पुनाको आश्रममा एकदिन आफ्नो प्रवचनमा आचार्य रजनिशले एउटा कथा सुनाएका थिए । त्यो मैले उनको प्रवचन सुन्दा सुनेको छुँ । त्यसबखत उनी आचार्य नै भनिन्थे । पछि भगवान् र अन्त्यमा ओशो भए । सुनिन्छ, कुनै बखत उनले नेपालमा पनि आश्रम बनाउन चाहेका थिए । अहिले उनका शिष्यहरूले ‘ओशो तपोवन’ बनाएका छन्, जुन निकै रमणीय छ । म एकपटक मनमोहन भट्टराईका साथ त्यहाँ पुगेको छु । त्यहाँ बस्ने–खाने राम्रो प्रबन्ध छ । मनमोहन भट्टराई र मैले एकपटक तीन दिनका लागि भए पनि आएर प्रवचन सुन्ने, ध्यान गरेर बस्ने विचार गरेका थियौं, विभिन्न कारणले त्यो कार्यान्वित हुन सकेन ।
एकपटक कुनै कार्यक्रममा आश्रमका स्वामी अरुण स्वामीसँग साक्षात्कारका साथै, कार्यक्रमको कुनै विषयमा छलफलमा उनका साथै सहभागिता जनाउने अवसर पाएको थिएँ । त्यसपछि उनीसित भेट भएको छैन, तर उनको व्यवहार राम्रो थियो र उनका विषयगत तर्कहरू पनि प्रभावकारी थिए ।
………..
त्यसबखत दुनियामै उनी एक चर्चित आध्यात्मिक हस्ती बनेका थिए । त्यसकारण, भेट्न नसके पनि म उनको प्रवचन सुन्न गएको थिएँ, जसको निकै चर्चा थियो । उनको ‘सम्भोगसे समाधिकी ओर’ पुस्तकको निकै चर्चा थियो । त्यो पुस्तक मैले पढेको थिएँ । प्रवचन उनको साँच्चिकै प्रभावशाली थियो । बोल्ने शैली, आवाजको उतारचढाव सबले प्रभाव पार्थे । पछि, उनी भक्तजनहरूको प्रार्थनामा विभिन्न मुद्रा बनाएर बस्थे, तिनले भक्तहरूलाई त उत्साहित बनाउँथे । मैले भने त्यो प्रार्थना सभामा भाग लिइनँ । पछि त्यहीँ, एउटा ‘कोरा कागज’ भन्ने हिट फिल्म आएको थियो, विजयानन्द र जया भादुडीको । त्यसमा मन्दिरहरूमा कुँदिएको यौन मुद्राका ससाना मूर्तिहरूमा एउटी केटीले सोध्दा विजयानन्दले, उक्त मुद्राहरूका बारेमा केटीको जिज्ञासा शान्त गर्न जुन तर्कपूर्ण र राम्रो बौद्धिक व्याख्या गरेका थिए । मलाई लाग्दछ त्यो यिनै रजनिशको व्याख्याबाट प्रभावित थियो ।
…………..
नेपालमा विभिन्न योगीहरू, सन्न्यासीहरू आइरहन्छन् । शिवरात्रिमा सन्तहरूको भीड उल्लेखनीय हुन्छ सधै । आउँदो शिवरात्रिसम्मा ‘कोरोना’ गयो भने फेरि सन्तहरूको मेला लाग्छ । यी सन्तहरूमा हठयोगी हुन्छन्, आध्यात्मिक योगी हुन्छन्, भक्तिमार्गी हुन्छन्, कोहीकोही हुन सक्छ, काम गर्ने अल्छीले जोगी भएँ’ किसिमका पनि होलान् । म पनि शिवरात्रिमा यी जोगीहरूको मेला हेर्न जान्थे पनि । पहिले गाँजा फ्रि हुँदा पनि तिनले चिलिम तानेको देख्थें । अहिले गाँजाको खेती निषेध छ र पनि ती कहाँकहाँबाट गाँजा प्राप्त गरिरहेकै देखिन्छन् । अन्य चमत्कार देख्न नपाए पनि यो पनि मलाई चमत्कारजस्तै लाग्थ्यो । तर रजनिश यीभन्दा फरक थिए नितान्त । उनीसँग आफ्नो अध्यात्मको लागि तर्क हुन्थ्यो र शैली पनि हुन्थ्यो । त्यसैले, त्यसबखत उनका विभिन्न देशका कैयौं शिक्षक, विद्यार्थी र अन्य स्त्री–पुरुष भक्त बनेका थिए । ती रजनिशको लकेट भएको रुद्राक्षको माला लगाएर चलनचल्तीकै बस्त्र पनि गेरुवा रङको लगाएर हिँडिरहेका देखिन्थे ।
…………….
एकपटक काठमाडौंमा महेश योगी पनि आएका थिए । महेश योगीको प्रवचन पनि मैले टुँडिखेलमा सुन्ने अवसर पाएको थिएँ । उनको प्रवचन पनि प्रभावशाली थियो । टुँडिखेलसमेत, सके खुला मञ्चमा ठूलो संख्यामा भक्तजन वा जिज्ञासुहरू आएका थिए । मैले पहिलो पटक त्यही भिडियो देखेको थिएँ । महेश योगीले दिएको प्रवचनको ‘लाइभ’ प्रसारण ती भिडियो सेटमा भइरहेको थियो । त्यो मैले पहिले देखेको थिइनँ, त्यसकारण अचम्म पनि मानेको थिएँ । उनको प्रवचन पनि प्रभावकारी थियो तर रजनिशभन्दा भिन्न । सुने अनुसार, महेश योगीले पनि काठमाडौंमा आश्रम खोल्न खोजेका थिए रे । के कारणले हो, खुल्न सकेन । तर उनका भक्तहरू त अझै पनि छन् । योगीहरूमा कृपालुजी महाराजको प्रवचन पनि मलाई मनपर्छ, तर तिनलाई मैले साक्षात भने देखिनँ । उनको प्रवचन बेलाबेलामा टीभी च्यानलहरूबाट प्रसारित हुँदा मैले सुनेको छु । उनका भक्तहरू पनि छन् । एक भक्त त मेरा मित्र पनि हुन्, कवि पनि र सहृदयी पनि ।
………….
अध्यात्ममा मलाई सधंै रुचि रहेको हो । त्यसले मेरो कल्पनाशीलतालाई ऊर्जा नै दिएको छ । हाम्रो पूर्वेली अध्यात्ममा विशाल ज्ञानको भण्डार छ । हो त्यसका केही पक्षलाई दैनिक जीवनमा उतार्न कठिन छ । तर त्यसले अध्यात्मको महत्व कम हुन्न । मैले एकपटक शंकरमणि पौडेल दाइसँग सोधेको थिएँ– ‘अथेइष्ट अध्यात्म हुन सक्दैन दाइ ?’ उनी पनि अध्यात्म सम्मानका मानिस थिए । उनले के उत्तर दिए त्यो, अहिले मैले सम्झिनँ । तर पछि विचार गरें, अस्तित्ववादी दर्शनमा दुई धारा छन्, आस्तिक र नास्तिक । किर्केगार्ड आस्तिक अस्तित्ववादक, प्रवद्र्धक थिए भने, स्वयं ज्याँपाल सार्ते नास्तिक अस्तित्वादका प्रवद्र्धक हुन् । वास्तवमा मेरो अध्यात्मसँगको अर्थ चिन्तन नै थियो । मेरो प्रश्नको उत्तर त सात्र्रको अस्तित्ववादमा छँदै थियो नि । अध्यात्मले धार्मिक अनुष्ठान आदिबाट मुक्ता तुल्याएर चिन्तनको स्तरमा गयो भने नास्तिक अध्यात्म भइहाल्छ नि ? हामीकहाँ पनि त केही दर्शन नास्तिक अध्यात्मभित्रै मानिएका छन्, सांख्य बौद्ध, लोकायत्रहरू के हुन त ? हो, यसमा पनि पूर्व र पश्चिम अध्यात्ममा अन्तर पाउन सकिएला तर त्यो अहिलेको विषय यहाँ होइन ।
प्रतिक्रिया