देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कविता : सिमानाको ढुंगा

देशान्तर

हरिविक्रम के.सी.

सिमानाको यौटा ढुंगा
देश बोकी उठेको छ
त्यही ढुंगा ढल्यो भन्दा
देश चोरी भएको छ
।।१।।

देश चोर्ने ठूलो चोर
बसेको छ कतातिर
गुहार मागेर हेर
साथीभाइ सबैसँग
।।२।।

जनताको जिन्दगानी
सिमानामा अडेको छ
दायाँ ढले ढल्यो खम्बा
बायाँ ढले नि नास भो
।।३।।

फाटो साटो बिर्सिएर
राष्ट्रको मुख हेर्नुछ
“भाइ फुटे गँवार लुटे”
भन्ने यस्तो उखान छ
।।४।।

तील दाना यता पर्ला
तील दाना उता परोस्
मनमा प्रेम राखेर
भाइ भाइ सधँै हिँडोस्
।।५।।

यौटा त्यान्द्रो परालको
बलियो कहाँ हुन्छ र
निर्दो सुकुटे साह्रै
चन्द्रमा कहाँ छुन्छ र
।।६।।

डोरी बाटेर बलियो
हात्तीलाई बाँध्नु
जुक्ति बुद्धि बढाएर
बलियो बैरी साँध्नु
।।७।।

सिमानामा परी आए
मर्नु पनि त जिउनु हो
शक्तिहीन लुलो मान्छे
बाँच्नु पनि त मर्नु हो
।।८।।

शत्रुको पाउमा पर्दा
मरेतुल्य हँुदैन को
ज्यानै जान्छ भने जाओस्
यो वाचा हो नेपालीको
।।९।।

उता कैयौं मरे हेर
बिना काममा मरे
स्वर्ग बासी हुने थिए
आफ्नै माटोमा मरे
।।१०।।

अज्ञानको अन्धकार
सिमाना भरि व्याप्त छ
ज्ञानको दीप वालेर
उज्यालोतिर जानु छ
।।११।।

कुदृष्टिले यता हेर्ने
वरिपरि लुकेको छ
हाम्रो मुटु खाने कीरो
हामीसँगै हिँडेको छ
।।१२।।

कुटपिट थिचोमिचो
सके जति सबै गर
सुतेको बाघ उठेर
खाई देला सबैतिर
।।१३।।

दह्रो खुट्टा दह्रै हुन्छ
ढल्ने छैन कसैगरी
उभिने छ सगरमाथा
नेपाली भै सधैंभरि
।।१४।।