कवि बाजुराम पौडेलद्वारा लिखित ‘जूनकीरी’ बाल महाकाव्य यस विधाको अत्यन्त दुर्लभ महाकाव्यको स्थान पूर्तिका लागि प्रस्तुत भएको छ । ‘शान्ताश्री’, ‘उनी उर्मिला’, ‘जियालो’ ‘संयुक्त’ र यस ‘जूनकीरी’ महाकाव्य सहितका महाकाव्यबाट सुपरिचित भएका उनका साहित्यिक यात्रा तीसको दशकबाट सुरु भई कविता कथा समालोचना जीवनीलेखन (स्रष्टा परिचय) आत्मवृत्तान्त तथा उपन्यासका क्षेत्रमा समेत कलम चलाउँदै विविध लेखनमा तीव्र सक्रियता आएको पाइन्छ । उनको यो दसौं कृतिका रूपमा रहेको छ । उनका यस प्रकारका कृतिले उनको साहित्यिक व्यक्तित्वमा उचाइ थपेको छ र लामो समयदेखि साहित्यिक मासिक सुलेख पत्रिकाको प्रकाशक । सम्पादकसमेतको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएका उनको यस कार्यले थप व्यक्तित्वको मूल्यांकन हुँदै आएको पाइन्छ ।
उनीद्वारा रचिएका पूर्वमहाकाव्य जस्तै जूनकीरी बाल महाकाव्य पनि सामाजिक र त्यसका सेरोफेरोका भूराजनीतिले प्रभावित निम्नमध्यम र तटस्थ जीवन बाँच्न चाहने तर सो अवसर नपाएकी एउटा नारीको प्रमुख कथामा आधारित करुण कथानक भएको महाकाव्य हो । यो महाकाव्य शास्त्रीय सिद्धान्त अनुरूप मंगलाचरणबाट आरम्भ भई नौसर्गमा विभक्त छ र प्रत्येक सर्गको अन्त्यको संकेत र सर्गको आरम्भमा त्यस सर्गको कथानकका लक्षणहरू उल्लेख गर्दै १६ वटा विभिन्न छन्दको प्रयोग र सर्गकोको अन्त्यमा गणसूत्र चिनारी र संयोजनको उल्लेख पनि पाइन्छ । यसको साथै उपसंहार र लेखकीय विनीतताले महाकाव्यलाई पूर्णता दिएको छ ।
‘जूनकीरी’ बाल महाकाव्य २०५२–६३ को तथाकथित जनआन्दोलनबाट पीडित एउटा परिवारको प्रतिनिधि कथामा आधारित छ । काठमाडौंको तारेभीरदेखि सल्यानको काल्चे पुगी वैवाहिक सम्बन्ध गाँसेकी जूनकीरी र दीपकका सुखद जीवनकै प्रतिमूर्तिका रूपमा जन्मेको प्रभातको आलो शैशवावस्था र आलो प्रसव वेदनाबाट थकित सुत्केरी जूनकीरीका आँखा अगाडि आफ्नो पतिको हत्या देखेकी र आफंैलाई समेत समयसमयमा छापामार तथा सरकारी पक्षले दुःख यातना दिएको असह्य पीडा खप्दै नवजात शिशुमा समर्पित भएर उसको उज्ज्वल भविष्य सोचिरहेकी जूनकीरी त्यस परिस्थितिको विरोध र सामना गर्न असमर्थ बन्दछे । हरेक समय उसकै भविष्य निर्माणका लागि तल्लीन ऊ छोरालाई साँच्ची नै असल मानिस बनाउने सपना देख्दछे । छोरामा देखा परेको प्रतिभामा प्रभावित हुँदै गर्दा बालजिज्ञासा र छरछिमेकका कुरा सुन्दै आएको त्यस बालक अन्य बालकको सुखसुविधा देख्दा र परिवारमा बाबुआमा सबैको उपस्थिति वैभव र भव्यतामा आफ्नो छाप्रो र एक्ली आमालाई दाँजेर असन्तुष्ट बनेर आमासँग बाबुको कुरा सुन्न र जान्न चाहन्छ । ऊ धेरै दिनसम्म यस्ता कुरा उसलाई सुनाउन चाहन्न । हुर्किसकेको छोरामा देखा परेका पाकोपन बुझेर ऊ आप्mनो पतिको निर्मम हत्या र आपूmले दुःख पाएको सबै वृत्तान्त सुनाउन बाध्य बन्दछे । यस प्रकारको वर्णनबाट विद्रोही बनेको प्रभात प्रतिशोधको भुङ्ग्रोमा रापिँदै एउटा सुन्दर जीवन निर्माणको अभियानमा लाग्न लागेको थाहा पाएर उसले त्यस अभियानमा छोरालाई बिदाइ गर्दछे र ऊ आफ्नै माइती काठमाडौंको तारेभीरमा फर्किन्छे र महाकाव्यको समापन हुन्छ ।
यो महाकाव्यमा अन्य कुरालाई एकातिर पन्छाएर बालक जन्मेदेखि नै बालसुलभताका बोलीचाली लवाइखुवाइ हिँडाइडुलाइ, फकाइपुल्याइ, खेलाइ, सिकाइजस्ता कुराबाट कथानक विकसित हुन थाल्दा बाल्यजगत्लाई अत्यन्त महत्वका साथ हेरेको पाइन्छ । बालमनोविज्ञानलाई बुझेर जूनकीरी आप्mनो छोरालाई त्यस प्रतिशोधका भावनाबाट जोगाउन खोज्दाखोज्र्दै पनि असमर्थ बन्दछे । छिमेकीको घर झिलीमिली र रमाइलाका प्रसंगसँग उब्जिएका बालप्रश्नले जूनकीरी अत्यन्त मर्माहत बन्दछे । छोराको मुख हेरेर बिर्सन लागेका घटनाहरू छोराको बढ्दो उमेरसँगै पुन फर्कन थाल्दछन् । घटना दुर्घटना आलो बनेर उसलाई पनि प्रतिशोधका ज्वारभाटाले अत्यन्त पिरोल्दछन् ।
बालमनोविज्ञानलाई बुझेर लुकाउन परेका ती घटना उसले छोरालाई नसुनाइ सुखै पाउँदिन । बालहटलाई उसले केही हदसम्म साम्य पारे पनि छोराले आपूmलाई सक्षम भएको विश्वस्त पारेपछि छोरालाई घटना विवरण सुनाइ आपूm पनि अत्यन्त आक्रोशित बन्दछे– जूनकीरी ।
माथि भनिए जस्तै कथित जनयुद्धबाट हजारौं मरेका र लाखौं मरेसमान बनेका मानिसहरू र तिनका विवशताका परिदृश्य बोकेकी जूनकीरी आफैंमा एउटा आन्दोलन र विद्रोहकी प्रतिनिधि पात्र हो । संस्कारविहीन राजनीति र त्यस्ता दलको झन्डा नभिर्दैमा बाँच्न नदिने छापामार र आफ्नो स्वतन्त्रतामा जीवनयापन गर्न बाधा पु¥याउने सरकारी नीतिको सत्तोसराप गरेर नअघाउने जूनकीरीमा आफ्नो लोग्नेको हत्या अस्वीकार गर्ने सरकारी सेना र छापामार दुवै उसका हितकारी बन्दैनन् । न उजुर लाग्छ न त न्याय मिल्छ । यस्ता विषम परिस्थिति र सीधाबाटो हिँड्नेलेलाई झुटो मुद्दा र निरीह तथा अवला नारीमाथि जघन्य अपराध गर्ने अपराधीलाई संरक्षण गर्ने राजनीतिप्रति यस जूनकीरी महाकाव्यले कडा प्रहार गरेको पाइन्छ ।
यस जूनकीरी महाकाव्यले संक्षिप्ततामा पूर्णता दिएको छ । सरल र बोधगम्य भाषा शैली चल्तीका छन्दहरूको सुन्दर अभिव्यक्ति प्रसाद गुणको बाहुल्य लक्ष्यण र व्यञ्जनाको उपस्थिति वीर बीभत्स रौद्रका साथै करुणरस प्रधान तथा अलङ्कारयुक्त यस महाकाव्यको आफ्नै विशेषता पाइन्छ । जूनकीरीलाई प्रकृतिको एउटा सुन्दर रूपमा चित्रण गरेर तथा यसको आरम्भको सर्गमा प्रकृति र मानवजीवनको तादात्म्यतालाई प्रखर भावनात्मक स्वरूप दिएर महाकाव्यकारले आफ्नो आभ्यन्तरिक काव्यक्षमताको पुष्टि गरेका छन् । देश र जनताका लागि भोलि उदाउने झलमल बिहानीको आशावादी स्वर गुञ्जाउन सफल महाकाव्यकारका निरन्तर सफलताको सिर्जना यो महाकाव्य पठनीय र संग्रहणीय छ ।
प्रतिक्रिया