देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक महिनामा ८५ अर्बको आयात हुदा नौ अर्बको निर्यात, व्यापार घाटा ७६ अर्ब

देशान्तर

काठमाडौ । चालु आर्थिक बर्षको पछिल्लो एक महिनामा बस्तु तथा सेवाको आयात घट्दा निर्यात बढेको छ ।

नेपाल राष्ट्र बैकले आज शुक्रबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी प्रतिवेदन अनुसार कुल वस्तु निर्यात आठ दसमलव नौ प्रतिशतले बढेर नौ अर्ब ६२ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ दसमलव सात प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः चार दसमलव चार प्रतिशत र २५ दसमलव पाँच प्रतिशतले निर्यात बढेपनि चीनतर्फको निर्यात भने ७१ दसमलव सात प्रतिशतले घटेको छ । चालु आवको पहिलो महिनामा कुल वस्तु आयात १९ दसमलव छ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११ दसमलव पाँच प्रतिशतले घटेको थियो ।

चालु आवको पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २२ दसमलव दुई प्रतिशतले घटेर ७६ अर्ब १९ करोड कायम भएको छ । वस्तुगत आधारमा पश्मिना, ऊनी गलैंचा, आयुर्वेदिक औषधी, जडिबुटी, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जुस, अलैंची, पोलिस्टर यार्न तथा अन्य धागो, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दसमलव आठ प्रतिशत, ३९ दसमलव पाँच प्रतिशत र १० दसमलव पाँच प्रतिशतले घटेकोे छ ।

वस्तुगत आधारमा चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कोइला, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, एम.एस. बिलेट, हटरोल सीट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगञ्ज, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, मेची र कृष्णनगर भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ भैरहवा, नेपालगञ्ज, कृष्णनगर, कैलाली, तातोपानी र कंचनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दसमलव दुुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दसमलव तीन प्रतिशत रहेको थियो ।