उनी लाइनको पहिलो नम्बरमा छन् । उभिइरहन कठिन हुने भएकाले चाउचाउको कार्टुनलाई इँटाले अँठ्याएर छेउको सिँढीमा टुसुक्क बसिरहँदा ध्यान घरीघरी भाँडिन्छ, आँखा आफूले ओगटेको त्यही ठाउँमा पुग्छ । अघिल्ला दुई रात लाइन बसेर पनि पालो नपाएपछि राजेश साह शनिबार साँझ ६ बजे नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए ।
आफू एक नम्बरमै भएकाले आइतबार त पक्कै पीसीआर गर्न पाइनेमा उनी ढुक्क थिए तर आफ्नो पालो कसैले मिचिदेला कि भनेर सशंकित पनि थिए । त्यही कारण उनका आँखा बारम्बार आफैंले राखेको इँटामाथि दौडिन्थे ।
सर्लाही बलरा नगरपालिका–१ का राजेश जन्मिँदै उनको घर ऐलानी जग्गामा थियो । जन्मजात ‘सुकुम्बासी’ भएकाले उनले देख्ने सपनाको घेरा पनि फराकिलो छैन । बा–आमाले पेटका लागि संघर्ष गरेको देखेरै हुर्किएका राजेशले १२ वर्षको उमेरदेखि नै साहुको खेत कमाउन जाने र दिनभरि काम गरेबापत जे दिन्छन् त्यही ल्याएर छाक टार्ने गर्थे । त्यसैले ३७ वर्षीय उनी सन्तोकी देखिन्छन्, उनलाई आफ्नै नियतिबाहेक अरू कसैसँग गुनासो छैन ।
उसो त साहुले बारम्बार आएर उनीहरूको घर भएको जग्गा आफ्नो हो भनेर नधम्क्याएका पनि होइनन् । जाने अर्को कुनै ठाउँ नभएकाले राजेशको परिवार कहिले साहुसँग त कहिले राज्यसँग पौंठेजोरी खेल्दै त्यहीं ओत लागिरहेको छ । तर घामपानी छेकेर मात्रै जिन्दगी नचल्दो रै’छ । त्यसैले उनले जिन्दगीका १२ वर्ष भारतको पञ्जाबमा बिताए, खेतबारीमा काम गरे । अलि अलि भएको कमाइ घरमा खान ठिक्क मात्रै हुन्थ्यो, कहिले त पुग्दैनथ्यो पनि । जेठो छोरा सोहन बिरामी पर्न थालेपछि उनलाई भारतमा बस्नै मन लागेन, उनी यतै दुःख गर्छु, छोराको पनि उपचार गराउँछु भनेर फर्किए । तर दुःख गर्नका लागि आफ्नै जग्गा छैन, गाउँमा काम पाइएन, छोरा झन्झन् शिथिल हुँदै गए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया