देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कतारमा काम गुमेका नेपालीलाई मौका

देशान्तर

कतारमा कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ । कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

‘अब रोजगारी गुमेकै कारणले नेपालीहरू घर फर्कनु पर्दैन,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘जसको कम्पनी बन्द भएको छ वा रोजगारी गुमेको छ, उसलाई कतार सरकारले नै सीप र दक्षताका आधारमा रोजगारी उपलब्ध गराउनेछ ।’ करार अवधि समाप्त भएपछि नेपालीहरू नेपाल फर्किन पाएका छैनन् ।

आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा स्वदेश फिर्तीमा समस्या भएको छ । उनीहरूमध्ये घर फर्कनका लागि २१ हजार २ सय २१ जनाले दूतावासमा नाम दर्ता गरिसकेका छन् । त्यसको झन्डै ५० प्रतिशत श्रमिकले रोजगारी गुमाएको राजदूत भारद्वाजले बताए ।

‘उहाँहरूलाई नेपाल फर्कन मन छैन र अर्को कम्पनीमा रोजगारी गर्ने इच्छा छ भने यहीं काम गर्न पाउने वातावरण बनेको छ । हामीले पनि यो अवस्थामा स्वदेश फर्कनुभन्दा यहीं काम गर्न प्रोत्साहन गरिरहेका छौं,’ उनले भने, ‘दूतावासले त्यसका लागि आवश्यक कागजात बनाइदिन सहयोग गर्नेछ ।’

असोज ३ गतेसम्म ९ हजार एक सय ७१ जना स्वदेश आइसकेका छन् । सबैभन्दा बढी सेवा क्षेत्र, ढुवानी तथा मझौला कम्पनीमा कार्यरत नेपालीको रोजगारी गुमेको छ ।

खाद्य तथा आवास समस्या भएका, तलब भुक्तानी नपाएका वा प्राप्त गर्नेहरूको पनि कटौती हुने श्रमिकको संख्या कतारमा उल्लेख छ । खान नपाएका ७ हजार नेपालीलाई कतार च्यारिटीले नेपाली दूतावास र एनआरएनएमार्फत खाना उपलब्ध गराएको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारी गुम्नेहरूका लागि रोजगारी दिलाउन एउटा संयन्त्र बनाएको छ । संयन्त्रमा श्रमिक खोज्ने रोजगारदाता कम्पनी र रोजगारी खोज्ने श्रमिकले सम्पर्क गर्नेछन् । ‘अहिले नेपालबाट नयाँ श्रमिक ल्याउने माग भएको छैन । ल्याइहाल्ने अवस्था पनि बनेको छैन,’ राजदूत भारद्वाजले भने, ‘यहीं भएका श्रमिकलाई नै समायोजन गर्ने नीति ल्याइएको हो । यसले लाखौं ऋणको भारी बोकेर स्वदेश फिर्न बाध्य श्रमिक वर्गलाई पनि सम्बोधन गरेको छ ।’ कान्तिपुरमा खबर छ ।