उत्तरार्ध जीवनलाई अत्यन्त सिर्जनात्मक र सक्रिय दिनचर्यामा लगाउन सफल स्रष्टामध्येका एक बाजुराम पौडेल चारवटा शास्त्रीय छन्दका महाकाव्य, एउटा खण्डकाव्य, दुईवटा कविता संग्रहका रचनाकार बनेर गद्यविधाको आफ्नो सीप र क्षमताको प्रयोग गर्दै बेलाबेलामा गद्यशैलीका विविध विधामा कुशलतापूर्वक कलम चलाउँदै आएका परिचित स्रष्टा हुन् । पाँच दशकसम्मको साहित्यिक साधनाले बनाएको प्रखरताबाट सिर्जित – परिष्कृत सिर्जनाहरूको आफ्नै महत्वपूर्ण स्थान त छ नै त्यसमाथि पनि उनका मौलिक सहज शिल्पले सिर्जनाहरू मनोरम र शुभासित बनेका छन् । उनका प्रकाशित दसौं कृतिसम्ममा पहिल्याइएका विशेषताहरू यी प्रसंगसँग सान्दर्भिक हुन आउँछन् ।
उनको ‘निशा’ उपन्यास गद्यविधामा प्रकाशित आत्मवृत्तान्त ‘भन्ज्याङ र चौतारी’ पुस्तकाकार कृतिपछिको दोस्रो स्वरूप हो । हुन त उनले यसअघि स्रष्टा परिचय, जीवनी, कथा निबन्ध र समालोचनाका फुटकर रचना पनि प्रकाशित गराएको छन् तापनि पुस्तकाकार कृतिमा भने उनको यो ‘निशा’ उपन्यास दोस्रो हो । यसमा मझ्यौला पृष्ठसंख्याका १५ अध्याय छन् । यो उपन्यास सामाजिक र संयोगान्त घटना परिघटनाको संयोजनका रूपमा रहेको छ ।
जन्मनेबित्तिकै आमा गुमाएकी शिशुका कथाले सिर्जना गरेका सौता र सौतेनी साइनोबाट ग्रस्त नेपाली समाजको राम्रो चित्रण गर्दै परम्परागत धारणा सोच र त्यसका कुप्रभावबाट समाजलाई जोगाउन यस उपन्यासले सुधारात्मक निर्देश गरेको छ । सुरुमा हजुरआमाले भनेकोे एउटी टुहुरी शिशुका कथाबाट सुरु भएको र पछि स्वयं त्यस शिशुले आफ्नो बाल्यकालको उत्तरार्ध र नवकिशोरावस्थामा आफ्नो जन्मले ल्याएका सामाजिक द्वन्द्व र अस्वाभाविक अन्योललाई बुझ्दै त्यसको आद्योपान्त आफ्नी दिवंगत आमाको फोटोलाई सुनाउँदाको कथाले अत्यन्त मार्मिक घुम्ती लिएको पाइन्छ । उपन्यासकी नायिका निशाले गरेको भीष्मप्रतिज्ञाले सौतेनी आमाको जीवन बचाउनुका साथै समाजमा विद्यमान सौतेनी धारणाका अवशेषलाई ध्वस्त बनाइदिएको छ । र भावी समाजका लागि नवप्रेरणा बन्दै यो उपन्यासको अन्त्य भएको छ । यसभित्र रहेको अर्काे एउटा विदेशी चरित्र रेनाका आख्यायिकाले उपन्यासलाई अत्यन्त सुन्दर बनाएको छ । उपन्यासकारको कुशलशिल्पको यहाँ राम्रो मूल्यांकन हुन्छ ।
माथि भनिएजस्तै यस उपन्यासमा एक चरित्रको कथा दुई प्रमुख चरित्रबाट सुनाएको पाइन्छ । आफ्नो अमूल्य अंग मृगौला सौतेनी आमालाई दान दिने निर्णय स्वर्गवासी आमाको फोटोलाई सुनाउँदा आकाश अन्धकार हुँदै हुरीबतास र डरलाग्दा बिजुली चम्काइ र मेघगर्जनका अप्रत्याशित संयोगको सिर्जना गरेर लेखकले यस उपन्यासलाई झन्डै महाकाव्यीय प्रवाहको नमुना प्रस्तुत गर्न खोजेको आभास हुन्छ ।
त्यसैगरी बालबच्चाका लागि सौतेनी आमा अर्काे ‘हाउबुझी’ हो भन्ने प्रमाण असत्य भएर पनि सत्य प्रमाणित गर्न खोज्ने समाजका विविध धारणा र दृष्टान्तका सांगठनिक स्वरूपका लागि उपन्यासकारले यथार्थ पात्र उभ्याएर त्यसमा सचित्र–दृश्य भरेका छन् ।
राष्ट्र र राष्ट्रियताका सवालमा अत्यन्त संवेदनशील बनेका उपन्यासकार बाजुराम पौडेलले नेपालका बुद्ध र सगरमाथाको महत्व अन्तर्राष्ट्रिय जगत्मा कुन महत्वका साथ रहेको छ त्यसको प्रशंसा विदेशी नागरिकबाट भनाएको र प्रथम र द्वितीय विश्वयुद्धले दक्षिणपूर्वी एसियामा पारेका प्रभाव र परिवर्तित जीवन पद्धति त्यस देशका जनताले स्वीकार गर्न बाध्य पारेको चर्चा र स्वतन्त्र यौनलाई विकसित देशले अविकसित राष्ट्रमा समेत प्रयोग गर्न खोजेको सन्दर्भ र त्यसलाई अविकसित देशले अस्वीकार गर्न नसकेको पीडा पनि यहाँ उल्लेख भएका छन् । यस्तै अनेकौ सान्दर्भिक दृष्टि र दृष्टिकोणबाट उपन्यासमा झांगिएको कथाले पाठक मन छुट्नै नसक्ने गरी खिच्दछ । सललल बगेको भाषा र शैली–प्रवाहले पाठक मन पाठक चरित्रमा एकाम्य हुन पुग्दछ । यतिमात्र होइन, एउटी विदेशी नारीले नेपालीका पारिवारिक जीवन पद्धति र तिनका संस्कृतिप्रति देखाएको झुकावका अनुशीलनले यौन स्वतन्त्रताका नाममा हुने गरेका विकृत जीवनको पश्चात्तापपूर्ण अभिव्यक्तिमा कथा टुंगिन पुग्दछ । यो पनि उपन्यासकारको अर्काे सफल पक्ष हो ।
उपन्यास, यथार्थमा विविधताको संयोजन र मनोहारिताको सादृश्य स्वरूमा रहेको पाइन्छ । परम्परागत रूपमा भन्दै आएको ‘कल्पना’ आजको युगले विज्ञानका धरातलमा उभ्याइसकेको यस सन्दर्भले कल्पनालाई सिर्जनाका एउटा महत्वपूर्ण अवयव मानिसकेको छ । यथार्थ सत्यकै नजिक रहने हुँदा उपन्यासकार बाजुराम पौडेलले कल्पनालाई मधुरतम करुणा र आत्मविभोरका राग र लहरमा सजाइदिएका छन् । भाव उद्वेलन र त्यसको सम्प्रेषणीयतामा प्रश्न उठ्ने छैन । एउटा सफल उपन्यासकारले तय गर्नुपर्ने यात्राका इमानदार यात्री बाजुराम पौडेलका अपयशका संकेत त्यसै विलीन हुँदै गएको पाइन्छ । एउटा खट्केको अनुभूतिले भूप्रकृतिका शृंखलित वर्णन खोजे छ भने अन्यथा मान्नु नपर्ला ।
कुरा त्यही समाज र त्यसकै सामाजिक परिवेशको हो । युगले ल्याएको सञ्चेतनाले केही उपलब्धि नगरेको होइन । प्रयोग र प्रमाण जुटेका वस्तुलाई असत्य भन्न नसकिने सत्यता सबैले बुझेकै कुरा हो । उपन्यासकार यस भनाइसँग पनि चुकेका छैनन् । घरायसी कामधन्धाका कामदारलाई नोकर भन्ने प्रचलन हटाउनु र्ने आवश्यकता र त्यो पनि समाजकै अभिन्न अंग हो भन्नका लागि यस उपन्यासमा घरधन्धा गर्न बसेकी नीरालाई गरेको आत्मवत् व्यवहार समाजका लागि अनुकरणीय भएको छ । सौतेनी आमालाई मिर्गौला दान दिने सौताकी छोरीलाई आजको समाजले अब कसरी हेर्ने ? एउटा महत्वपूर्ण प्रश्न उठाइदिएका छन्– उपन्यासकारले ।
यतिमात्र होइन, देशमा आएको नवचेतनासँगै नारी र बालबालिकाका हित गर्ने संघसंस्थाको स्थापना र तिनको सक्रियता, धर्म, संस्कृति, आस्था विश्वास तथा असल बानीबेहोराका महत्व दर्शाएर एउटा आदर्श समाज रुचाउने यस कृतिको अर्कै महत्व रहन गएको छ । परम्परागत केही अवधारणालाई छोडेर अन्य पक्ष सुन्दर देखिन्छन् ।
बाजुराम पौडेलद्वारा लिखित यस ‘निशा’ उपन्यास संक्षिप्तमा विस्तृत बनेको छ । पात्रपात्राहरूको त्यति ठूलो घुइँचो देखिँदैन । कुनै कुनै पात्र बाटोमा देखिएर बाटोमै पानीका फोका बनेका छन् तापनि तिनीहरूले आफ्नो महत्ता स्थापित गर्न सफल बनेका छन् । मठमन्दिरका दर्शन धूमपानका परम्परागत लत आदिले सतही रूपमा उपन्यासकारलाई परम्परावादीको आक्षेप लगाउन खोजे तापनि उनले यथार्थतालाई पछ्याएको हुँदा यस आक्षेपबाट जोगिने ठाउँ पनि धेरै देखिन्छन् । आँखा अगाडि देखिएको कुरा अयथार्थ हुन सक्दैन । कसैका त्यस्ता बानी छन् भने उपन्यासकारले सोको चित्रण गर्नु आफैंमा दोष देखिँदैन । उपन्यासका काल परिवेशका पात्र र घटना केलाउँदा वि सं .२०४० देखि २०७५ सम्मको काठमाडौंको उत्तरी भूभागको भूप्रकृति र समाजको वरिपरि घुमेको पाइन्छ । यो कृति सामाजिक उपन्यास भएको हुँदा यसको मेरुदण्ड त्यही समाज हो । कहिले पुरानो रक्सी नयाँ सीसीमा र कहिले नयाँ रक्सी पुरानो सीसीमा राखेर नयाँ–पुरानाका तुलना गर्ने हाम्रो दृष्टिकोणका लागि नयाँपनका आधार चाहिन्छ । रक्सीका गुण अवगुण र सीसीका क्षमता आफैंले नया र पुरानाका सीमा निर्धारण गर्दछन् । हाम्रो सोच र चिन्तनले पुरानो समाजलाई नयाँ रूपमा चित्रण गर्दछ भने त्यो अन्यथा मान्नु पर्दैन ।
हुक्का चिलिमको प्रयोग आजको समाजले पनि गर्दैछ । एकतारे जोगी र जेठा गन्धर्वहरू आज पनि आफ्नो जीविकाका लागि घरदैलो चहार्दैछन् । गडबडे माइलाका चरित्रका मान्छे यस समाजमा अझै छन् । समाजमा कुरा काट्ने र ढाकछोप गर्ने मानिसहरूको पनि बाक्लै उपस्थिति छ । परम्पराका अवशेष सितिमिति सकिँदैनन् र पुराना पनि हुँदैनन् भन्ने अर्थ बुझेका उपन्यासकारले छनोट गरेका चरित्रहरूले उपन्यासलाई र उपन्यासभित्रको सौतेनीद्वन्द्वको कथानक निर्माणमा सक्रिय चरित्रको भूमिका निर्वाह गरेका छन् । समग्रमा उपन्यास सुन्दर छ, पठनीय र संग्रहणीय छ । उपन्यासकारबाट यस्तै सफल कृतिको सिर्जना भइरहोस् भन्ने कामना गर्दछु ।
प्रतिक्रिया