देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संक्रमितलाई घरैमा ‘खुराक’

देशान्तर

काभ्रेस्थलीको संगम बस्तीका एक युवकलाई कोरोना देखिएपछि परिवारका सदस्यहरू आत्तिए । संक्रमित युवकलाई तारकेश्वर नगरपालिकाले समन्वय गरेर आइसोलेसन सेन्टरमा पठायो । परिवारका ६ सदस्य पनि पीसीआर रिपोर्ट नेगेटिभ नआएसम्म घरमै बसे ।

घरमा बस्दा टोलवासी र आफन्तले खानेकुराको बन्दोबस्त गरिदिए । ती युवक पनि कोरोनामुक्त भएर घर आइसके ।
परिवारका सदस्यहरू बुधबार बिहान खाना खाइरहेका थिए । नगरप्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल, वडा २ का अध्यक्ष रवीन्द्र केसी र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल थाहै नदिई उनीहरूको घरमा पुगे । कोरोनामुक्त भएकामा परिवार सदस्यलाई बधाई दिए ।

नगरप्रमुख बोहरा र उपप्रमुख डोटेलले पोसिलो खानेकुरा किनेर खान भन्दै ५ हजार रुपैयाँ र स्वास्थ्य किटको एउटा बक्स थमाइदिए । आपत्का बेला नगरपालिकाले सम्झेपछि परिवारका सदस्य खुसी भए । ‘सान्त्वना र हौसलासँगै पाँच हजार सहयोग र अरू सामान पाउँदा हामी खुसी छौं,’ परिवारका एक सदस्यले भने । स्वास्थ्य किटको बक्समा सेनिटाइजर २५० एमएल, मास्क, साबुन, क्लोरिन, भिटामिन सी, थर्ममिटर राखिएको छ ।

घरमै आइसोलेसनमा बसेकालाई नगरपालिकाले ५ हजारका दरले खुराक खर्च दिने गरेको छ । ‘नगरपालिकाको आन्तरिक आम्दानी, संघ र प्रदेशबाट आएको अनुदानबाट २ करोडको कोभिड कोष खडा गरेका छौं,’ उपप्रमुख डोटेलले भनिन्, ‘यही कोषबाट होम आइसोलेसनमा बसेकालाई खर्च दिएका हौं ।’ नगरपालिकाले भाडामा बस्ने व्यक्ति संक्रमित भए पनि विभेद नगरी सहयोग रकम दिने नीति लिएको उनले बताइन् । ‘हाम्रो नगरमा घर हुने होस् वा भाडामा बस्ने जो संक्रमित भए पनि घरमै आइसोलेसनमा बस्छन् भने सहयोग दिन्छौं,’ उनले भनिन् ।

भाडामा बस्ने संक्रमित भएमा सहयोग रकम लिन घरधनीले आफ्नो घरमा बस्ने भनेर प्रमाणित गरिदिनुपर्ने हुन्छ । ‘यो रकम संक्रमितलाई सान्त्वना दिन उपलब्ध गराएका हौं,’ नगरप्रमुख बोहराले भने । नगरपालिकाले एउटै परिवारका ६ जनासम्मलाई होम आइसोलेसन बसेबापत सहयोग उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए । सहयोग उपलब्ध गराउनेबाहेक घरमा बस्नेहरूलाई स्वास्थ्यकर्मीसँग नियमित सम्पर्क गरेर निगरानी गर्ने संयन्त्र बनाएको उनले बताए ।
तारकेश्वरमा जस्तै टोखा नगरपालिका र बूढानीलकण्ठले पनि घरमै आइसोलेसनमा बस्ने संक्रमितलाई सहयोग उपलब्ध गराउने गरेका छन् । ‘आइसोलेसन सेन्टर लगेर राख्दा नगरपालिकाले अहिले दिएको सहयोग अपुग हुने भएकाले संक्रमितको हौसला बढाउन सहयोग उपलब्ध गराइएको हो,’ बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले भने । बूढानीलकण्ठले एक परिवारलाई बढीमा ६ हजारसम्म र टोखाले दिनको ३ सय ५० रुपैयाँका दरले सहयोग दिने गरेका छन् ।

टोखा नगरपालिकाले संक्रमितले नागरिकता र परिचय खुल्ने कागज पेस गरेलगत्तै ३ सय ५० का दरले १४ दिनको खुराक खर्च दिने गरेको उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् । एक सय ५० भन्दा बढीलाई यो सुविधा उपलब्ध गराइसकेको उनले जानकारी दिइन् । यसरी सहयोग पाउनेमध्येका एक हुन्– टोखा–२ यलाग टोलका सञ्जय डंगोल । उनको परिवारमा ६ जनालाई कोरोना पुष्टि भएको थियो । उनी नगरपालिकाले बनाएकै आइसोलेसनमा बसे ।

उनका बुबा, आमा, श्रीमती, भाइ र बुहारी भने घरमै आइसोलेसनमा बसेका थिए । सबैजना कोरोनामुक्त भइसके । उनी बसेको आइसोलेसन सेन्टरमा नगरपालिकाको व्यवस्थापनबाट जति खुसी भएका थिए, घर फर्केपछि नगरपालिकाले मंगलबार २४ हजार ५ सय खुराक खर्च दिँदा त्योभन्दा बढी हर्षित भए । नगरपालिकाले उनीबाहेक ५ जनाको ३ सय ५० का दरले १४ दिनको खुराक खर्च उपलब्ध गराएको हो । ‘मलाई राखिएको आइसोलेसन सेन्टरमा बस्दा पनि पारिवारिक वातावरण पाएँ, बिहान योग अभ्यासदेखि समयमा सन्तुलिन भोजन खुवाइयो । खेलकुदको सामान, टीभी, वाइफाईको व्यवस्था थियो,’ उनले भने, ‘घरमा आएपछि एकमुष्ट रकम पाउँदा खुसी छौं ।’ कान्तिपुरमा खबर छ ।