देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र पारिने

देशान्तर

काठमाडौँ – काठमाडौँ उपत्यकामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिइने भएको छ । चाडपर्व नजिकिंदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासनले अनुगमनलाई तीव्रता दिने भएका हुन् ।

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको उपत्यकाको बजार अनुगमन र सुरक्षा व्यवस्था विषयक अन्तरक्रियामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चाडपर्व केन्द्रीत अनुगमनलाई चाँडै नै शुरु गरिने जानकारी दिए । उनले बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्रता दिइने बताए ।

प्रजिअ दाहालले तीनै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहेको अनुगमन समिति समेत गठन गरिएको जानकारी दिए । उनका अनुसार खाद्यान्न, लत्ताकपडा र यात्रामा एक÷एक सहायक प्रजिअलाई जिम्मेवारी दिएर अनुगमन गरिने छ । कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अहिलेदेखि नै बजार अनुगमन गर्नका लागि चार टोली पठाइसकेको बताए । उनले कोरोना भाइरस (कोभिड­१९)को पिसीआर परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क लिने सात अस्पताल तथा प्रयोगशालालाई किन बढी शुल्क लिएको भन्दै स्पष्टीकरण समेत सोधिएको जानकारी दिए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बजारमा गुणस्तरहीन औषधि उत्पादन गर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिए । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले चाडपर्वका लागि लक्षित गरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास मौजात राखिएको बताए । उनका अनुसार पर्याप्त मात्रामा पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास मौजात रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनका प्रबन्धक बज्रेश झाले चाँडै नै सहुलियत दरका पसल सञ्चालन गरिने जानकारी दिए । उनले दैनिक तीनवटा गाडी मार्फत माइकिङ गरेर उपभोक्तालाई खाद्यान्न पुर्याइरहेको समेत बताए । उनले चिनी अहिले कर्पोरेशनसँग ८०० मेट्रिक टन मात्र भएकाले चाडपर्वका लागि थप २० हजार मेट्रिक टन आउन थालेको जानकारी दिए ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले काठमाडौँ उपत्यकामा विगतमा भन्दा शान्ति सुरक्षामा सुधार आएको बताए । उनले प्रहरीलाई सूचना आउना साथ कालोबजारी गर्ने व्यापारीलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले यात्रुलाई सहजताका लागि चाडपर्वको समयमा १० ठाउँमा सहायता कक्ष स्थापना गर्न लागिएको बताए ।