देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमितलाई रेमडेसिभिर औषधि प्रभावकारी देखिएन : डब्लुएचओ

देशान्तर

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिले कोरोना संक्रमितका लागि प्रयोग हुदै आएको औषधि रेमडेसिभिर प्रभावकारी नदेखिएको बताएको छ ।

डब्लुएचओले अहिले कोरोना संक्रमितलाई प्रयोग भइरहेका रेमडेसिभिरसहित इबोला ड्रग, मलेरियाको औषधि हाइड्रोक्सीक्लोक्वीन, अटो इम्युन औषधि इन्टरफेरोन र एचआइभिको औषधि लोपिनाभिर र रिटोनाभिरको ट्रायल गरेको थियो ।

सो ट्रायलको विस्तृत रिपोर्ट नआएपनि प्रारम्भिक रिपोर्टमा डब्लुएचओले संक्रमितको मृत्यु रोक्न र अस्पतालको बसाई कम गर्न खासै प्रभावकारी नदेखिएको जनाएको छ ।

डब्लुएचओले चार औषधि विभिन्न ३० देशका ५ सय अस्पतालका ११ हजार २६६ संक्रमितहरुमा ट्रायल गरेको जनाएको छ । डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले हाइड्रोक्सीक्लोरोक्वीन र लोपिनाभिर र रिटोनाभिरको ट्रायल गत जुनमा नै प्रभावकारी नभएपछि रोकिएको बताएकी छन् ।

रेमडेसिभिर औषधिको निर्माता गिलीडले भने डब्लुएचओको ट्रायललाई खारेज गर्दै यो अध्ययनको रिभ्यु हुनुपर्ने बताएको छ । यस अघि गिलिडले गरेको अध्ययनमा रेमडेसिभिर औषधिले कोरोना संक्रमितलाई निको हुन् पूर्ण रुपमा प्रभावकारी नभएपनि अस्पताल बसाई कम्तिमा पाँच दिनले कमि आउने बताइएको थियो ।

हालै कोरोना संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत रेमडेसिभिर औषधि दिइएको बताइएको थियो ।