देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिञ्जो आवे र नेपालका प्रधानमन्त्रीे

देशान्तर

गुरुराज घिमिरे

राज्य, परिवार र स्वयं व्यक्तिको जीवन र जगत्सँग गहिरो सम्बन्ध राख्छ राजनीतिले । धर्महरूले पनि मार्गनिर्देश गर्दछन् मानवीय जीवनलाई र यो महत्वपूर्ण छ ।

विश्वविख्यात सनातन हिन्दू धर्म ग्रन्थ भगवद्गीताले सामान्य मनुष्य र अवतारका बीचको भेद औंल्याउँदै भनेको छ, ब्रह्मले आफ्नो अलौकिक शक्तिको माध्यमबाट मानव शरीरको रूपमा यस धरामा जन्म लिन्छ । जन्म र मरणको स्वामी भएर पनि हरेक युगमा सत्य र न्यायको जगेर्ना गर्न एवं अधर्मी दुष्टहरूको नाश गर्न संसारका निम्ति मानव शरीरमा अवतरित हुन्छ । यसैलाई अवतार मानिन्छ ।

भौतिक रूपमा सामान्य मानिस र अवतारमा भेद देखिँदैन तर वास्तवमा गहिरो भेद हुन्छ । सामान्य मानिस मायाको अधिनमा रही काम, क्रोध, लोभ, मोहको बाहुपासमा कैद भएर सम्पूर्ण जीवन व्यतीत गर्दछ भने अवतार भने मायाको पर्खाल तोडेर सम्पूर्ण मानवताको कल्याणका निमित्त समर्पित रहन्छ र आफ्नो अवतरणको औचित्य सिद्ध गर्दछ । थोरै अन्तस्करण खुलेको व्यक्ति पनि सामान्य व्यक्तिभन्दा माथि हुन्छ ।

माथिको प्रसंग किन उद्धृत गरिएको हो भने भर्खरै मात्र जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिए । उनी जापानमा चार पटक र लामो समय प्रधानमन्त्री हुने नेतामा पर्दछन् । लिवरल डेमोक्रेटिक पार्टीमा सन् २०१२ देखि अध्यक्ष रहेका आबेले राजीनामा दिनु अघिसम्म यस कुराको कसैलाई सुइँकोसम्म थिएन । महत्वपूर्ण कुरा त के छ भने उनी अस्वस्थ रहेकोले प्रधानमन्त्री पदबाट राजीनामा दिँदैछन् भन्ने कुनै प्रचार वा पूर्व सूचनासमेत थिएन । जापानको क्याबिनेट मुख्य सचिवबाट सन् २००६ मा प्रधानमन्त्री बनेका आबेको राजीनामाले विश्व राजनीतिलाई नै एउटा गहन शिक्षा दिएको छ । त्यो के भने आफूले आत्मविश्वासपूर्वक पद अनुरूप उपयुक्त, सही र राम्रो काम गर्न सक्दिनँ भन्ने महसुस गर्नेबित्तिकै सार्वजनिक पद धारण गरेका व्यक्तिले इस्तिफा दिँदा रहेछन् । सायद यसैलाई लोकतन्त्रको संस्थागत विकास भइसकेको मुलुकमा विद्यमान त्यहाँको उच्च राजनीतिक संस्कार र नैतिकता भनिन्छ । साथै असल राजनीतिको निष्ठापूर्ण अभ्यास मानिन्छ ।

राजनीतिमा लाग्नु र सामान्य भूमिका निर्वाह गर्नु कुनै पनि व्यक्तिले आफ्नो घर परिवार चलाउनुभन्दा अलिकति बढी मात्र हो । तर समाजले भोगेका जातीय, आर्थिक, धार्मिक, साम्प्रदायिकजस्ता बहुआयामिक समस्याहरूलाई राजनीतिको माध्यमबाट दीर्घकालीन समाधान दिन सक्नु, स्वतन्त्रताको प्राप्ति र दासता एवं निरंकुशताबाट मुक्तिजस्ता भूमिका औसत काम होइन । यो काम जोसुकैले गर्न पनि सक्दैन । यस्तो काम गर्न सक्ने मानिस सामान्य मानिस पनि होइन । यस्तै मानिसलाई आम मानिसले आफ्नो अगुवा बनाउँछन्, नेता स्विकार्छन् । यसरी स्विकारिएका नेताहरू समाजका लागि उदाहरणीय हुन्छन् । उनीहरूले गल्ती गर्दैनन् भन्ने जनविश्वास हुन्छ ।

यिनीहरूको अन्तस्करण खुलेको हुन्छ । जीवनको तात्पर्य बुझेका हुन्छन् । आफ्नो पिरमर्कालाई गौण ठान्छन् र समाजको संकटका मोचक बन्दछन् । अझ गरिब र पछौटे समाजमा त उनीहरूको भूमिका अग्रणी र निर्णायक हुन्छ । यस्तो समाजमा त उनीहरू अर्थात् राजनीतिज्ञहरूले जिउँदो भगवान्को दर्जासमेत पाउँछन् । आफ्नो सुखलाई तिलाञ्जली दिएर आम मानिसको जीवन सुधार्न लाग्नु र दिनरात त्यसैमा समर्पित रहनु यिनीहरूको आदर्श, संकल्प, दिनचर्या र पहिचान बन्छ ।

सिन्जो आबे हुन् या अरबिन्द केजरीवाल वा केपी शर्मा ओली या शेरबहादुर देउवा, सबैको केन्द्रबिन्दु नागरिक हुनुपर्छ । सिन्जोले आफू अब प्रधानमन्त्रीका रूपमा काम गर्न असमर्थ रहेको स्विकारोक्तिसहित राजीनामा दिनु राजनीतिक इमानको दृष्टान्त हो । केजरीवाल दिल्लीमा मरिमेटेर काम गरिरहेका छन् । केन्द्र सरकारको असहयोगको बाबजुद दिल्लीका दुई करोड जनतालाई खुसी पार्ने भरमग्दुर कोसिस गरिरहेका छन् । तर नेपालका प्रधानमन्त्री के गर्दैछन् त ? प्रमुख प्रतिपक्षी नेताको भूमिका कस्तो छ ? आज गम्भीर प्रश्न उठेको छ । पुगनपुग तीन करोड जनताको के हविगत छ ? गरिबहरू कसरी बाँचेका छन्, प्रधानमन्त्रीलाई थाहा छ ? पाकिस्तानी प्रधानमन्त्री इमरान खानको वक्तव्य सुनेका छन् कि छैनन् हाम्रा प्रधानमन्त्रीले ? लकडाउन र निषेधाज्ञाका कारण जनजीवन अस्तव्यस्त छ । गरिबका घरको चुलो निभेको छ । धनी देशहरूले जस्तो हामीले गरिब नेपालीहरूलाई राहत दिन सकेका छैनौं र सक्दैनौं पनि । तर श्रम गरिखाने गरिब नेपालीहरूलाई सरकारले भोकभोकै मर्न छाडिदिएको छ । मृत्युपछि कोरानाको अवगाल जोडिदिए पुगिहाल्छ ।

उनीहरूका लागि न्यूनतम र यथोचित राहतसमेत उपलब्ध गराउने तदारुकता देखाएको छैन । यो राज्यको संवेदनहीनताको पराकाष्ठा हो । विपक्षी दलसँग रेडिमेड वक्तब्य छँदै छ ।

साँच्चै भन्ने हो भने यतिबेला नेपालीहरू आफ्ना प्रधानमन्त्रीको रवैया देखेर अवाक् छन् । मजदुरहरूलाई राहत छैन, किसानहरूले मल बिउ पाएका छैनन्, साना व्यापारी र व्यवसायीहरूको समेत चुलो बन्द हुने क्रममा छ, लकडाउन र सटडाउनलगायतका कारण जनजीवन अस्तव्यस्त छ, विभिन्न किसिमका रोगले थलिएका व्यक्तिहरू सामान्य उपचारसमेत नपाएर मृत्युको सिकार हुन थालेका छन् । विदेशबाट फर्किएका नेपालीहरूको गरिखाने बाटो छैन, यसकै कारण परिवारमा तनाव र बिग्रह बढ्दै गएको छ । आत्महत्याको अनुपात ह्वात्तै बढेको छ ।

ठूला उद्योगहरूमा मन्दी छ । शिक्षा क्षेत्र तहसनहस छ । भविष्यका कर्णधार भनिएका विद्यार्थीहरूको अवस्था तनावग्रस्त छ । यस्तो समयमा राज्य के गर्दैछ, सरकारले जनतालाई गर्ने व्यवहार कस्तो छ र स्वयं प्रधानमन्त्री के गर्दैछन् । यसै विषयमा संक्षिप्त चर्चा गरौं ।
हाम्रा प्रधानमन्त्री पूर्ण रूपमा स्वस्थ छैनन् भन्ने कुरा जगजाहेर छ र यो कुरा स्वयं प्रधानमन्त्रीलाई सबैभन्दा राम्रो अवगत छ । विकसित देशको प्रधानमन्त्रीका चुनौती र गरिब देशका प्रधानमन्त्रीका चुनौती समान हुँदैनन् । धनी देशले आफ्नो समृद्धिलाई जोगाउन सके पुग्छ तर गरिब देशले त समृद्धि हासिल गर्न दिन रात मेहनत गर्न बाँकी नै हुन्छ । गरिब देशका लागि समयको असाध्यै महत्व हुन्छ र हुनु पनि पर्छ । धनी देशले भन्दा बढी मेहनत गर्नुपर्ने आवश्यकता हुन्छ । बढी मेहनत गर्नुको अर्थ प्रधानमन्त्री स्वयंले बौद्धिक र शारीरिक श्रमसमेत गर्नुपर्छ । शारीरिक श्रम भन्नाले निकै दौडधुप गर्नुपर्छ । स–सानो कुरामा स्वयंले ध्यान पु¥याउनुपर्छ र कम्तीमा आफू मितव्ययी भएर सरकारलाई समेत मितव्ययिता सिकाउनु पर्छ । बिहान ४ बजे ब्युँझेर १० बजेसम्म खट्नु पर्छ । मन्त्रालयहरूको नियमित निरीक्षण, छड्के जाँच र कामको अनुगमन गर्नुपर्छ । राज्यका सम्पूर्ण अंग प्रत्यंगहरूको अनुगमन गरिरहनु पर्छ । समयसमयमा देश दौडाहा गर्नु पर्दछ र पिरमर्कामा परेका नागरिकहरूको दुःख कष्टलाई नजिकैबाट नियाल्नु पर्दछ ।

बेलाबेलामा विश्वविद्यालय तथा अन्य शिक्षण संस्थाहरूको भ्रमण गरेर शिक्षकहरूलाई प्रोत्साहन गर्नुपर्छ र विद्यार्थीलाई प्रेरित गर्नु पर्दछ । कहिलेकाहीँ नगरका व्यस्त चोकहरूमा ओर्लिएर नागरिक जीवनलाई अवलोकन गर्नु पर्दछ । सधैंभरि उच्च पदस्थ कर्मचारी मात्र होइन, कहिलेकाहीँ तल्लो तहका कर्मचारीलाई पनि भेटेर सरकारी कार्यालयहरूको यथार्थ थाहा पाउनु पर्दछ । विमानस्थल र बसपार्कको भ्रमण गरेर त्यहाँको वस्तुस्थिति बुझ्नु पर्दछ । कहिलेकाहीँ भन्सार र कर अड्डाहरू र कहिलेकाहीँ अस्पताल पुग्नु पर्दछ । नेपालजस्ता गरिब देशको प्रधानमन्त्रीले देश चलाउँदा एउटा न्यून आय भएको व्यक्तिले घर चलाउँदा होस पु¥याए जस्तै सचेत हुनुपर्छ । विकास निर्माण कार्यको अवलोकन र शान्ति सुरक्षाको मामलामा गम्भीर र संवेदनशील हुनुपर्छ । आफ्नो देशको सिमानाको निरीक्षण गरिरहनु पर्छ । देशको सीमा भनेको शरीरको अंग जस्तै हो । यसका अतिरिक्त गरिब देशको प्रधानमन्त्री ठालु र अहंकारी पटक्कै हुनुहँुदैन । धर्म ग्रन्थ निकै पढ्नु भएका हाम्रा प्रधानमन्त्रीमा सरलता र विनम्रता पटक्कै नपाइनु उदेकलाग्दो कुरा छ । प्रतिपक्षी नेताले आफ्नो पार्टीभित्र प्रदर्शन गरेको अहंकारसमेत निकै ऐतिहासिक छ ।

के हाम्रा प्रधानमन्त्री यी सबै कामहरू गर्छन् त ? वा प्रधानमन्त्रीको स्वास्थ्यले यति काम गर्ने अनुमति दिन्छ ? हामी सबैलाई थाहा छ, नेपालका प्रधानमन्त्री मुस्किलले कहिलेकाहीँ बालुवाटारबाट सिंहदरबार जान्छन् अन्यथा निजी निवासमा टहलिई रहन्छन् । त्यहाँ भित्रका रुटिन कार्यहरूमा सरिक हुन्छन् । यदाकदा टीभी र रेडियोमा बोल्छन् र जनतालाई भरमार उपदेश दिन्छन् । र छानिएका मान्छेलाई भेट्छन् । भेट्न आउने रोज्जा मान्छेहरूलाई पनि पढाउँछन् ।

यसका अलावा थप कार्यबोझ प्रधानमन्त्रीको बुताभन्दा बाहिर छ । यसको मतलव नेपालको अवस्था र आवश्यकताअनुसार प्रधानमन्त्री सक्रिय हुन सक्दैनन् । यो कुरा उनलाई थाहा छ कि छैन त ? राम्रोसँग थाहा छ । उनलाई मात्र होइन, उनको पार्टीलाई पनि राम्रोसँग थाहा छ । थाहा भएर पनि न प्रधानमन्त्री बदलिन्छन्, दिनचर्या र कार्यसूची बदलिने त चान्स नै छैन । किनभने उनी औसत मान्छे हुन् ।

सामान्यजस्तो लाग्ने यी कुराहरूको चर्चा किन गरिएको हो भने त्यसो भए हाम्रा प्रधानमन्त्री पद त्याग किन गर्दैनन् त ? र जापानी प्रधानमन्त्रीले किन पद त्यागे ? जापानलाई त मेहनती जापानीहरूले उहिल्यै बनाइसकेका हुन् । त्यहाँ जनताको न्यूनतम र आधारभूत आवश्यकता पूरा गर्न दिनरात मेहनत गर्नु त छैन । आफ्नो उपचार गराउँदै चुपचाप प्रधानमन्त्री भइराख्दा के फरक पर्दथ्यो ।

यसको एउटै कारण हो, सिन्जो आबे अन्तस्करण खुलेका, जीवनको तात्पर्य बुझेका र राष्ट्रिय दायित्वबोध भएका असल राजनीतिज्ञ हुन् । उनी औसत मान्छे होइनन् । नेपालका प्रधानमन्त्री मात्र होइन, अपवादलाई छाडेर अधिकांश राजनीतिज्ञहरू औसत मान्छे मात्रै हुन् । आफ्नो लामो जीवनलाई राजनीतिमा होम्नुबाहेक दूरदृष्टि, कार्यसूची र अठोट नभएका सामान्य मान्छे मात्र हुन् ।

उनीहरूको जीवनकालमा जनताको जीवनमा तात्विक फेरबदल नहुने हो भने गरिएको भनिएको राजनीतिक संघर्षको कुनै औचित्य रहँदैन । उनीहरू विभिन्न कालक्रमका घटनाहरूको शृंखलाबद्ध परिणामले नेता बनेछन् र दुःख पनि झेल्नेछन् । तर परिणाम खै त ? यूएई, जापान, सिंगापुर, मलेसियाले २० वर्षमा गरेको उन्नति नेपालले ३० वर्षमा समेत गर्न सकेन किन ? निःसंकोच रूपमा भन्नुपर्छ, यसमा हाम्रो नेतृत्वको चेतना जिम्मेवार छ । र देशले आजको दुर्दशा झेल्नु प¥यो । विगतमा भएका संघर्ष सबै निरर्थक भए । कम्युनिस्टहरू त सिद्धान्ततः सपनाका व्यापारी नै हुन्, उनीहरूका लागि राज्य उपयोगको साधन मात्र हो तर प्रजातन्त्रवादीहरू पनि बिग्रिए, धर्म छाडे । तसर्थ हामीले प्रष्ट थाहा पाउनुपर्छ, वर्तमान रवैयाले नेपालको अँध्यारो भविष्यलाई स्पष्ट रूपमा इंगित गर्दछ ।

आफूलाई झन्डैझन्डै अवतार ठान्ने हाम्रा प्रधानमन्त्री र आफूलाई जनताको सेवक ठान्ने जापानी प्रधानमन्त्रीका बीच कुनै तुलना वा तादात्म्यता देखिँदैन । दिनरात अहंकारको वर्षा गर्ने नेपालका प्रधानमन्त्रीको राजनीतिक चेतना भेनेजुएलाको निकोलस मडुरो र लाओसका राष्ट्रपति बाउनहान भोराचिथको सरह हुनु नेपालीहरूको दुर्भाग्य हो । यस्तो दुर्भाग्य कतिञ्जेल झेल्ने ?