केही दिनयता देशका धेरैजसो अस्पतालमा कोरोनाका गम्भीर बिरामीको उपचारका लागि आईसीयू बेड पाउन हम्मे परिरहेको छ । आईसीयू अभावका कारण एकातर्फ संक्रमितको ज्यान जाने जोखिम छ भने अर्कोतर्फ अस्पतालको नियमित आईसीयू सेवासमेत प्रभावित हुन थालेको छ ।
जटिल लक्षण देखिन सुरु भएसँगै मृत्यु हुनेको संख्यासमेत बढ्दै गएको छ । पहुँचवालाले आईसीयू र भेन्टिलेटर पाउने, सर्वसाधारण बिरामीको भने आईसीयू खोज्दाखोग्दै ज्यान जाने जोखिम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशभर २ सय ७९ जना आईसीयूमा र ६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरको तथ्यांकअनुसार उपत्यकामा मात्रै १ सय ५४ जना आईसीयूमा र ५० जना भेन्टिलेटरमा छन् । तीमध्ये सरकारी अस्पतालमा ८८ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा छन् भने निजीमा ६६ जना आईसीयूमा र ३० जना भेन्टिलेटरमा उपचाररत छन् ।
उपत्यकामा कोरोना उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १ सय ९५ आईसीयू र ८८ भेन्टिलेटरको व्यवस्था गरिएको छ । तर अस्पतालहरूले बेड खाली नरहेको बताउने गरेको बिरामीको गुनासो छ । तथ्यांक केलाउँदा सोमबार साँझसम्म उपत्यकामा कोरोनाका लागि
छुट्याइएका ४१ आईसीयू र ३८ भेन्टिलेटर खाली छन् । आइतबार साँझ धादिङ अस्पतालले थप उपचारका लागि काठमाडौं रेफर गरेपछि एम्बुलेन्समा वैकल्पिक अक्सिजनको सहायतामा ७० वर्षीय वृद्ध उपत्यका प्रवेश गरे तर अस्पतालको बेडसम्म पुर्याउन आफन्तले धेरै दुःख गर्नुपर्यो । ती वृद्धलाई धादिङबाट हिँडाएदेखि नै अस्पतालमा बेड र आईसीयूको खोजी गरेका उनीहरूले अन्तिममा पाटन अस्पतालको इमर्जेन्सीमा पुर्याए । अस्पतालले रातभर इमर्जेन्सीमै राखेर उपचार गरे पनि बिहान आईसीयू आवश्यक पर्नसक्ने जानकारी दिएको थियो ।
‘बिहान डाक्टरहरूले पाटनमा आईसीयू खाली नभएकाले अन्त बुझ्न भन्नुभयो,’ परिवारका एक सदस्यले भने, ‘हामीले कताबाट के खोज्नु ? पछि कोभिड वार्डमा सारियो ।’
वृद्धको अवस्था अहिले पनि गम्भीर नै छ । चिकित्सकहरूका अनुसार उनलाई जतिबेला पनि आईसीयूमा सारेर उपचार सुरु गर्नॅपर्ने अवस्था आउन सक्छ । आईसीयूमा राख्नुपर्ने भए कहाँ खोज्ने भनेर तनाव भइरहेको ती सदस्यले बताए ।
व्यवस्थापनका उपाय
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार आईसीयू र भेन्टिलेटर बेड अभावको समस्या कम गर्ने उपाय रहेको बताए ।
उनका अनुसार सबै अक्सिजन चाहिने संक्रमितलाई
आईसीयू नै चाहिन्छ भन्ने हुन्न । कम अक्सिजन चाहिनेलाई अक्सिजन र मोनिटरसहितको बेड भए मात्र पनि धेरैले उपचार पाउन सक्छन् । किनकि दैनिक निगरानीमा ती बिरामीको अक्सिजन हेर्न मिल्छ । ‘एकदम सिकिस्तलाई मात्र आईसीयूमा रिफर गर्ने गर्यौं भने धेरै आईसीयूको अभाव हुँदैन,’ उनले भने, ‘अस्पतालमा भएका उपलब्ध स्रोतबाट यो समस्याको समाधान हुन सक्छ । हामीले यसरी नै उपचार गरिरहेका छौं ।’
वीर अस्पतालका १० बेड आईसियू र १० बेड भेन्टिलेटर सबै भरिएको निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया