इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित दर्ता गरेको छ । गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको हो ।
कोलकत्ताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
राजस्थानका टम करनले ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै जोस बट्लरले २१ रन जोड्दा राहुल टेवाटियाले १४ रन बनाए ।
राजस्थानलाई सस्तैमा रोक्न कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २–२ विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।
कोलकत्ताका लागि शुबमन गिलले ४७ रन जोड्दा आन्द्रे रसेलले २४ रन जोडे । नितेश रानाले २२ तथा सुनिल नारिनले १५ रन बनाए । इयान मोर्गनले अविजित रहदै ३४ रन जोड्दा पाट कुमिन्सले १२ रन बनाएर आउट भए ।
राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस्तै अंकित राजपुत, टम करन, जयदेव उनाकड र राहुल टेवाटियाले एक एक विकेट लिए ।
जितसँगै कोलकत्ताले ३ खेलबाट ४ अंक जोडेको छ । कोलकत्ता लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।
प्रतिक्रिया