October 29, 2020, Thursday
२०७७ कार्तिक १३
ताजा अपडेट

नेपाली कांग्रेस किन मौन साँध्दै छ ?

  • 181
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    181
    Shares

विनोद सिजापती

देश द्रुत गतिले अनिष्टतर्फ उन्मुख हुँदैछ । सरकार विश्वव्यापी कोरोना संकटले मुलुकलाई गाज्न थालेपछि हातखुट्टा छोडेर मूकदर्शकमा परिणत हुँदैछ । कोभिड संक्रमण नियन्त्रण तथा यसको प्रकोपमा परेका नागरिकहरू जीवन तथा जीविका धान्ने स्रोतहरूको रक्षातर्फ साधन तथा जुटेका स्रोतहरूलाई सत्ता जोगाउने खेलमा बाजी मार्न, हचुवा तथा सनकको भरमा छानिएका अनुत्पादनशील आयोजना, फजुल तथा विलासी खर्च आदिका निमित्त खर्च गर्ने कार्यहरूलाई निरन्तरता दिइँदैछ । भ्रष्टाचारको ‘शून्य सहनशीलता’को नारा ‘भ्रष्टाचार नसुन्ने’मा परिणत भएको छ । प्रत्येक सार्वजनिक खरिद सन्दीग्ध तथा विवादित हँुदैछन् । संवैधानिक परिषद् तथा न्यायपरिषद् निष्क्रिय तुल्याइएको छ । संवैधानिक निकायहरू कि गठन भएकै छैनन, जुन छन् तिनमा पनि पदपूर्ति हुन सकेका छैनन् । सरकारी निकायहरूलाई पंगु तथा प्रभावहीन तुल्याइएको छ ।

जनविश्वासका धरोहर संस्थाहरू जस्तै अदालत, सेना तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आदिको गरिमा गिराउने कार्यलाई तीव्रता दिइँदै छ । संवैधानिक निकायहरूमा हुने नियुक्ति नेकपाका दुई अध्यक्षको पोल्टामा सुम्पने प्रावधान गरिँदैछ । नागरिकप्रति जवाफदेही हुनुपर्ने सरकारलाई पार्टीप्रति तुल्याएर संविधानको खिल्ली उडाइँदैछ भने संसद्को औचित्यमा नै प्रश्न उठ्ने कार्य गरिँदैछ । सरकार दिनप्रतिदिन असहिष्णु हुँदै सर्वसत्तावादी निरंकुशतातर्फ तीव्र गतिले उनमुख हुँदै छ ।

Advertisement

विडम्बना, सरकारले गर्ने गलत निर्णय तथा हर्कतहरूको निगरानी, खबरदारी तथा उसलाई सही मार्ग उन्मुख तुल्याउने अभिभारा बोकेको प्रतिपक्ष दल नेपाली कांग्रेस (नेका) मञ्चन हुदै गरेको नाटकको मौन दर्शक सावित भएको छ । संघीय सदन अधिवेशनमा गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल तथा दिलेन्द्र बडू र राष्ट्रियसभामा त राधाकृष्ण अधिकारीबाहेक अन्य माननीयहरूको बोली बिरलै सुन्न पाइन्छ । सदन बाहिरबाट गरिने खबरदारी विश्वप्रकाश शर्मा तथा धनराज गुरुङमै सीमित हुँदैछ । अन्य कांग्रेसजन बिरलै सञ्चार माध्यमहरूमा देखा पर्दछन् । जनहितका विषयमा शीर्षस्थ नेताहरूले बोलेको त बिरलै सुनिन थालेको छ ।

उदाहरणकै निमित्त विगत केही दिनयता नेकाको गतिविधिसम्बन्धी सञ्चार माध्यमहरूको ‘कभरेज’लाई दृष्टिगत गर्ने हो भने अधिकांश अन्तरदलीय गुटबीचको झैझगडामा केन्द्रित रहेको भेटिन्छ । पार्टी सभापति तथा तिनका प्रमुख विरोधी ‘इतरपक्ष’का वरिष्ठ नेताबीचको विवाद, मनमुटाव तथा एकले अर्को उपर हिलो छ्यापाछ्यापका समाचारहरू प्रसारण भएका थिए । यी शीर्षस्र्थ नेताबीचको विवाद वैचारिक तथा नीतिगत हुने गर्दैनन् । संस्थापक पक्षले इतर पक्षलाई कति पदीय भागबन्डा पायो भन्ने विषयमा सीमित हुने गर्दछ । चौधौं महाधिवेशन संघारमा आइपुग्दा पार्टी सभापतिको कद घटाउन सके इतर पक्षका नेताको कद बढ्ने मनोविज्ञानले ठूलै भूमिका खेलेको हुन्छ । पार्टी सभापति स्वयंको उम्मेदवारीमा तिनकै अति निकट कहलिएका उपसभापतिले चुनौती दिने सम्भावना आजकल ‘हट टपिक’ हुन थालेको छ । इतरपक्षका आधा दर्जन प्रत्यासीहरूमध्ये कसले उम्मेदवार बनेर वर्तमान सभापतिलाई चुनौती दिन सक्दछ त्यस विषयमा अड्कलबाजी चल्दैछ । छोटकरीमा भन्नुपर्दा नेकासम्बन्धी प्रसारण हुने समाचारहरूले नागरिक अथवा कांग्रेसकै मतदाताहरूसँग कुनै तार्किक सम्बन्ध राख्दैन ।

किन मुलुक यस्तो विकराल अवस्थामा पुग्दा पनि कांग्रेसले मौन साध्दै छ ? तल केही कारणहरू प्रस्तुत गर्ने जमर्को गरिएको छ :

प्रथम– लामो कालखण्डसम्म सत्तासीन भएका नेका नेताहरूका निमित्त भ्रष्टाचारका विषयमा मुख खोल्न कठिन छ । उनीहरूमध्ये धेरैको सहबास (कारागरमा) झन्डै पाँच दशक आधा पुरानो झापा विद्रोहका रचयिताहरूमध्येका एक वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भएको थियो । उनीहरू केपी ओलीको चारित्रिक विशेषताहरूसँग परिचित छन् । उनीहरूले नजिकबाट ओलीको सत्ता सञ्चालन शैलीलाई नियालेका छन् । प्रधानमन्त्रीको व्यक्तिगत चारित्रिक गुण हो आफन्तजनले जे जस्तो अपराधै गरे पनि तिनलाई क्षमा वा संरक्षण दिने तथा विरोधीको भने खैरो खनेर तिनलाई धराशायी तुल्याउने । नेकाका प्रभावशाली नेताहरूले गरेका विगतका काला कर्तुतहरूको अभिलेख प्रधानमन्त्रीसँग सुरक्षित छ । मुख खोल्नेको विगतका हर्कतहरूलाई खुलासा गरी दिने तिनको निर्मम क्षमता छ । त्यसकारण उनीहरू मुख खोल्नुभन्दा मुखमा ताल्चा लगाउँदा आफ्नो भबिष्य सुरक्षित ठान्दछन् ।

जहाँसम्म नेका सभापति एवं संसद्को प्रतिपक्ष दलको नेताको सबाल छ तिनका निमित्त पनि आफ्नो कर्तव्य निभाउँदाका जोखिमहरू अन्य आफ्ना दलका सहकर्मीहरूको भन्दा पृथक् छैन । विगतका कर्तुतहरूको पोल खुल्ने सम्भावनाबाट उनी पनि भयभीत छन् । तिनका निमित्त निजी स्वार्थहरू त्याग्नु वर्तमान अवस्थामा सहज छैन । जब कि सरकार प्रमुखसँग ‘हर्स ट्रेडिङ’ गर्दा विगतका घटनाहरू गलैंचामुनि नै रहने तथा वर्तमान कालखण्डका स्वार्थ रक्षाका लाभहरूको तिनले पनि राम्रैसँग नापतौल गरेकै छन् । सरकारका जनहित विपरीतका गतिविधि तथा कार्यहरूको विरोध गर्नुको बदलामा आफ्नो भाग दाबी गर्ने सुविधाको उपयोग गर्दा हुने आफन्तजनहरूको स्वार्थहित तथा रक्षाका अवसरलाई गुम्न दिन उनी किन तयार हुन्थे ? संवैधानिक निकायहरूमा आफन्तलाई नियुक्त गर्ने अवसर प्राप्त गर्न ‘समझदारी तथा सहकार्य’ उचित तथा लाभदायी औजार भएको छ, तिनका निमित्त ।

दोस्रो– नेकाको अन्तरनिहित चारित्रिक गुणका कारणहरूले पनि ठूलै भूमिका खेलेको छ । यस अवस्थाले उक्त दललाई मुख खोल्न तथा बन्द गर्न प्रेरित गर्ने गर्दछ । नेका दलको गठन राणाशासनका विरुद्ध लड्नका निमित्त गरिएको थियो । विद्रोही शक्तिका निमित्त संगठन विस्तार गर्न सदस्यहरूको गोपनीयता तथा संरक्षण नितान्त आवश्यक थियो । कांग्रेस भन्ने पहिचान भएको खण्डमा भोग्नुपर्ने सजायकै कारण पनि धेरै कांग्रेससँग आबद्ध हुन चाहँदैन थिए । जोखिमपूर्ण अवस्थामा आर्थिक तथा सामाजिक संरक्षणको अभावमा कार्यकर्ता परिचालन असम्भव प्राय हुन्छ नै । प्रजातन्त्र प्राप्तिको प्रथम आठ वर्ष (२००७–२०१५) को अवधिमा नेकालाई सत्तासीन हुने अवसर कुल मिलाएर एक वर्ष पनि भएन । बाँकी अवधि उसका निमित्त देशमा भएको अन्याय, अत्याचार तथा विसंगति, विकृतिहरूविरुद्ध निरन्तर संघर्षरत रहनु पर्‍यो । २०१७ पछिदेखि २०४२/४३ सालसम्म निरंकुश राजतन्त्रको विरोधी शक्तिका रूपमा नेका प्रस्तुत भयो । यस अवधिमा राजा तथा तिनले निर्माण गरेको पञ्चायती प्रणालीका विरुद्ध संघर्षरत रह्यो । अधिकांश कांग्रेसजनहरूले भूमिगत, हिरासत तथा निर्वासनमा जीवनको महत्वपूर्ण समय बिताए । आर्थिक रूपमा अधिकांशले आफूले त केही जोरजाम गर्न सकेनन् जसले पैतृक सम्पत्ति भेटाएका थिए, त्यो पनि गुमाए । अधिकांशले सुवर्णशमशेर, सूर्यप्रसाद तथा केही व्यवसायीहरूको संरक्षणमा आफ्नो तथा परिवार सञ्चालन भएको थियो ।

प्रथम जनआन्दोलनले राष्ट्रमा लोकतन्त्रको पुनर्बहाली गर्‍यो । दोस्रो जनआन्दोलनको सफलताले धर्म निरपेक्ष संघीय गणतन्त्र । विडम्बना दुवै आन्दोलनहरूले कार्लमाक्र्सका छिन्नभिन्न भएका अनुयायीहरूलाई एकत्रित हुँदै शक्ति सञ्चयतर्फ अग्रसर हुने अवसर मिल्यो जसरी २००७–२०१५ सम्म राजाहरूले समयखेर फालिकन १०४ वर्षसम्म गुमाएको शक्ति सञ्चय गर्न उपयोग गरेका थिए । बहुदलीय संसदीय बेवास्ता खासगरी लोकतान्त्रिक व्यवस्थालाई इन्कार गर्ने चाहे ती दक्षिन हुन् अथवा वामपन्थी तिनका निमित्त नेका प्रमुख शत्रु हुने नै भए । विगत तीन दशक लामो माक्र्सका अनुयायीहरूसँगको सहयात्राको कालखण्डमा नेकाले माने पनि नमाने पनि उसलाई कम्युनिस्टहरूले कहिले पनि उसलाई प्रतिपक्ष मानेन । प्रतिपक्षसँग प्रतिस्पर्धा हुन्छ त्यसकारण सहकार्यका सम्भावना हुन्छन् । शत्रुलाई सबैले सखाप नै तुल्याउन प्रयत्नशील हुन्छन् । नेका लोकतन्त्रमा विश्वास गर्ने राजनैतिक दल भएको हुनाले उसका निमित्त कम्युनिस्टहरू प्रतिपक्ष हुन सक्दछन् तर कम्युनिस्टको नजरमा नेका सदाबहार शत्रु । नेकाले २०७५ को आमनिर्वाचन परिणामले विपक्षको भूमिका निभाउने मतादेश दियो । लोकतान्त्रिक प्रणालीलाई स्वीकारेर सत्तासीन भए तापनि नेकपाले प्रतिपक्ष दलको मान्यता दिन उसको माक्र्सवादी धर्मले दिँदै दिँदैन ।

कम्युनिस्टहरू माहिर हुने गर्दछन् आफ्ना दलका सदस्यहरूको संरक्षण गर्नका निमित्त । सरकारी तथा गैरसरकारी स्थानहरू मात्र होइन पेसागत हित अधिकारका निमित्त गठन गरिएका संगठन तथा प्रतिष्ठानहरू सबैमा नेकपाका कार्यकर्ताहरू हाबी भएका छन् । नेका कार्यकर्ता तथा समर्थकहरूका निमित्त विरोधीहरूले अवसर पायो, सफाया गर्ने तथा उनीहरूको झ्यांगिएको संरक्षणको जालोले गर्दा संरक्षक खोज्नुलाई अन्यथा मान्नु सायद शास्त्रीय चिन्तनमा सीमित हुनु हो ।

अर्को वास्तविकता के पनि हो भने संरक्षण अभिलाषी तथा त्यसको उपभोगकर्ताहरूको जमातले संरक्षकको विरोध गर्न सक्दैन बरु ढाकछोपका निमित्त अग्रसर हुने गर्दछ । नेताहरूले नै मुख नखोलेको परिवेशमा मुख खोलेर किन सरकार तथा आफ्ना संरक्षकहरूको शत्रुमा परिणत हुने ? बोल्दा लहरो तान्दा पहरो गज्रने भएकै कारणले गर्दा पनि नेकाका धेरै कार्यकर्ताहरू सरकारद्वारा गरिएका जनहित विपरीतका कार्यहरूलाई सहेर टुलुटुलु हेरिरहेको अवस्था आज हामीले सामना गरीरहेका छौं ।

(२०७७ असोज ११ गते प्रकाशित देशान्तर साप्ताहिकबाट)


  • 181
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    181
    Shares