देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘यात्रा गरेको दुई साताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नुपर्दैन’

देशान्तर

काठमाडौं । सरकारले यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ-छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र सो अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे । दुई सातासम्म कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिए पिसिआर परीक्षण गर्नु आवश्यक नहुने उनको भनाइ छ । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाब दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरे ।लकडाउन

खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानी भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पिसिआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पिसिआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले राजधानी भित्रने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ ।

उनले आफ्नो घरमा भाडामा बस्नेलाई यात्रा गरी आएको दुई सातासम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन आग्रह गरे । ‘कोठामा बस्ने हरेक मानिस तपाईंका परिवारका सदस्य जस्तै हुन्, सधैँ पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न र अप्ठ्यारो परिस्थितिमा मानवीयता नगुमाउन अनुरोध गर्दछु,’ उनले भने ।

जटिल बिरामी बढ्दै
पछिल्ला केही दिनयता जटिल कोरोना सङ्क्रमित सङ्ख्या बढेको छ । शनिबारसम्म २४४ को आइसियू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मती प्रदेशमा १२१, प्रदेश ५ मा ४४, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, प्रदेश १ मा १५ र गण्डकी प्रदेशमा ६ जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै बाग्मती प्रदेशमा २३, प्रदेश ५ मा तीन र प्रदेश १ मा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।

आठको मृत्यु
पछिल्लो २४ घन्टामा आठ पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । काठमाडौंका दुई, सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका एक–एक जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४६७ पुगेको छ । कुल सङ्क्रमित ०.६५ प्रतिशतको ज्यान गएको छ ।

विश्वभर हालसम्म तीन करोड २७ लाख ७० हजार ९९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ९३ हजार ५५५ को ज्यान गएको छ भने दुई करोड ४१ हजार ७९ हजार ७६ जना निको भएका छन् ।