देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोयल च्यालेन्जर्स बेंग्लोर विजयी

देशान्तर

रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी भएकाे छ । गयराति भएकाे टिमकाे पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हाे।

१ सय ६४ रनको लक्ष्य लिएर आएको हैदराबाद १९.४ ओभरमा १ सय ५३ रनमा अलआउट भयो । युजभेन्द्र चाहलले ४ ओभरमा १८ रनमात्र खर्चेर ३ विकेट लिए ।

नवदीप सैनी र शिवम दुवेले २–२ तथा डेल स्टेयनले १ विकेट लिए । दुबई अन्तर्राष्ट्रिय रंगशालामा जोनी बेरस्टोको शटमा नन स्ट्राइकमा अर्का ओपनर एवं डेविड वार्नर रनआउट भएपछि नै हैदराबादको दुर्भाग्य सुरु भएको थियो ।

बलर उमेश यादवले फलो थ्रुमा बल रोक्न खोज्दा स्टम्पमा लागेपछि वार्नर ६ रनमा पेभेलियन फर्किए । मनिष पाण्डेले ३३ बलमा ३४ रन बनाउँदै बेरिस्टोसँग दोस्रो विकेटमा ७१ रन जोडे । चौथो नम्बरमा आएका प्रियम गर्गले १२ रन बनाएपछि अन्य कसैले दोहोरो स्कोर बनाउन सकेनन् ।

यसअघि ट्वान्टी–२० मा डेब्यु गरिरहेका देवदत्त पाडिक्कल तथा भेट्रान दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको बेंग्लोरले ५ विकेट गुमाई १ सय ६३ रन बनाएको थियो । ओपनर पाडिक्कलले ४२ बलमा ८ चौकासहित ५६ र डी भिलियर्सले ३० बलमा ४ चौका र २ छक्कासहित ५१ रन बनाए ।

पाडिक्कलले ओपनर आरोन फिन्चसँग पहिलो विकेटमा ११ ओभरमा ९० रन जोडे । फिन्चले २७ बल खेली १ चौका र २ छक्का प्रहार गरी २९ रन बनाए । कप्तान विराट कोहली १४ र शिवम दुबे ७ रनमा आउट भए । हैदराबादका विजय शंकर, अभिषेक शर्मा र टी. नटराजनले १–१ विकेट लिए ।