आधुनिक विश्वमा आफ्ना अलग विचारधारा, कार्यशैली र असाधारण कर्मले ठूला राजनीतिक परिवर्तनको दिशा बदल्न सक्ने चमत्कारिक व्यक्तित्व– महात्मा गान्धीका बारेमा प्रकाश पार्ने अवसर प्रदान गरेर धन्य तुल्याउनु भएकोमा आयोजकहरूलाई धन्यवाद दिन पनि संकोच लाग्छ, किनभने त्यसका निम्ति आफूलाई सही र योग्य पात्र पटक्कै ठान्दिनँ । तैपनि यसलाई चुनौती र अवसर दुवै मानेर आफ्ना अपरिपक्व तर निजी धारणा र दृष्टिकोण प्रस्तुत गर्ने साहस गरेको छु । महात्मा गान्धीजस्ता विराट तथा बहुआयामिक व्यक्तित्वका विभिन्न पक्षमाथि आ–आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका विशिष्ट व्यक्तित्वहरूले प्रकाश पार्नु हुने नै छ । म ती क्षेत्रमा प्रवेश गर्न चाहन्न ।
उहाँकै प्रेरणाबाट सत्य र अहिंसाको अनुसरण गरेर नेपालमा राजाले ३० वर्षअघि अपहरण गरेको प्रजातन्त्रको पुनस्र्थापना र त्यसपछि प्रधानमन्त्रीको पदसमेत त्याग्ने गणेशमान सिंह, जो सौभाग्यले मेरा श्रद्धेय पिताजी हुनुहुन्छ, उहाँले कसरी गान्धीजीबाट त्यस्तो अन्तःप्रेरणा प्राप्त गर्नु भएको थियो र कति प्रतिकूल परिस्थितिमा पनि उहाँले अहिंसक तथा शान्तिपूर्ण संघर्षको संयोजन र नेतृत्व गरेर आन्दोलनलाई गन्तव्यमा पु¥याई छाड्नु भयो, त्यसमाथि संक्षिप्त प्रकाश पार्ने अनुमति चाहन्छु ।
नेपालसँगको गान्धीजीको प्रत्यक्ष सम्बन्ध र सहकार्य तुल्सीमेहर श्रेष्ठका माध्यमबाट स्थापित भएको थियो । उनैका माध्यमबाट गान्धीजीलाई तत्कालीन नेपाल र नेपालीको अवस्था र व्यवस्थाका बारेमा विस्तृत जानकारी मिलेको थियो ।
नेपालमा सामाजिक जागरणको आन्दोलनका अग्रणी तुल्सीमेहर श्रेष्ठ गान्धीका सच्चा अनुयायी थिए, जसले सावरमतिको सत्याग्रह आश्रममा चार वर्षसम्म गान्धीजीको सानिध्यमा रहेर सेवा गर्ने दुर्लभ अवसर प्राप्त गरेका थिए । तुल्सीमेहरलाई स्वामी दयानन्द सरस्वतीको “सत्यार्थप्रकाश” को अध्ययन गरेको र मद्यपान तथा मांसाहारको विरोधमा अभियान चलाएको आरोपमा राणा सरकारले सन् १९२१ मा १२ वर्ष कैदको सजाय तोकेको थियो । श्री ३ महाराज चन्द्रशमशेरसँग विशेष अनुरोध गरेर त्यो कैदलाई उनले १२ वर्षको देश निकालामा परिणत गराएका थिए । त्यसपछि उनी सावरमतिको प्रसिद्ध सत्याग्रह आश्रममा पुगेका थिए ।
गान्धीजीको संस्मरणमा तुल्सीमेहरजीले एक ठाउँमा लेखेका छन्– भारतको स्वतन्त्रता आन्दोलनका नेताहरू गोर्खाली सैनिकबाट डराउँथे, जसले सन् १८५७ को सिपाही विद्रोह दबाउन अंग्रेस सरकारलाई सघाएका थिए । त्यस्तो गुनासो व्यक्त गर्नेहरूमा अली बन्धु भनेर चिनिने शौकत अली र मुहम्मद अली प्रमुख थिए, उनीहरूको आशंका थियो, गोर्खा पल्टनले भविष्यमा पनि साथ दिँदैन कि भन्ने । त्यससम्बन्धी उनीहरूको मनोवैज्ञानिक भय हटाउन गान्धीजीले भनेका थिए, हामी गोरा अंग्रेजसँग गराउन छाडेका छौं भने गहुँगोरा गोर्खासित किन डराउनु प¥यो । उनीहरू पनि हाम्रै भाइबन्धु हुन् ! अनि, किन डराउने ? भविष्यमा उनीहरूले पनि आफ्ना बन्धुबान्धवलाई अवश्य सघाउने छन्, त्यसमा धन्दा मान्नु पर्दैन । त्यस्तो थियो, नेपाल र नेपालीप्रति उहाँको आस्था र विश्वास ।
त्यस्तै एक अर्को उदाहरण प्रस्तुत गर्न चाहन्छु । यो सन् १९४७ को घटना हो । यो त्यसबेलाको कथा हो, जुन बेला मेरा पिताजीले गान्धीजीलाई पहिलो पटक भेट गर्नु भएको थियो । त्यो भेटको उद्देश्य थियो, क्यान्सर रोगबाट पीडित बीपी कोइरालालाई काठमाडौंको जेलबाट छुटाउन गान्धीजीको सहयोग जुटाउनु । उहाँलाई जेलबाट छुटाएर बम्बईको टाटा मेमोरियल क्यान्सर अस्पताल पुर्याउन आवश्यक थियो । राणा सरकार कुनै हालतमा रिहा गर्न मानिरहेको थिएन । त्यस्तो अवस्थामा उहाँलाई जेलबाट रिहा गराउन गान्धीजीको नैतिक आग्रहको पत्र, एक मात्र रामबाण सावित हुन सक्थ्यो । त्यही निष्कर्षका आधारमा राणा प्रधानमन्त्री पद्मशमशेरलाई पत्र लेख्न आग्रह गर्ने नेपाली कांग्रेसको निर्णयअनुसार गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई त्यत्तिबेला कलकत्ताको विडला धर्मशालामा रहनु भएका गान्धीजीलाई भेट्न जानु भयो ।
भर्खरै दंगाग्रस्त नोवाखालीको भ्रमणबाट फर्कनु भएका गान्धीजीलाई भेट्न दुनियाँभरका नेता, पत्रकार, बुद्धिजीवी, स्थानीय जनताको लामो लाइन लागेको थियो । भेटका निम्ति पहिले नै समय नलिएका मानिसले सर्वसाधारणको लाइनमा खडा भएर भेट्नुपथ्र्याे । तर डा.राममनोहर लोहियाले हामी नेपालका तर्फबाट भेट्न आउँदैछौं भनेर हाम्रो संक्षिप्त परिचय दिएर समय मिलाई दिनु भएकाले हामीले धेरै कुर्नु परेन । आधा घण्टाको प्रतीक्षापछि भेट भयो । उहाँले हामीप्रति बडो आत्मीयता देखाउनु भयो र पहिले नेपालको अवस्था सोध्नुभयो । नेपालको परिस्थितिको छोटो चर्चापछि बीपी कोइरालाको स्वास्थ्यका बारेमा कुरा भयो । क्यान्सर रोगबाट पीडित कोइरालालाई बचाउन बापुको पत्रबाहेक अरूले नसक्ने भएकाले त्यही अनुरोध गर्न आएका हौं भनेपछि उहाँ एक क्षण सोचमग्न हुनुभयो र भन्नुभयो– हुन्छ, म एउटा पत्र लेखिराख्छु, तपाईंहरू भोलि फेरि एकपल्ट आउनुहोस् ।
बिदा लिएर उठेपछि गान्धीजीले फेरि सोध्नुभयो– अँ, साँच्चि मेरो पत्र लिएर नेपाल को जान्छ नि ?
बापुको पत्र लिएर म जान्छु । किसुनजीले भन्नुभयो ।
गान्धीजीले अर्को प्रश्न गर्नुभयो– आपका नाम क्या है ?
कृष्णप्रसाद भट्टराई ।
त्यसपछि गान्धीजीले आफ्ना सचिवलाई अह्राउनुभयो– प्यारेलाल ! नेपाल में एक तार अभी भेज दो, कृष्णप्रसाद भट्टराई मेरा एक पत्र लेकर आ रहे हैं ।
हामी भोलि फेरि आउँछौं भनेर गान्धीजीसँग बिदा माग्यौं । उहाँले पनि भोलि अवश्य आउनु होला भनेर बिदा गर्नु भयो ।
भोलिपल्ट जब हामीले उहाँलाई भेट्यौं, तब उहाँको महानताको अर्को पक्षको दर्शन मिल्यो । अत्यधिक व्यस्तताका कारणले उहाँले हिजो लेखिराख्छु भनेको पत्र लेख्न भ्याउनु भएको रहेनछ । त्यसैले हामीलाई देख्नेबित्तिकै शरमले पानीपानी भएकोजस्तो देखिनु भयो र दुवै हात जोरेर भन्नुभयो– मैले आफ्नो प्रतिज्ञा पूरा गर्न सकिनँ । म ऐले नै लेखिदिन्छु, एक क्षण तपाईंहरू पर्खनोस् ।
उहाँले कागज र कलम ठीक पारेको देखेपछि गणेशमानजीले मौका छोपेर भन्नुभयो – बापुले अब पत्र लेख्ने दुःख गर्नु पर्दैन । हिजो तपाईंको तार काठमाडौं पुग्नेबित्तिकै सरकारले कोइरालाजीलाई रिहा गरिसक्यो । तपाईंको प्रयासले कोइरालाजीलाई नयाँ जीवन मिल्यो । बापुप्रति हामी अनुगृहित छौं । नेपाली जनताका तर्फबाट हामी आभार प्रकट गर्दछौं ।
सुनेर गान्धीजी अत्यन्त प्रशन्न हुनुभयो । उहाँको मनको खुसी छचल्किएर चेहरामा प्रकट हुन पुगेको थियो ।
उहाँले सोध्नुभयो– अच्छा, वो छुट गए ? तार मिलते ही उनको छोड दिया ? सुनकर बडी खुसी हुई । मैं बहुत खुस हुँ ।
एक क्षणपछि फेरि केही सम्झेजस्तो गरेर उहाँले भन्नुभयो– उनको कह दिजिएगा, अपने स्वास्थ्यका अच्छा खयाल रखें । और आप भी, क्या नाम कताया था लोहिया नें, मि.सिंह ? हाँ, याद आया, गणेशमान सिंह । आप नें अपने देश और जनताके लिए बहुत तकलिफें उठाई हैं । आपका मेहनत जाया नही जायगा । आपको एक दिन जरुर कामयावी मिलेगी । मेरा आशीर्वाद है, आप सबको । उहाँको आत्मकथा– मेरो कथाका पानाहरूमा त्यसको सविस्तार वर्णन गरिएको छ ।
मेरा पिताजीले हामीलाई बरोबर भन्ने गर्नुहुन्थ्यो– मैले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर प्रजातन्त्रको पुनस्र्थापना भएको र प्रधानमन्त्रीको पद त्याग गरेको घटनालाई कतिपय बुद्धिजीवीले गान्धीजीको बराबरी गरेको भनेर टिप्पणी गरेका छन्, त्यो पटक्कै होइन । गान्धीजीको तुलना कसैसँग हुन सक्तैन । उहाँले हामीलाई त्यसबेला आशीर्वाद दिएर जसरी अघि बढ्न प्रेरित र उत्साहित तुल्याउनु भएको थियो, सत्य र अहिंसाको नेपालमा हाम्रो सन्धान, त्यही ऋण तिर्ने सानो प्रयास मात्र हो । यो विश्वमा गान्धीजीको तुलना गर्न सकिने एकै मात्र व्यक्ति हुनुहुन्छ, खुद मोहनदास कमरमचन्द गान्धी । अरु कोही छैनन् ।
त्यस्तो थियो, गान्धी र गणेशमान सिंहको सम्बन्ध र पारस्परिक सम्मान । मैले उहाँहरूका सम्पर्क र सम्बन्धमा त्यसका अतिरिक्त थप विषयमा बोल्न खोजें भने आफ्नो अल्प ज्ञानको प्रदर्शन गर्नु मात्र सावित हुनेछ । अन्त्यमा नेपाल र भारतका महान् विभूतिहरूको त्यस्तो आत्मीय सम्बन्धको प्रकाशमा नेपाल र भारतका बीचको सम्बन्धको दिशा र विकास, आपसी विश्वास र समझदारीका आधारमा खोज्ने सद्विवेक सञ्चारित हुने अपेक्षा राख्दै त्यसका निम्ति सबैले आ–आफ्नो स्थानबाट योगदान पु¥याउनु नै यथार्थमा महात्मा गान्धीका प्रतिको सच्चा सम्मान हुनेछ । धन्यवाद ।
(महात्मा गान्धीको १५१औं जन्मजयन्तीका अवसरमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले १५ असोज २०७७ मा आयोजना गरेको “गान्धी विचारको वैश्विक आयाम” शीर्षकको वेवनारलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भारतीय राजदूत विनयमोहन क्वात्रा, नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले,.जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र नागरिक समाजका डा.सुन्दरमणि दीक्षितले सम्बोधन गरेका थिए । यो सिंहको सम्बोधनको ट्रान्सक्रिप्ट हो ।)
प्रतिक्रिया