देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रक्तसमूह ओ भएकाहरूलाई कोरोना जोखिम कम हुन्छ :अध्ययन

देशान्तर

काठमाडौं । नयाँ अध्ययनले मानिसको शरीरको रक्तसमूहले कोभिड–१९ को जोखिममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने देखाएको छ ।

रक्तसमूह ओ भएका मानिसलाई कोरोना कम लाग्ने अनि ए र एबी समूहकालाई बढी जोखिम रहने अनुसन्धानको निष्कर्ष छ ।

बुधवार प्रकाशित दुई स्वतन्त्र अध्ययनहरूले ओ रक्तसमूह कोरोनाभाइरसका लागि सुरक्षा खास्टो जस्तो भएको बताएका छन् ।

यस रक्तसमूहका मानिसलाई कोभिड लाग्ने सम्भावना न्यून रहेको र बिरामी पर्दा पनि जटिलता कमै रहने देखिएको छ । बी समूहका मानिसमा पनि जोखिम कम देखिएको छ ।

तर ए र एबी समूहका मानिस चाहिँ त्यति भाग्यमानी नहुने वैज्ञानिकहरूले पाएका छन् ।

रक्तसमूहहरूलाई एन्टीजेन र एन्टीबडी प्रोटीनको संख्याका आधारमा परिभाषित गरिन्छ । दुईमध्ये एक अध्ययन ओडिनिज विश्वविद्यालय अस्पताल तथा दक्षिणी डेनमार्क विश्वविद्यालयका अनुसन्धाता टोलीहरूले गरेका हुन् ।

उनीहरूले २२ लाख मानिसमध्ये कोभिड–१९ पोजिटिभ पाइएका ४ लाख ७३ हजार मानिसहरूको आँकडा अध्ययन गरेका थिए ।

आँकडा केलाउँदै जाँदा उनीहरूले ओ रक्तसमूहका मानिसमा कोभिड पोजिटिभ कम देखिएको भने अन्य रक्तसमूहका मानिस पोजिटिभ बढी पाइएको तथ्य फेला पारे ।

दोस्रो अध्ययन क्यानडाको भ्यानकूभरमा गरिएको हो र कोभिड–१९ बाट गम्भीर बिरामी भएका ९५ जनालाई अध्ययनमा समावेश गरिएको हो । रक्तसमूह ए र एबी भएका मानिसलाई भेन्टिलेटरमा राख्नुपरेको र भाइरसले उनीहरूको फोक्सोमा बढी क्षति पुर्‍याएको पाइयो । अनि मिर्गौला बिग्रिएर उनीहरूले थप डायलसिस गर्नुपरेको पनि भेटियो ।

ए र एबी रक्तसमूह भएका मानिसहरू सघन उपचार कक्षमा अन्य रक्तसमूहका मानिसभन्दा बढी समय बस्नुपरेको पनि वैज्ञानिकहरूले पत्ता लगाए ।