेका थिए । प्रदीप गिरीद्वारा प्रकाशित आलेख र अभिलेखहरूबाट पनि बीपीसँग उहाँको छलफलहरू हुने गरेको पुष्टि हुन्छ । त्यस्तो छलफलहरू कति सामूहिक हुने गथ्र्यो ? नीतिगत विषयहरूले छलफलमा स्थान पाउथ्यो ? विशेषगरी त्यस्ता छलफलहरूबाट निस्केको निष्कर्षहरूको आधारमा पार्टीगत निर्णयहरू हुने गथ्र्यो ? जस्ता प्रश्नहरूको उत्तर मैले हालसम्म भेटेको छैन । ‘राष्ट्रिय मेलमिलापको नीति’ अख्तियार गरेर स्वदेश फर्कनु भएपछि बीपीले जुझारु कार्यकर्ता, बौद्धिक समुदाय सदस्यहरू तथा विद्यार्थीहरूबीच छलफल गर्ने गरेको अभिलेख तथा स्मरणहरू थुप्रै भेटिन्छ । कतिले बीपीसामु आफ्ना सुझावहरू प्रस्तुत गरेको सगौरव उल्लेख पनि गर्ने गर्दछन् ।
बीपीसँगको भेटघाट तथा छलफल र परामर्शहरूलाई दलगत विमर्श, बहस तथा मन्थन भन्न मिल्दैन । अन्यथा पार्टीमा कुनै पनि विषयजस्तै राणाशासनका विरुद्ध होस् अथवा पञ्चायतका विरुद्ध भएका सशस्त्र आन्दोलनहरू गर्ने निर्णयहरू छलफलको आधारमा भएका प्रमाणहरू पाइँदैन । राजा महेन्द्रले गरेको ‘कु’को विरोधमा सुवर्णशमशेरको नेतृत्वमा भएको सशस्त्र आन्दोलन, स्थगन तथा स्वदेश फर्केर राजालाई प्रजातन्त्र सुदृढीकरणका निमित्त सहयोग गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूका बारेमा पार्टीभित्र धनिभुत छलफल भएको प्रमाण भेटिँदैन । त्यसैगरी बीपीले पनि निर्वासनमा घोषणा गरेको सशस्त्र आन्दोलनको आह्वान, स्थगन तथा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्दै स्वदेश फर्कने निर्णयहरू पनि पार्टीभित्र धनिभुत छलफलको परिणामभन्दा बीपीले गरेको निर्णयप्रतिको सहमति बुझिन्छ ।
आफ्नो अनुभब
स्कुले विद्यार्थीकालदेखि ‘प्रजातान्त्रिक’ विद्यार्थी हुँदै नेपाल विद्यार्थी संघको सक्रिय कार्यकर्ता हुँदासम्म भएका वा गरिएका निर्णयहरू पूर्व विचार विमर्शहरूको परिणाम भएको अनुभव छैन । स्कुले जीवनको उत्तरार्धमा मित्र मनोज श्रीवास्तवका साथमा त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष कमल चित्रकारको मसँग गल्लीमा रहेको घर जान थालेको हो । त्यस कालखण्डका विद्यार्थी नेताहरू भावेद्र खड्का, अर्जुननरसिंह केसी, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, विपिन कोइराला, टीका पोखरेल, वीरेन्द्रभक्त श्रेष्ठ, मछिन्द्र पाठक, आदिको उपस्थिति हुने गथ्र्यो, कमल दाइको कोठामा । उहाँको कोठामा नअट्ने संख्याको सहभागी हुने बैठकहरू कहिले रञ्जना सिनेमा हल नजिकको मारवाडी सेवा केन्द्र त कहिले नयाँसडक र किल्लागड आदि स्थानहरूका साहु महाजनहरूको बैठक कोठामा हुने गर्दथ्यो । त्यस्ता भेलाहरूमा कमल दाइका समकालीन नेताहरू दमननाथ ढुंगाना, शंकर घिमिरेलगायत वीरमणि कर्माचार्य आदिको उपस्थिति हुने गर्दथ्यो । उक्त भेलाहरूमा वक्ताहरूले कसरी प्रजातान्त्रमा विश्वास तथा आस्था राख्ने विद्यार्थीहरूलाई संगठित हुन प्रेरित गर्थे । प्रायजसो मुख्य विषय चाहिँ कम्युनिस्ट तथा पञ्चायत समर्थित विद्यार्थीहरूको चुनौतीहरूको सामना कसरी गर्ने ? सरकारी दमनबाट कसरी जोगिने आदि केन्द्रित हुने गर्दथ्यो । विचारविमर्श भएको याद छैन, निर्णयहरू सुनेको चाहिँ याद अझै हुने गर्दछ । त्यस्ता भेलाहरू कहिले तथा कहाँ गर्ने विषयमा अग्रजहरूले छलफल गर्दा हुन् । निर्णयहरू त बुँदागत कुनै नेताले पढेर सुनाउने हो अनि उपस्थित भएकाहरूले ताली पिटर अनुमोदन गर्ने नै हो ।
अर्ती उपदेश
कमल चित्रकार दाइसँग भेट हुँदा कांग्रेस समर्थक विद्यार्थीहरूको चारित्रिक गुण तथा विद्यार्थीहरूलाई संगठित कसरी गर्ने जस्ता विषयमा प्रशिक्षण नै दिने गर्दथ्यो । केटाकेटीदेखिको मिल्ने साथी दिनेश रिसालसँग नयाँ सडक घुम्न जाँदा कहिलेकाहीँ उसको पिता हरि रिसाल (हरि दाइँ) सँग भेट हुने गर्दथ्यो । जेलबाट रिहा भएर शिक्षण पेसामा लाग्नुभएको हरि दाइले नेपाली कांग्रेसको सिद्धान्त तथा इतिहासका विषयहरू वर्णन गर्नुहुन्थ्यो । उहाँकै सौजन्यबाट आचार्य नरेन्द्रदेव लिखित पुस्तक ‘समाजवाद’ अध्ययन गर्ने अवसर मिलेको हो । १५–१६ वर्षको उमेरमा मैले समाजवादका विषयमा पढेको यो दोस्रो पुस्तक थियो । त्यसभन्दा पहिले देवेन्द्रराज उपाध्यायद्वारा लिखित प्रजातान्त्रिक समाजवाद पुस्तक पढेको थिएँ । घर नजिक कुपण्ड़ोलमा सीके प्रसाईं (भारत दाइ) जेलबाट छुटेर आउनु भयो । उहाँलाई उपत्यका बाहिर जान निषेध गरिएको थियो । भारत दाइ त्यसबखतको चर्चित विद्वान व्यक्ति, बेलाबेलामा उहाँको घरमा दिउँसोतिर झल्किन थालेको थिएँ । उहाँले हामी युवाहरूले के गर्दा जीवन सफल हुन्छ जस्ता विषयहरूमा सल्लाह दिनु हुन्थ्यो । पाटन कलेजमै अध्यनरत हुँदा नेविसंघ अध्यक्ष शेरबहादुर देउवा तथा महामन्त्री रामशरण महतको साथ लागेर भारत दाइ कहाँ पुगेको सम्झना छ । त्यसबखत भारत दाइले ‘पार्टीले तपाईंहरू जस्तो कर्णधारहरूका विषयमा सोच बनाएकै छैन । विद्यार्थी जीवन समापन पछि तपाईंहरूलाई लगाउने कार्यका विषयमा नेताहरूले सोच्दैनन् । यो व्यवस्थाको विरोध गरेर मात्र पुग्दैन, भोलिका दिनमा हाम्रो काँधमा सत्ता सम्हाल्ने जिम्मेवारी आउन सक्दछ । त्यसबेला एक्लै लठुवाहरूले जस्तै गरेर राष्ट्रको व्यवस्थापन गर्यो भने हामी र पञ्चहरूबीच के फरक ? हाम्रो शासनकाल वर्तमानको भन्दा उच्च कोटीको प्रभावशाली हुनुपर्दछ । त्यसका निमित्त हाम्रा कार्यकर्ताहरू दक्ष र सक्षम हुनु नितान्त आवश्यक छ । मेरो सुझाव मान्नुहुन्छ भने शेरबहादुर, रामशरणजी तपाईंहरूले एमए अध्ययन सकाउनुभयो अब सो अध्ययन तथा अनुसन्धान कार्यहरूमा जुट्नुहोस् । हाम्रा निमित्त डा. भेखबहादुर थापा, यादवप्रसाद पन्त तथा बद्रीप्रसाद श्रेष्ठभन्दा योग्य अर्थशास्त्रीहरूको जरुरत छ ।
कुलशेखर शर्मा, प्रद्युन्नलाल राजभण्डारी तथा यदुनाथ खनालभन्दा योग्य प्रशासकहरूको आवश्यकता हुन्छ । विश्वविद्यालय सञ्चालनका निमित्त त्रैलोक्यनाथ उप्रेती वा सूर्यबहादुर शाक्यभन्दा सक्षम शिक्षाविद्को आवश्यकता हुन्छ । त्यस्ता आवश्यकता अनुरूपको क्षमता वृद्धितर्फ लाग्नुहोस् ‘कमल, हरि अथवा भारत दाइहरूले सल्लाह, अर्ती, उपदेशहरू दिएको झलझली सम्झने गर्दछु । तर त्यस कालखण्डमा विद्यार्थीहरूकै सरोकारका विषयहरूमा छलफल, बहस तथा मंथन भएको स्मरण छैन । राष्ट्रिय विषयहरूमा त्यसबखतका ख्यातिप्राप्त गैरकांग्रेस व्यक्तित्वहरू ऋषिकेश शाह, योगी नरहरिनाथ, पशुपतिशमशेर आदिलाई भाषण गर्न निमन्त्रणा गरेको तथा उनीहरूको भाषण सुन्दा ताली पिटेको पनि याद छ । तर, हामी नेविसंघ आबद्ध विद्यार्थीहरूबीच नै किन नहोस् राष्ट्रिय महत्वका विषयमा संवाद, बहस, छलफल वा मन्थन गरेको याद छैन ।
वर्तमान कालखण्ड
बीपी, सुवर्ण, सूर्यप्रसाद तथा गणेशमान सिंह बित्नु भएको जुग बितिसक्यो । वर्तमान कालखण्ड उहाँहरूले व्यहोरेको समयभन्दा अत्यन्त पृथक् छ । समस्या तथा चुनौतीहरू विगतका भन्दा जटिल तथा पेचिला छन् । उहाँहरूको समयमा शून्यस्तरमा रहेको जनचेतना अकासिएको छ । नागरिकहरूले प्रश्न गर्न थालेका छन्– जिम्मेवार क्षेत्रले लिने निर्णयहरूका विषयमा । आफ्ना अगाडि आइपरेका समस्याहरूको कारणको खोज गर्ने बानी सर्वसाधारणमा विकास हुँदैछ । आमनागरिकहरूको विश्वास, धारणा तथा प्राथमिकता आदि तीव्र गतिमा परिवर्तन हुँदैछन् । वर्तमान कालखण्डका चुनौतीहरूको सामना एकल दिमागबाट सम्भव छैन । त्यसबेला जस्तो बीपीलाई परामर्श गर्न खोज्दा नपाइने विषयगत बिज्ञहरूको समूह आजका दिनसम्म आइपुग्दा बृहत् भइसकेको छ । स्वदेश तथा विदेशमा नेका समर्थक बौद्धिक समुदायको बाक्लो उपस्स्थिति छ । छोटो समयको सूचनामै विभिन्न विषयका विशेषज्ञहरू नेकाले सञ्चालन गर्ने छलफल बहसहरूमा सहभागी हुन तयार छन् । जरुरत यदि केही छ भने त्यो हो विचारविमर्श बिना निर्णय गर्ने परिपाटीको, त्यागको ।
प्रतिक्रिया