म्याद नाघेका उपभोग्य वस्तु बजारमा छ्यापछ्याप्ती पाइन थालेको छ । उत्पादन मिति तथा ब्याच नराखेर वा नयाँ लेबल लगाएरसमेत सामान बेचबिखन गर्ने गरिएको छ । कोभिड–१९ नियन्त्रणका लागि सरकारले लामो समय लकडाउन तथा निषेधाज्ञा गर्नाले अर्बौंका सामानको म्याद गुज्रिएको हो । उपभोग गर्ने समय सकिएका सामान उत्पादक कम्पनीलाई फिर्ता गर्नुपर्नेमा आयातकर्ता र वितरकले नै बजारमा पुर्याइरहेका छन् ।
खुद्रा पसलमा म्याद नाघेका सामानको रिप्लेस वितरकमार्फत आउने सेल्सम्यानले गर्छन् । होलसेलबाट खरिद गरिएका सामानको हकमा होलसेलले नै रिप्लेस गर्छन् । तर म्याद सकिएको सामान वितरक र होलसेलबाटै खुद्रामा पठाउने गरिएको छ । म्याद गुज्रेका सामानमा रि–लेबलिङ गर्न गिरोह नै सक्रिय रहेको पाइएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीले आइतबार म्याद गुज्रिएका सामग्रीमा नयाँ मिति टाँसेर वितरण गर्दै आएको एक समूहलाई पक्राउ गरेको छ । यसअघि आयात र डिस्ट्रिब्युटर्सको गोदाममा छापा मार्दा ल्यापटप, सवारीसाधन र बिलबीजकसहित आठ जना पक्राउ परेका थिए ।
खाद्य वस्तुको म्याद प्रायः ६ देखि १२ महिनासम्म हुन्छ । आयात गरेर बिक्री गर्नुपर्ने वस्तु विभिन्न तह पार गर्दै रिटेलरमा ४/५ महिनासम्ममा आइपुग्ने व्यवसायीहरू बताउँछन् । ‘सामान्य अवस्थामा वर्षमा करिब दुई प्रतिशत म्याद नाघेको सामान निस्किन्छ । लकडाउन र निषेधाज्ञाका कारण बजारको चक्र बिग्रँदा आयातकर्ता, वितरक, होलसेल र खुद्राको २५ देखि ३० प्रतिशत सामान ड्यामेज भएको छ,’ नेपाल वितरक संघका पूर्वअध्यक्ष दुर्गाराज श्रेष्ठले भने । संघका अनुसार कुल खपतको ८७ प्र्रतिशत आयात हुन्छ । १३ प्रतिशत स्वदेशी उद्योगको उत्पादन हो ।
आयात गर्दा कुल उपभोग्य वस्तुको ३ गुणाभन्दा बढी सामान गोदाम, भन्सारलगायत स्थानमा हुन्छ । आयातकर्ता, वितरक, रिटेलरबाट उपभोक्तासम्म आइपुग्न ३ देखि ६ महिनासम्म लाग्छ । त्यसैले चकलेट, बिस्कुट, ट्याङ, तेल, कस्मेटिकलगायत वस्तुको म्याद बाटोमै सकिने अवस्था रहेको श्रेष्ठले जानकारी दिए । ‘चकलेटको कारोबार वार्षिक करिब ८ अर्बको हुन्छ । करिब ६ महिना बन्दले ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको सामान खेर गयो,’ उनले भने, ‘पेय पदार्थ, बिस्कुट, कस्मेटिकलगायतको अवस्था पनि उस्तै छ ।’ कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया