देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोपको व्यापक प्रयोगअघि नै कोरोनाबाट २० लाखको मृत्यु हुनसक्छ : डब्ल्युएचओ

देशान्तर

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसविरुद्धको खोप व्यापक प्रयोग अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ । डब्ल्युएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्ट्रिय एकता बिना कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा धेरै हुने बताएका छन् । कोरोना सङ्क्रमणका कारण अहिलेसम्म झण्डै १० लाख मानिसको मृत्यु भएको छ ।

उत्तरी गोलार्धमा जाडो महिना शुरु हुन थालेसँगै कोरोना भाइरसको दोस्रो लहर शुरु हुन थालेको बीबीसीले जनाएको छ । अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरी तीन देशमा मात्रै एक करोड ७८ लाखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ७२ लाख ३३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ८ हजारको मृत्यु भएको छ । यस्तै ५९ लाखमा कोरोना पुष्टि भएको भारतमा ९३ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा ४६ लाख ८९ हजारमा कोरोना पुष्टि भएको छ भने एक लाख ४० हजारको ज्यान गएको छ । अहिले विश्वभर ३ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४१ लाख निको भएका छन् भने ९ लाख ९२ हजारको ज्यान गएको छ । -एजेन्सी