कोरोनाबाट रुपन्देही र बाँकेमा गरि ६ जनाको मृत्यु भएको छ । रुपन्देहीमा चार तथा बाँकेमा २ जनाको मृत्यु भएको हो । रुपन्देहीमा मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् ।
बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो ।
बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
उनी मुटुका दीर्घरोगी थिए । यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको डा. गौतमले पुष्टि गरे । असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासको समस्या थियो ।
यस्तै बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी डा. गौतमका अनुसार उनमा उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुने उनी नै पहिलो व्यक्ति हुन् ।
आईसीयू बेडको अभावका कारण ती महिलालाई रुपन्देहीबाट शुक्रबार राति साढे १० बजे बेलझुण्डी अस्पतालमा पुर्याइएको थियो । उनलाई आईसीयूमा राखेर उपचार शुरु गरेपनि शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । ती महिला उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी थिइन् ।
बाँकेमा गए राति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छाका ७१ वर्षीया महिलाको गएराति भेरी अस्पतालमा मृत्यु भएको हो ।
उनलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको छ ।
उनमा असोज ६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । योसँगै बाँकेका मात्रै २६ जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ । त्यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका थप १२ जना गरी कुल ३८ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया