देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुनै पनि कर्मचारीलाई बलजफ्ती निष्कासन गरिएको छैन : नर्भिक अस्पताल

देशान्तर

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले कोभिडको समयमा कुनै पनि कर्मचारीलाई निष्कासन नगरेको तथा बिदामा नराखेको स्पष्ट पारेको छ।

अस्पतालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिडको समयमा कर्मचारीलाई बजफ्ती निष्कासन गरेको खबरमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो। अस्पतालको आन्तरिक कर्मचारी व्यवस्थापन विनियम अनुसार उमेरको हदबन्दी नाघेका र कार्य सम्पादनको आधारमा श्रम ऐन बमोजिम आवश्यक सुविधा दिई केही कर्मचारीलाई सेवा निवृति गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, नर्भिकले कोभिडको समयमा कुनै पनि कर्मचारीलाई बलजफ्ती निश्कासन गरेको छैन। ठूलो संख्यामा स्टाफ नर्सलाई विदामा राखिएको, सफाईकर्मीहरुलाई जबरजस्ती निश्कासन गरिएको भन्ने लगायतका व्यहोरामा कुनै सत्यता छैन।

कर्मचारीको तलब काटेको विषयमा पनि कुनै सत्यता नरहेको अस्पतालको भनाई छ। कोरोनाको महामारीको समयमा साप्ताहिक रुपमा ४८ घण्टाको सट्टा ३६ घण्टाको ड्युटी मात्र गराएर सोही अनुसारको तलब दिइएपनि भदौ महिनादेखि ४८ घण्टाको तलब नै दिइएको अस्पतालले जनाएको छ। कोभिडको समयमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको मनोबल गिर्ने गरी भ्रम नफैलाउन अस्पतालले आग्रह गरेको छ।

‘कोभिड १९ विरुद्धको लडाईमा अग्रणी भूमिका निर्वाह गरिरहेको नर्भिक टिमको मनोबल गिराउने योजनाअनुसार भइरहेका गतिविधिप्रति हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ । कहिले नर्भिक अस्पतालले कामदार तथा कर्मचारीलाई निकालेको, कहिले अतिरिक्त शुल्क लिएको, कहिले कर्मचारीलाई सरकारी स्केलअनुसार तलब नदिएको भन्नेजस्ता भ्रमपूण प्रचारप्रसार गर्ने त कहिले नर्भिककै चिकित्सक वा कर्मचारीलाई केन्द्रीत गरी मनोबल गिराउने उद्देश्यले भइरहेका प्रचारप्रसार तथ्यहीन, कपोकल्पित र गलत रहेको व्यहोरा अनुरोध गर्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिडको विषम परिस्थितिमा पनि गर्दै आएको सेवालाई ढाकछोप हुने गरी, कोभिडविरुद्धको सामूहिक लडाईमा दिएको बलियो साथलाई समेत नजरअन्दाज गर्दै, हाम्रो उच्च व्यवस्थापनले गरेको योगदानलाई समेत बिर्सिएर, अस्पतालले यस्तो अवस्थामा पनि प्रवाह गर्दै आएको विश्वस्तरीय स्वास्थ्य सेवाको विषयमा बोल्न नसक्नेहरुले योजनाबद्ध ढंगले हामीमाथि प्रहार गरिरहेका छन् । त्यस्ता गिरोहहरुले विभिन्न सरकारी निकायलाई समेत प्रभावित बनाई हामीलाई विचलित बनाउने उद्देश्य राखी नियोजित आरोप लगाउने काम भइरहेको हाम्रो ठहर छ । नर्भिक यी सारा भ्रमपूर्ण प्रचारप्रसार र बद्नाम बनाउने प्रयासहरुको खण्डन गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘नर्भिकले कोभिडको समयमा कुनै पनि कर्मचारीलाई बलजफ्ती निश्कासन गरेको छैन । ठूलो संख्यामा स्टाफ नर्सलाई विदामा राखिएको, सफाईकर्मीहरुलाई जबरजस्ती निश्कासन गरिएको भन्ने लगायतका व्यहोरामा कुनै सत्यता छैन । साथै, यस हस्पिटलको आन्तरिक कर्मचारी व्यवस्थापन विनियम बमोजिम उमेरको हदबन्दी नाघेका र कार्य सम्पादनको आधारमा श्रम ऐन बमोजिम आवश्यक सुविधा दिई केही कर्मचारीहरुलाई सेवानिवृत गरिएको विषयलाई समेत बढाईचढाई गरी भ्रम छर्ने काम भएको छ, यसको हामी खेद प्रकट गर्दछौ ।’

त्यस्तै नर्भिक हस्पिटलले यसअघि सम्पूर्ण कर्मचारीहरुको तलबसुविधा व्यक्तिगत खाता लक्ष्मी बैंकमा खोली जम्मा गरिँदै आएकोमा यसै आश्विन महिनादेखि लक्ष्मी बैंकको सट्टामा युनाइटेड फाइनान्स कम्पनीमा खाता खोली कर्मचारीहरुको तलब जम्मा गर्न थालेको पनि जनाएको छ ।

‘हस्पिटल व्यवस्थापन समितिको निर्णयअनुसार सुरु गर्न लागिएको विषयलाई समेत बढाईचढाई प्रचार गरिएकोमा हाम्रो आपत्ति छ । युनाइटेड फाइनान्स कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा खातावालालाई राम्रो सेवा सुविधाका अतिरिक्त आकर्षक बीमा सुविधा समेत प्रदान गर्ने भएकै कारण त्यही संस्थामा कर्मचारीहरुको तलब बचत खाता सञ्चालनको निर्णय भएको हो । यसमा कुनै पनि कर्मचारीको थप आर्थिक भार नपर्ने साथै यस योजना लागू गर्नुमा नर्भिक र यस हस्पिटलका अध्यक्ष श्री वसन्त कुमार चौधरीज्यूको कुनै पनि व्यक्तिगत स्वार्थ नरहेको व्यहोरा जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।