देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अलैँचीको प्रशोधन अब नेपालमै

देशान्तर


नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ ।

अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ ।

झापाको अर्जुनधारामा तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ । उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैँची, मझौला अलैँची, सानो अलैँची र सामान्य अलैँचीका रूपमा उद्योगले खरीद गर्नेछ ।

यस्तै अलैँची प्रशोधन गर्ने विभिन्न प्रावधान छन् । गुणस्तरीय अलैँचीलाई १००÷१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ । अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ । यस्तै अलैँचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैँचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ ।

अहिलेसम्म अलैँचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्छ । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैँचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ । नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अनुमान छ ।

मुख्यगरी अलैँचीजन्य पदार्थको बजार नेपालमै केन्द्रित गरिने छ भने बाँकी बजार भारत, पाकिस्तान, युएई, युरोपेली मुलुक र अमेरिका हो ।

उद्योगले अहिले अलैँचीको मात्र प्रशोधन गर्ने छ । समयान्तरमा माग र दक्षजनशक्ति बढेमा अन्य वस्तुसँग अलैँची प्रशोधन गरेर बेच्ने योजना रहेको भट्टराईको भनाइ छ । यो उद्योगले मात्रै देशभर उत्पादित १५ प्रतिशत अलैँची प्रशोधन गर्न सकिने भट्टराईको जिकिर छ । स्वस्थकर चिज निर्माण हुने भएकाले उद्योगबाट प्रशोधित धेरै सामग्री नेपालमै खपत हुने भट्टराईको भनाइ छ ।