देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कालापानी नजिक छांगरुमा सशस्त्र प्रहरी बाह्रैमास बस्ने

देशान्तर

दार्चुला – सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छांगरुमै बस्ने भएको छ । स्थायी रुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छांगरुमै बस्ने भएको हो ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छांगरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, “हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।” 

शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका थिए । भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उनले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताए । गत वैशाख ३१ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो । गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार व्यासको छाङ्रुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय भएको थियो । 

सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर वरै बसेको छ । अहिले सशस्त्र प्रहरीले छांगरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको महानिरीक्षक खनालले बताए । सशस्त्र प्रहरीका लागि रु १० करोड बजेटमा सुविधा सम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ । ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवनको सशस्त्र प्रहरीले बाह्रैमास बस्ने गरी डिजाइन गरिएको छ । ढुङ्गा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिने छ ।

बहुउपयोग हुने गरी भवनको संरचना बनाइन लागेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता राजु अर्यालले बताए । १५ रोपनी क्षेत्रफल जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छन् । तीन तलाको ब्यारेक भवन निर्माणको योजना रहेको उनले जानकारी दिए । 

इमान्दारितापूर्वक काम गर्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरी प्रमुख खनालले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् । व्यासको छांगरु र तिंकर क्षेत्रको निरीक्षण भ्रमणपछि सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गणमा मातहतका कर्मचारीलाई निर्देशन गर्दै उनले सशस्त्र प्रहरीको जिम्मेवारी अनुसार इमानदारितापूर्वक काम गर्न निर्देशन गरेका हुन् ।

सीमाका जनताको समस्या समाधान गर्दै कार्यभार अघि बढाऔँ : सांसद ठगुन्ना

सांसद गणेशसिंह ठगुन्नाले सीमाका जनताको समस्यालाई समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् । सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा उनले सीमा क्षेत्रका नागरिकको समस्या समाधानमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरे । व्यासको छांगरु क्षेत्रको निरीक्षणबाट फर्किएपछि उनले सीमामा रहेका जनताको समस्या समाधानका लागि सरकारले जिम्मेवारी पूरा गर्नेतर्फ लाग्नुपर्ने बताए ।