देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हामीलाई थकाउँदै लाने रणनीतिमा संस्थापन पक्ष हिँडेको छ

देशान्तर

जीवन परियार, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

केमा व्यस्त हुनुहुन्छ ?

यतिबेला पार्टीका केही आन्तरिक गतिविधिहरू पनि छन् । साथै घरायसी सामान्य कामहरूमा व्यस्त छु ।

फागुनमा महाधिवेशन हुन्छ त ?

आगामी फागुन ७–१० का लागि केन्द्र्रीय महाधिवेशनको मिति तय गरिएको छ । तर महाधिवेशनको कार्यतालिकामा केही समस्याहरू देखा परेका छन् । त्यो कार्यतालिकालाई संशोधन गरेर भए पनि महाधिवेशन समयमा गर्नुपर्छ । हाम्रो त कार्यकाल पनि सकिसकेको छ । अहिले हामी अतिरिक्त कार्यकालमा हिँडिरहेका छौं । कांग्रेसले तय गरेको मितिभन्दा पछाडि जान सक्ने व्यवस्था हामीसँग छैन ।

फागुनमै महाधिवेशन गर्नका लागि कार्यतालिका संशोधन गर्ने कि त्योभन्दा पछाडिका लागि मिति तय गर्ने ?

महाधिवेशन सम्पन्न गर्नका लागि पहिलो सर्त भनेको क्रियाशील सदस्यता वितरण, नवीकरण हो । यो भएपछि सदस्यतालाई अन्तिम टुंगोमा पुर्‍याउनु पर्छ । ती कामहरू गर्नका लागि कार्यतालिकामा केही अप्ठेराहरू आइरहेका छन् । त्यसैले हामीले पटकपटक पार्टी नेतृत्वलाई घचघच्याउने काम गरेका हौं । कार्यतालिकाअनुसार काम पनि हुन पर्‍यो । कार्यतालिका देखाउनका लागि मात्रै हुनु भएन । कार्यतालिका बाहिर पब्लिकमा यति गतेसम्म क्रियाशील सदस्यता वितरण गर्ने, यति समयमा अन्तिम टुंगोमा पुर्‍याउने, यति समय छानबिन गर्ने भनेर कार्यतालिका देखाएर मात्र भएन । यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । जुन कुराहरू भदौ र असोज मसान्तभित्र सक्नुपर्ने थियो ती कामहरूमा गति प्रदान भएको छैन । त्यसले गर्दा महाधिवेशनमा भएका कतिपय विषयहरू प्रभावित भएको अवस्था हो ।

कोरोनाका कारण पनि गतिविधिहरू प्रभावित भए होलान् ?

हामीले कोरोनाको महामारी सुरु भइसकेपछि नै कार्यतालिका हेरफेर गरेको हो । कोरोना महामारीकै बेला कार्यतालिका बनाइसकेपछि त्यसलाई कसरी म्यानेज गर्ने भन्ने विषयमा त हामीले पनि सोच्नु प¥यो नि । हामीले कोरोना नआउँदै सुरु गरेको कार्यतालिका त होइन । पहिलो कार्यतालिका कोरोना नआउँदै फिक्स गरेको हो । त्यसपछि कोरोना आइसकेपछि हामीले संशोधन गरेको हो । नेपाली कांग्रेसले पुनर्संरचना पछिको समायोजनको काम त हामीले एक वर्ष अघि सक्नुपर्ने थियो । तर, दुःखका साथ भन्नुपर्छ अझैं पनि पाँच, सात वटा जिल्लाको समायोजना सकिएको छैन । एक वर्षअघि सक्नुपर्ने काम त अझैं सकिएको छैन भने कसरी समयमै महाधिवेशन हुन्छ भनेर हामीले विश्वास गर्ने । अधिवेशन लम्ब्याउने र हामीलाई थकाउँदै लगेर जाने रणनीतिअनुसार अहिलेको संस्थापन पक्ष हिँडेको छ । यसले नेपाली कांग्रेसको अधिवेशन नगराउने उद्देश्यका साथ नेतृत्व हिँडिरहेको छ ।

अधिवेशन नगर्न त मिल्दैन होला ?

नेपाली कांग्रेसको विधानतः कार्यकाल चार वर्षको हो । यतिबेला नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा छ । हामीलाई सरकारका कामहरूमा लाग्नुपर्ने बाध्यता पनि छैन । त्यसैले हामीले चार वर्ष भित्र नै महाधिवेशन गरौं भनेर बारम्बार भन्दै आएका छौं । यो कुरा त हामीले २ वर्ष पहिला नै भनेको हो । विधानअनुसार विशेष परिस्थितिमा कांग्रेसको कार्यकाल एक वर्ष थप्न मिल्छ । हामी त्यो नथपौं महाधिवेशन गरौं भनेर त पटकपटक भनेका हौं । एक वर्ष पहिला नै महाधिवेशन भएको भए अहिले कोरोनाको कारण देखाउन पनि पर्ने थिएन । अहिले त एक वर्ष थप गरिए पनि वर्तमान नेतृत्व महाधिवेशन नगराउने षड्यन्त्रमा लाग्दै छ । अहिले त बहाना कोरोना भन्न पाइयो ।

तपाईंहरूको महाधिवेशन फागुनमा नहुने, नेकपाले चैतमा महाधिवेशन गर्ने मिति तोक्दा तपाईंहरूलाई अलिकति लाज पनि लागेको छ होला ?

हामीले त भनिरहेका छौं । कोरोना भनेको महामारी हो, यसमा हामी सबै सचेत छौं । हामीलाई पनि हजारौं मानिसहरू जम्मा भएर भीडभाड गरेर कार्यकर्तालाई जोखिममा पारौं भन्ने छैन । अधिवेशनको विकल्पमा पनि छलफल गर्न हामी तयार छौं । कोरोना छ भन्दै भन्दै अधिवेशन सारेर विधान लत्याउन मिल्दैन । विधान नै लत्याउने हो भने कांग्रेस केमा टेकेर अघि बढ्ने हामीलाई गम्भीर प्रश्न उब्जिन्छ । भन्न त यहाँ पार्टी सभापतिले पटकपटक संविधानअनुसार हुन्छ भन्नुहुन्छ । त्यो भनेको थप ६ महिना हो । यो कुरालाई सभापति शेरबहादुर देउवाले सामान्यरूपमा लिनु भएको छ । तर कांग्रेसका लागि यो गम्भीर भूल हो ।

अधिवेशनको कार्यतालिका प्रभावित हुनुमा कोरोनालाई दोष दिने की हाम्रो कार्यशैलीलाई ?

हाम्रो भनाइ पनि यही हो । कोरोनाको महामारी बढ्दै छ । यसबाट कसरी छलिएर अघि बढ्ने भन्नेमा सोच्नु पर्छ । तीन चार महिना लकडाउन भयो त्यसले पनि हामीले गतिविधिहरू गर्न सकेनौं होला । अहिले त अवस्था भयावह भए पनि लकडाउन निषेधाज्ञा छैन, जसले गर्दा सुरक्षाका उपायहरू अवलम्बन गरेर अघि बढ्नुपर्ने बेला आइसकेको छ । विश्वमा यस्तो महामारीमा पनि चुनावको तयारीहरू भइरहेका छन् । नेपालको सीमा जोडिएको बिहारमा पनि चुनावको मिति घोषणा भएको छ । त्यसका कारण नेपालमा पनि विभिन्न स्वास्थ्य मापदण्डहरूलाई प्रयोग गरेर अघि बढ्नु पर्नेमा कोरोनालाई देखाउँदै अधिवेशन नगर्नेतर्फ पार्टी नेतृत्व अघि बढेको छ ।

आम निर्वाचनभन्दा पार्टीको अधिवेशनमा संख्या कम हुन्छ, त्यसका लागि केही विकल्प हुन्छ ?

विकल्पका विषयमा हामी छलफल गर्न तयार छौं । हामीले अघिल्लो निर्वाचनमा ३३ लाख भोट ल्याएका थियौं । पार्टी अधिवेशनमा ती ३३ लाखले भोट हाल्ने पनि होइन । नेपाली कांग्रेसको अहिले क्रियाशील सदस्यता संख्या झन्डै पाँच लाखको हाराहारीमा छ । अरू पाँच लाख थपिँदा १० लाख होला । त्यो १० लाख पनि प्रत्येक वडामा विभाजन भएका छन् । प्रत्येक वडाका क्रियाशीलहरूको भेलाले क्षेत्रीय प्रतिनिधिको चयन हुन्छ । थोरैमा १६ जना चयन हुने हो । बढीमा १२६ जना हो । १२६ जना भनेको सहर बजारका केही सीमित वडामा मात्र हो । क्षेत्री प्रतिनिधिहरूबाट प्रदेश निर्वाचन क्षेत्र, जिल्ला निर्वाचन क्षेत्र हुँदै आउने भएको हुनाले प्रतिनिधिहरूले नै भोट हाल्ने भएकाले विकल्पहरू सोच्न सकिन्छ ।

तपाईंले विकल्प विकल्प भन्नुभयो, तपाईंले भनेको विकल्प के ?

जस्तो जिल्ला अधिवेशन गर्दा वडास्तरमा भेला भएर त्यहीबाट भोट हालेर काउन्ट गर्ने र त्यो रिजल्ट जिल्लामा पु¥याउने गर्नुपर्छ । त्यस्तो भयो भने जिल्ला अधिवेशनका लागि पनि सबै एकै ठाउँमा भेला हुनुपर्ने अवस्था परेन । यसैगरी क्षेत्रीय अधिवेशनका लागि पनि सबै एकै ठाउँमा जम्मा हुनु परेन । गाउँपालिकाको अधिवेशन पनि क्रियाशील सदस्यले वडामै भोट हाल्न सक्छन् ।

नेपाली कांग्रेस मास बेस पार्टी हो, नेता तथा दाइको आशीर्वादका लागि पनि भेट्नुपर्ने हुन्छ ?

मास बेस पार्टी हो । यसमा दुई मत छैन । अहिलेको अवस्थामा धेरै भीडभाड भएर अधिवेशन गर्न नसक्ने अवस्था रहेकाले समय परिस्थितिअनुसार चल्न सक्नुपर्छ । महामारीका कारण जोगिन पनि यस्तो गर्नुपर्छ । अहिलेको अवस्थामा ठूलो भीड जम्मा गरेर महामारीलाई नै चुनौती दिनेगरी अधिवेशन गर्नुपर्छ भन्ने छैन । निश्चित प्रतिनिधिहरू छनोट गरेर र केही विधि विधानहरू पारित गर्ने भएकोले हामीले यसका विकल्पहरू सोच्न सकिन्छ । पहिलाको जस्तो सामान्य अवस्था भएको भए आज यो कुरै आउने थिएन नि । त्यसैले अहिलेको अवस्थामा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्न जरुरी छ । समयमा अधिवेशन हुनुपर्छ, अधिवेशनको विकल्प नै छैन ।

सभापतिले गरेका गलत क्रियाकलाप भन्दै तपाईंहरू ज्ञापनपत्र बुझाउनु भएको छ, हैन ?

पार्टी सभापति शेरबहादुर देउवाजीलाई हामीले पटकपटक भेटेर मौखिक तथा लिखित रूपमा जानकारी गराएका हौं । सभापतिले पछिल्लो समय गरेका कामहरू गलत छन् ती कामहरू सच्याउनुपर्छ भनेर । हालै हामी २७ जना केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेर पार्टी कार्यालयमा गएर हामीले पत्र दर्ता गरेका छौं । पार्टीका मुख्यसचिवमार्फत सभापति देउवालाई यस विषयमा जानकारी भइसकेको छ । पार्टी नेतृत्वले समायोजनका लागि यत्रो समय बितिसक्दा पनि किन तदारुकता देखाएको छैन । अहिले पनि केही जिल्लाहरूमा समायोजन नै टुंगिएको छैन । अहिले पनि क्रियाशील सदस्यता वितरणमा विधि विधानलाई मिचेर एकलौटी र हचुवाको भरमा वितरण गरिएको छ । रसुुवा जिल्लामा एक जना व्यक्तिको हातमा १२ सय क्रियाशील सदस्यता दिएर पठाइएको छ । डँडेलधुरामा त्यसैगरी ११ सय क्रियाशील सदस्यताको फाराम दिएर पठाइएको छ । अन्य जिल्लाहरूमा पनि नेपाली कांग्रेसको विधानले नै नमिल्ने गरी क्रियाशील सदस्यताको फाराम हचुवाको भरमा वितरण गरेको छ ।

क्रियाशील सदस्यता थपिनु भनेको कांग्रेसकै लागि राम्रो होइन र ?

सदस्यता थपिनु राम्रो हो । तर, विधि र प्रक्रिया पनि त मिल्नु पर्‍यो । विधि र विधान पालना गरेर मात्रै सदस्यता वितरण गर्नुपर्छ । हाम्रो भनाइ भनेको विधि र विधान पालना गरेर गरौं, स्वच्छ तरिकाले गरौं भन्ने हो । क्रियाशील सदस्यताको फारम जिल्ला सभापतिले नपाउने, वडा सभापतिले नपाउने अनि एउटा व्यक्तिले लिएर जान पाइँदैन ।

संस्थापन पक्ष विधानसम्मत चल्नुप¥यो भन्ने तपाईंहरूको मूल एजेन्डा हैन ?

हामीले बारम्बार उठाएको विषय यही हो । चाहे भ्रातृ संस्थाहरूको कुरा होस् या समायोजन सबै कुराहरू विधानसम्मत् हुनुपर्छ भन्ने नै हो । हामीले केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराएर निर्देशिका बनाएका छौं । निर्देशिका कार्यान्वयनका लागि हामीले निर्वाचन समितिलाई जिम्मा दिएका छौं । निर्देशिकाअनुसार काम गर्नुस् भन्ने हाम्रो भनाइ हो । विधानअनुसार समायोजन हुनुपर्छ । अहिले पनि समायोजनमा अनियमितता गर्न खोजिएको छ ।

तपाइंहरूले १९ गतेसम्मको अल्टिमेटम दिनुभएको छ, योबीचमा तपाईंहरूले उठाएका माग सम्बोधन नभए के गर्नुहुन्छ ?

हामीले सभापतिलाई बुझाएको पत्रमा कुन कुन ठाउँमा के के समस्या छ त्यो उल्लेख गरेका छौं । हामीले उल्लेख गरेका समस्याहरू समाधान भएनन् भने १९ गतेको केन्द्रीय कार्यसमिति बैठकसम्म समाधान नभए वैधानिक संघर्षका कार्यक्रम गर्न बाध्य हुन्छौं भनेका छौं । विरोधका कार्यक्रमबारे हामीले छलफल गर्दैछौं ।

वैधानिक विरोधको कार्यक्रम भनेको केन्द्रीय कार्यसमितिबाट तपाईंहरू बाहिरिनुहुन्छ भन्ने हो ?

हामीले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिएर बाहिरिने त भनेका छैनौं । वैधानिक संघर्षका कार्यक्रम भनेको हाम्रा माग सम्बोधन भएन भने हामीले छलफल गरेर टुंगोमा पुग्ने विषय हो ।

सुशील कोइरालाका पालामा गठन भएका विभागहरू त खारेज भएका थिए, अहिले त्यस्तो सम्भावना देख्नुहुन्छ ?

तत्कालीन सभापति सुशील कोइरालाले विभाग गठन गर्दा वरिष्ठ नेताको हैसियतमा रहेका शेरबहादुर देउवाले विरोध गरेपछि कोइरालाले दुई वर्षभित्रै गठन गरेका विभागहरू खारेज गर्नुभएको थियो । अहिलेका सभापति शेरबहादुरजीले चार वर्षको कार्यकाल सकिएर महाधिवेशन तोकिसकेपछि विभागहरू गठन गर्नुभयो । यो विधानतः गलत काम हो । अहिले त कांग्रेसलाई निर्वाचन आचारसंहिता लागू भइसकेको छ ।

महाधिवेशनको विकल्प महाधिवेशन नै हो, यो बीचमा तपाईंहरूले उठाएका माग सम्बोधन भएनन् भने तपाईंहरूले के गर्नुहुन्छ ?

महाधिवेशनको विकल्प महाधिवेशन नै हो । १४औं महाधिवेशन विगतको विधिअनुसार नै गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । महाधिवेशनलाई स्वच्छ निष्पक्ष बनाएर अघि बढोस् अधिवेशन नै हुनुपर्छ । विशेष महाधिवेशन भन्ने कुराहरू आएका छन् त्यो हुन सक्दैन ।

अहिलेको अवस्था हेर्दा त १४औं महाधिवेशन पछि पार्टी कब्जा गर्ने रणनीतिमा संस्थापन पक्ष लागेको छ तपाईंहरूको योजना के छ ?

उहाँहरूले जतिसुकै पार्टी कब्जा गर्छु भन्ने रणनीति लिए पनि अब सम्भव छैन । कब्जा त्यसै गर्न मिल्ने अवस्था पनि छैन । उहाँहरूले महाधिवेशन प्रभावित गर्नेगरी केही गतिविधिहरू त गर्नुभएको छ तर उहाँहरू यसमा सफल हुनुुहुन्न । जसरी अहिले सभापतिको गृह जिल्लामा पार्टीका कार्यकर्ताको मर्मविपरीत काम गर्नुभएको छ त्यसको जवाफ उहाँलाई त्यहीका जनताले दिन्छन् ।

१४औं महाधिवेशनपछिको कांग्रेस कस्तो हुन्छ ?

कांग्रेसभित्रको गुट १४औं, १५औं महाधिवेशनबाट सकिएला भन्ने कुरा त कल्पना नगरौं । कुनै पनि जीवन्त पार्टीमा वादविवाद र प्रतिवाद भन्ने कुरा भइनै रहन्छ । विभिन्न विचार समूहहरू हुन्छन् । एउटै मात्र विचार भएको पार्टी त कम्युनिस्ट मात्रै हुन्छ । लोकतान्त्रिक पार्टीमा यो स्वाभाविक हो ।
१४औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गर्ने होडबाजी जस्तै छ, त्यो अझ बढी

तपाईहरूको समूहमा छ, को को हुनुहुन्छ सभापतिको उम्मेदवार ?

अहिले नै व्यक्तिका विषयमा किटानी गर्न सकिने अवस्था छैन । स्वच्छ निष्पक्ष भएर अधिवेशन गरियो भने जतिजना सभापतिको उम्मेदवार भए पनि सभापति आखिरमा एक जनाले जित्ने हो । स्वच्छ निष्पक्ष निर्वाचन भएर जो व्यक्ति निर्वाचित भए पनि हामीलाई आपत्ति छैन ।

तपाईंको भूमिका कहानेर हुन्छ ?

म झन्डै १० वर्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बसेर काम गरेँ । अब सम्भव भएसम्म त्योभन्दा माथिल्ला पदहरूमा जाने लक्ष्य छ । यस विषयमा आन्तरिक छलफल बाँकी नै छ । केन्द्रतिरै बसेर काम गरेको हुनाले केन्द्रतिर नै हुन्छु । केन्द्रीय कार्यसमितिको सहमहामन्त्रीसम्म मेरो लक्ष्य छ ।