देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केन्द्रीय सभापति पदमा मेरो दाबी हुनेछ

देशान्तर

कल्याण गुरुङ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

के मा व्यस्त हुनुहुन्छ ?

अहिले पार्टीकै काममा व्यस्त छु । त्यसकै काममा व्यस्त छु । १९ गतेको बैठकका लागि हामीले कोरोना टेस्ट गरेका थियौं । केहीको नतिजा पोजेटिभ आएपछि त्यतिबेला बैठक स्थगित भएको छ ।

तपार्ईंहरूले संस्थापन पक्षले गलत काम गरेको भन्दै २७ जना केन्द्रीय सदस्यले ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो यसमा केही छलफल भयो ?

हामीले पार्टी कार्यालयमा १६ बुँदे पत्र बुझाएका हौं । सभापतिलाई सम्बोधन गरेर पार्टी कार्यालयमा दर्ता भएको पत्रको विषयमा उहाँ पनि जानकार हुनुहुन्छ । हामीले उठाएका विषयमा सभापतिसहित केन्द्रीय तहका नेताहरू बसेर छलफल भने भइरहेको छ ।

समस्या समाधानका लागि सभापतिले पहल थाल्नुभयो त्यसो भए ?

हो, सभापति शेरबहादुर देउवाले पछिल्लो समय निरन्तर छलफलमा हुनुहुन्छ भन्ने कुरा हामीले पनि थाहा पाएका छौं । हामीले उठाएका समस्याको समाधानभन्दा पनि केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा कसरी सम्पन्न गराउने भन्ने विषयमा छलफल प्रारम्भ भएको छ ।

यस्तो अवस्थामा फागुनमै महाधिवेशन हुन्छ त ?

यदि हामीले माघ महिनाभित्र वडादेखि प्रदेश तहसम्मको अधिवेशन गराउन सक्यौं भने फागुनमा महाधिवेशन गर्न गाह्रो छैन । तर, माघ महिनाभित्र वडादेखि प्रदेश तहसम्मको अधिवेशन सम्पन्न गर्न सकेनौं भने फागुनमा महाधिवेशन गर्न अप्ठेरो हुन सक्छ ।

अहिलेको अवस्था के हो, फागुनमै हो त महाधिवेशन ?

कोरोनाको संक्रमण बढेको बढ्यै छ । कोरोनाको संक्रमण यस्तै तरिकाले बढ्दै गयो भने फागुनमै महाधिवेशन हुन कठिन छ । अहिले हामी कोरोनाको संक्रमणमा निर्भर छौं महाधिवेशन गराउने सन्दर्भमा पनि ।

पछिल्लो समय तपार्ईंहरू र संस्थापन पक्षका बीचमा विश्वासको वातावरण त छैन नि ?

यो विषयमा छलफल भएको छ । हामीले १६ बुँदे पत्र पार्टी कार्यालयमा दर्ता गराई सकेपछि यस विषयमा गम्भीर छलफल भएको छ । मलाई लाग्छ छलफलबाट नै विश्वासको वातावरण बन्छ ।

गठन भएका विभाग खारेज गर्ने तपार्ईंहरूका माग पूरा हुन्छन् त ?

छलफल हुँदैछ । छलफलबाटै निकास निस्कन्छ भन्ने मेरो अनुमान हो । निकास निस्कने सम्भावना बढी देख्छु म । छलफलबाटै निकास निकाल्न सकियो र सबैको सहमतिबाटै उत्साहपूर्वक केन्द्रीय महाधिवेशनमा भाग लिने वातावरण बन्यो भने त्यो राम्रै हुन्छ ।

तपार्ईंहरू उत्साहपूर्वक महाधिवेशनमा भाग लिने वातावरण बनिरहेको छैन ?

गम्भीरतापूर्वक छलफल हुँदै छ । छलफलले कुनै न कुनै निकास दिन्छ ।

बैठकका एजेन्डा के हुन् त ?

बैठकको एजेन्डा हामीलाई प्राप्त भएको छैन । अनुमानको भरमा म के भन्न सक्छु भने केन्द्रीय महाधिवेशनको तिथिलाई यथावत् राख्दै, (फागुन ७–१०) वडा तहका अधिवेशनदेखि प्रदेश तहका अधिवेशनको कार्यतालिकामा हेरफेर हुन सक्छ । अर्को कुरा समायोजन हुन नसकेका जिल्लाहरूमा त्यसको समय बढ्न सक्छ । महाधिवेशन कसरी तोकिएको मितिमा सम्पन्न गर्न सकिन्छ भनेर छलफल हुनसक्छ ।

तपार्ईं अहिले पनि फागुन ७ कै महाधिवेशनको मिति देखिरहनु भएको छ ?

कोरोनाको संक्रमण दर कम भयो, र सबै जना लाग्यौं भने र माघ महिनाभित्र वडादेखि प्रदेश तहसम्मको अधिवेशन गर्न सक्यौं भने त फागुनमा महाधिवेशन गर्न गाह्रो छैन ।

तर, संस्थापन पक्षले महाधिवेशनको मिति सानुपर्छ भनिरहेको छ नि ?

संविधानअनुसार अझैं फागुनबाट ६ महिना समय थप गर्न पाइन्छ । त्यो भनेको भदौ हो । कम्तीमा वैशाख, जेठमा महाधिवेशन गर्नुपर्छ भन्ने तर्क आउनु स्वाभाविक पनि हो । तर, त्यो तर्क उहाँहरूको पक्षबाट मात्रै ठीक हो । अहिले नै हामी वैशााख, जेठमा जाने कुरा नगरौं । माघ महिनाभित्र वडादेखि प्रदेश तहसम्मको अधिवेशन सम्पन्न गर्न पहल गरौं । पहल गर्दागर्दै पनि गर्न सकेनौं भने मात्रै महाधिवेशनको मिति सार्ने विकल्पमा कुरा गर्नुपर्छ । अहिले नै महाधिवेशनको मिति सार्नु हुँदैन ।

तर, समायोजनको काम अझै सकिएको छैन ?

समायोजनको विषय निर्वाचन समितिका पदाधिकारीहरूले हेरिरहनु भएको छ । अब समायोजनको काम पनि तीव्र गतिका साथ अघि बढ्छ ।

समायोजन सकिएका ठाउँमा फेरि समस्या देखिएको छ ?

अहिले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका कुराहरू छन् । यी दुवै कुराहरूलाई समायोजन सकिएका जिल्लाहरूमा नवीकरण गर्ने र नयाँ फारामहरू पठाइसकेका छौं । अधिकांश जिल्लाहरूमा सदस्यता वितरण र नवीकरणको काम धमाधम भइरहेका छन् । केही क्रियाशील सदस्यता वितरणमा अपुग भएको होला, त्यहाँ थप्ने भनेर पनि पठाइसकिएको छ ।

सम्बन्धित व्यक्तिले भन्दा पनि असम्बन्धित व्यक्तिले क्रियाशील सदस्यताको फाराम लगेर गएको कुराहरू पनि आएको छ ?

क्रियाशील सदस्यताको फाराम वैधानिक हिसाबले नै जानुपर्छ । हाम्रो विधानले वडा तहबाट नै नयाँ क्रियाशील सदस्यताको वितरण र नवीकरण गर्ने उल्लेख गरेको छ । वडा तहलाई नै क्रियाशील सदस्यताको जिम्मेवारी दिँदा उपयुक्त हुन्छ ।

तपार्ईंंहरूले बुझाएको पत्रमा निर्वाचन समितिप्रति असन्तुष्टि जनाउनु भएको छ ?

निर्वाचन समितिले निष्पक्षरूपमा काम गरिरहेको छ । निर्वाचन समितिको निष्पक्षतामाथि हामीले प्रश्न उठाएका हैनौं । हामीले निर्वाचन समितिलाई सम्मान गर्छौं र उहाँहरूले गरिरहेका कामहरू राम्रा छन् । तर, निर्वाचन समितिले समायोजनलगायतका कामहरू द्रुत गतिमा गर्नुपर्छ भन्ने हाम्रो माग हो । क्रियाशील सदस्यताको विषयमा निर्वाचन समितिमा रहेकाहरूलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पनि चिठी लेख्नु भएको छ । हाम्रो भनाइ के हो भने क्रियाशील सदस्यता वितरण गर्दा पारदर्शीरूपमा हुनु प¥यो । पारदर्शी तरिकाले वितरण गर्दा विधानअनुसार हुनु प¥यो भन्ने हो । त्यो विधानमा भएको व्यवस्थाअनुसार भयो कि भएन भनेर निर्वाचन समितिले यसलाई हेर्दिदाखेरि अलि राम्रो हुन्थ्यो कि भनेर भनेका हौं ।

तपार्ईंहरूको आशंका भनेको क्रियाशील सदस्यता वितरणमा अपारदर्शी खेल भएको भन्ने त हो नि ?

अहिले व्यक्तिगतरूपमा क्रियाशील सदस्यता वितरण गर्ने खेलहरू देखिन्छ । त्यो एकदमै गलत हो । विधान तह नै क्रियाशील सदस्यता वितरण गर्नुपर्छ ।

१४औं महाधिवेशन पछाडि नेपाली कांग्रेस कस्तो बनाउने ?

अबको कांग्रेस सबैको भरोसाको केन्द्रबिन्दु हुनुपर्छ । कांग्रेस जनतामा पनि लोकप्रिय पार्टी बन्नुपर्छ । पार्टीमा लागेका सबैले राजनीतिक न्याय पाउनु पनि पर्छ । साथै सबैले राजनीतिक सुरक्षा पाउँछन्, राजनीतिक अवसरमा समान र न्यायोचित वितरण हुन्छ भन्ने प्रत्याभूति हुनुपर्छ कार्यकर्तालाई । एक जना सामान्य कार्यकर्ताले बोलेको आवाजलाई पनि केन्द्रीय कार्यसमितिले सुन्छ भन्ने म्यासेज दिन सक्नुपर्छ । साथै जनताका आम सरोकारका विषयहरूलाई नेपाली कांग्रेसले मुद्दाको रूपमा उठाउन सक्नु पर्छ ।

जनताका सरोकारका विषयमा कांग्रेस अहिले पनि चुक्दै आएको छ ?

जनताको सरोकारका विषयमा अब कांग्रेस दरिलो भएर उपस्थित हुनुपर्छ । महँगीका कुरा होस् या भ्रष्टाचारका कुराहरू नै किन नहुन् । यसैगरी बेरोजगारी महँगी, कालोबजारीलगायतका कुराहरू छन् । यसैगरी कोरोना महामारीका बेला अस्पतालसम्म जनताको पहुँच पुग्न सकिरहेको छैन । यी र यस्तै जनसरोकारका विषयहरूलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक उठाउनु पर्छ ।

तर, कांग्रेस जनताको पक्षमा भन्दा पनि सरकारको पक्षमा जस्तो देखिन्छ ?

नेपाली कांग्रेसलाई सरकारको सहयात्री दलको रूपमा प्रस्तुत गर्न खोजिन्छ । यो एकदमै गलत कुरा हो । कांग्रेस प्रतिपक्षमा छ । भागबन्डा कांग्रेसले खोजेको छैन । बाहिर गलत प्रचार भएको छ । नेपाली कांग्रेसले आम सरोकारका विषय संसद्मा पनि उठाएको छ । तर, अहिले संसद् नै नभएकाले सडकमा जान सक्ने वातावरण छैन । कोरोनाको कारणले सडकमा आउन सक्ने स्थिति छैन । हाम्रा आवाजहरू पार्टी सभापति देउवाजीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लिखित रूपमै पनि दिनुभएको छ । जनसरोकारका विषयमा नेपाली कांग्रेसका हरेक नेताले हरेक फोरममा उठाउँदै आउनु भएको छ ।

तर, कांग्रेस प्रभावकारी रूपमा प्रस्तुत भएन भन्ने त हो नि ?

यसको प्रभावकारिता कसरी मापन गर्ने ? सदन अहिले बन्द छ, धेरै कुराहरू उठाउने ठाउँ त्यही हो । सडकमा जान सक्ने वातावरण कोरोना महामारीले गर्दा छैन । त्यसैले हामीले जति दबाब दिने हो अहिलेको अवस्थामा सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट हो । त्यो काम नेपाली कांग्रेसका नेताहरू गरिरहेका पनि छौं ।

नेपाली कांग्रेसको नेतृत्व अब कस्तो आउँछ ?

नेतृत्वका लागि धेरैजना दाबेदार हुनुहुन्छ । महाधिवेशन प्रतिनिधिज्यूहरूले जसलाई छनोट गर्नुहुन्छ उहाँले नै १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व गर्नुहुन्छ ।

अबको नेतृत्वको दाबी गर्ने उम्मेदवारको संख्या कति होला ?

बढीभन्दा बढी साथीहरू पार्टीको सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्य पदमा उठ्नु पर्छ । जति बढी उम्मेदवारहरू हुनुहुन्छ महाधिवेशन प्रतिनिधिहरूले छनोट गर्ने अवसर पनि त्यति बढी पाउनु हुन्छ । बढीभन्दा बढी उम्मेदवारहरू भएमा अहिले देखिएका परम्परागत गुटहरू पनि समाप्त भएर जान्छन् । भागबन्डाको राजनीति पनि समाप्त हुन्छ ।

तर, एउटा समूहबाट सभापति, अर्कोबाट उपसभापति अर्कोबाट महामन्त्री भयो भने त झनै समस्या होला नि ?

पार्टीलाई विधानअनुसार चलाउँदा कुनै समस्या पर्दैन । त्यसैले १४औं महाधिवेशनबाट विधानको पूर्ण पालना गर्ने गरी अघि बढ्नुपर्छ । केही समय मानिसहरू रिसाउँलान् तर विधानअनुसार पार्टी चलाउँदा उहाँहरू पनि रिसाउने अवस्था आउँदैन । भागबन्डाका कारण आफू र आफ्नाका लागि अवसर खोज्नेलाई दुःख भए पनि आम कार्यकर्तालाई फाइदा नै हुन्छ ।

१४औं महाधिवेशनमा तपार्ईंको भूमिका कहाँनेर हो ?

१४औं महाधिवेशनका लागि पार्टीको केन्द्रीय सभापतिका लागि दाबेदारिता प्रस्ततु गरेको छु ।

तपार्ईंको उम्मेदवारी सभापतिमै किन ?

हरेक कार्यकर्तालाई राजनीतिक न्याय दिनुपर्छ । पार्टीमा लागेका व्यक्तिले राजनीतिक अवसर पनि पाउनु पर्छ । पार्टीमा मानिसलाई आकर्षण मात्रै गर्ने होइन, आकर्षित भएका मानिसलाई राजनीतिक सुरक्षा पनि दिनुपर्छ ।

तपार्ईंले सभापतिको उम्मेदवार भने पनि पदाधिकारीमा सेट हुने दाउ हो ?

होइन । कल्याण गुरुङ १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार हो । मैले बारम्बार भन्ने गरेको छु, आफ्नो उम्मेदवारीलाई बार्गेनिङ टुलको रूपमा प्रयोग गर्नु हुँदैन । मैले त बार्गेनिङ टुलको रूपमा प्रयोग गर्दैन ।

एउटा समूहको ट्याग लागेको नेता, तपार्ईंले आफूलाई सभापतिको उम्मेदवारभन्दा आम कार्यकर्ताहरू हाँस्लान फेरि ?

अहिले उहाँहरूलाई लाग्नु स्वाभाविक हो । नेपाली कांग्रेसमा युवा अवस्थामै नेतृत्व गरेका थुप्रै उदाहरणहरू छन् । बीपी कोइराला पहिलो पटक कार्यवाहक सभापति हुँदा ३३ वर्षको हुनुहुन्थ्यो, टंकप्रसाद आचार्य जेलमा भएका बेला बीपीले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नु भएको थियो । मातृकाप्रसाद कोइराला पार्टी सभापति हुँदा २६ वर्षको हुनुहुन्थ्यो होला । २००९ सालमा पार्टी सभापति बन्दा बीपी ३९ वर्षको हुनुहुन्थ्यो । गणेशमान सिंह २०१२ सालमा सुवर्ण शमसेरसँग सभापतिकाे प्रतिस्प्रधा गर्दा ४० वर्षको हुनुहुन्थ्यो । ४६ वर्षको उमेरमा त बीपी कोइराला यो देशको प्रधानमन्त्री भइसक्नु भएको थियो । गुटको राजनीति र भागबन्डाको राजनीतिलाई समाप्त गर्न मेरो सभापतिमा उम्मेदवारी हो ।

बीपीको पालाको कांग्रेस र अहिलेको कांग्रेस तुलना नगरेकै राम्रो होइन र ?

अहिलेको पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि अन्डर फिफ्टी उमेरमै गृहमन्त्री र स्थानीय विकास मन्त्री भइसक्नु भएको थियो । ५०–५५ वर्षको उमेरमा उहाँहरू एक जना प्रधानमन्त्री र एक जना सभामुख पनि हुनुभयो । शेरबहादुर देउवाले त गिरिजाप्रसाद कोइरालासँग सभापतिमा चुनाव लड्नु भएको थियो ।

तपार्ईंले सभापतिको उम्मेदवार भन्दै गर्दा वरिपरि अरू पनि छन् कि सिंगल हो ?

म आफ्नो सेट नै महाधिवेशनमा प्रतिस्पर्धा गराउने हो । त्यसका लागि तयारी गरिरहेको छु । महाधिवेशनमा जुन जुन पदमा निर्वाचन हुन्छ, ती ती पदहरूमा मेरो प्यानल बन्छ र त्यसैका आधारमा म चुनावमा जान्छु ।
प्रस्तुति : मुक्तिबाबु रेग्मी