September 27, 2020, Sunday
२०७७ आश्विन १२
ताजा अपडेट
ताजा अपडेट ×

तब त कांग्रेसको यो हविगत !

  • 326
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    326
    Shares

लोकेश ढकाल

बितेको साता नेपाली राजनीतिकै सर्वाधिक लोकप्रिय एक मात्र राजनेता, नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०६औं जन्मजयन्ती थियो । कांग्रेसलगायत बीपीलाई सम्मान गर्ने आम प्रजातन्त्रवादी नेपालीहरूले घरघरमा नै बसेर बीपी कोइरालालाई सम्झे, सम्मान गरे । कोरोना कहरका कारण नेताहरूले अनलाइनमार्फत धेरथोर कार्यक्रम गरेर अलिकति बीपीका गाथा गाए । एक दिन भए पनि बीपीले देखाएको बाटोमा हिँड्ने शपथ खाए, बीपीको विचार र चिन्तनको सान्दर्भिकता सकिएको छैन भनेर भजनकीर्तन गरे । बाँकी दिन त त्यस्तै हो !

नेपाली कांग्रेसले बीपीलाई सम्झने, उहाँको निधन भएको साउन ६, भदौ २४ र राष्ट्रिय एकता र मेलमिलापको प्रस्ताव राख्दै भारतको निर्वासनलाई त्याग गर्दै १६ पुस २०३३ मा नेपाल फर्किएको दिनसमेत केवल तीन दिन मात्र हो । बाँकी त वर्तमान नेपाली कांग्रेसको जीवनमा बीपी कहाँ छन् ? न उनको विचार र चिन्तनअनुसार नै कांग्रेस हिँडेको छ, न आदर्शको बाटोमा ! आज भोलिका कांग्रेस नेताहरू आफू सय किलोको माला लगाउँछन्, बीपीलाई केवल पितृ धर्म निभाएर वर्षको तीन दिन सम्झने गर्दछन् र मुस्किलले एक थुंगा फूल चढाउँछन् । बाँकी दिन त सिद्धान्तहीन राजनीति गर्दै केवल सत्ताका लागि मन परेको गर्दै हिँड्छन् । तब त कांग्रेसको आजको यो हविगत !

बीपीको विचार र चिन्तनबाट धेरै टाढा पुगिसकेको इतिहासको त्यो गौरवशाली नेपाली कांग्रेस स्थापनाको ७४ वर्षमा गलत सिद्धान्त, नीति र नेतृत्वको कारणले कम्युनिस्टका मुद्दा काँधमा बोकेर लर्खराउँदै आफ्नो १४औं महाधिवेशको सम्मुख आइपुगेको छ । महाधिवेशनको निर्धारित समय नजिकिएसँगै आम नेपाली मिडियामा नेपाली कांग्रेसले राम्रो स्थान पनि पाउन थालेको छ । तर दुर्भाग्य त्यो स्थान सिंगो पार्टी र त्यसको वैचारिक एवं सैद्धान्तिक पक्षमा नभै केवल सभापतिलगायत पदहरूमा नेताको कोरा दाबीले मात्र बढी चर्चा ओगटेको छ । त्यसमा वैचारिक बहस र सैद्धान्तिक चिन्तन, भावी कार्यदिशाका वारेमा लगभग चर्चा शून्य छ ।

सामान्यतः तोकिएको मितिमै नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भयो भने यो लोकप्रिय देशान्तर साप्ताहिकमा आज यो मेरो लेख प्रकाशित भइरहँदा अबको ठीक पाँच महिना १० दिनमा अर्थात् ७ फागुन २०७७ मा नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रारम्भ भएको हुनेछ । परिस्थिति हेर्दा लाग्दछ, ७ फागुन २०७७ मा महाधिवेशन हुने कुरा एउटा मीठो कल्पना मात्र हुनेछ । पार्टी समायोजनको अलपत्र अवस्था, क्रियाशील सदस्यता नवीकरण एवं नयाँ सदस्यता वितरणको गति, नेतृत्वको स्वेच्छाचारी रवैया, आन्तरिक गुटगत द्वन्द्व र बढ्दो कोभिड– १९ को चुनौतीलाई विचार गरेर हेर्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन तोकिएको समयमा हुने कुरा त छोडौं स्थितिमा सुधार भयो भने २०७८ जेठभित्र महाधिवेशन सम्पन्न भइदियो अन्यथा केही गरी २०७८ सालको भदौ महिनाभित्र महाधिवेशन गरिदिए भने आम कांग्रेसीजनले ठूलो सास फेरेर क्याबात भन्नुपर्छ, अन्यथा नेपाली कांग्रेस ठूलो नैतिक एवं वैधानिक संकटमा पर्नेछ ।

नेपाली कांग्रेसले आफ्नो महाधिवेशन किन गर्ने ? केवल वर्तमान सभापतिलाई पुनः सभापतिमा स्थापित गर्न वा अरू कसैलाई सभापतिमा स्थापित गर्न ? पार्टीको वैधानिक प्रावधान पूरा गर्नकै लागि मात्र महाधिवेशन गर्नुपर्ने बाध्यता हो वा महाधिवेशनले नेपाली कांग्रेसभित्र रहेका सैद्धान्तिक, नीतिगत एवम् कार्यगत मुद्दाका अतिरिक्त अन्य वैधानिक समस्या र जटिलताहरू गति छन् त्यसलाई महाधिवेशनले सम्बोधन गर्ने कि नगर्ने ? देशको संविधान र दल दर्तासम्बन्धी कानुनी प्रावधानलाई पूरा गर्नका लागि मात्र महाधिवेशन गर्ने कि नेपाली कांग्रेसको वर्तमान चुनौतीपूर्ण अवस्थाको ढंगगँग सुक्ष्म अध्ययन एवं विश्लेषण गरेर पार्टीभित्रका सबै समस्याहरूलाई केलाएर आम जनभावनाअनुसार सही विचार र कार्यक्रमका साथ उचित बाटो पहिल्याएर पार्टीलाई अगाडि बढ्नका लागि पनि महाधिवेशन गर्ने हो ? यो नै अहिलेको मुख्य गम्भीर सवाल हो ।

पार्टीले लिने सिद्धान्त, नीति र कार्यक्रमका साथ नेतृत्व पनि गतिलो नै चाहिने रहेछ । जतिसुकै जनप्रिय सिद्धान्त, नीति र कार्यक्रम भए पनि त्यसलाई बोकेर हिँड्ने नेतृत्व असल र लोकप्रिय रहेन भने पार्टी दिशाहीन हुने रहेछ, जस्तो अहिले कांग्रेसले त्यही समस्या भोगिरहेको छ । नेपाली कांग्रेसले हाल अंगीकार गर्दै आएको विचार, सिद्धान्त, नीति, नारा नेतृत्वलाई यथास्थानमा राखेर रमाएर बस्यो र सोहीबमोजिम महाधिवेशन केवल कर्मकाण्ड मात्र पूरा गर्ने थलो मात्र भयो भने आम जनतामा नेपाली कांग्रेसको औचित्य पुनस्र्थापित हुन सक्दैन । नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलन र शान्ति प्रक्रियाका क्रममा चाहेर नचाहेर वा बाह्य प्रभाव र दबाब आदि अनेक कारणले आफ्ना स्थापनाकालीन सिद्धान्त र आफ्नै संस्थापक नेता बीपी कोइरालाका विचार र चिन्तनलाई छोड्न परेको यथार्थलाई आत्मसात् गर्दै देशको राष्ट्रियता, प्रजातान्त्रिक मूल्य मान्यताको आधारमा पुनः इतिहासको त्यो गौरवशाली लोकप्रिय नेपाली कांग्रेसको हैसियतमा पु¥याउनका लागि आसन्न पार्टीको १४औं महाधिवेशनले पार्टीले बाह्रबुँदे समझदारी यता लिएका राजनीतिक अडान र परिवर्तनका मुद्दामाथि होसियारीपूर्वक निर्मम ढंगले समीक्षा गर्न अहिलेदेखि नै पार्टीमा खुल्ला बहस गर्न जरुरी छ ।

पार्टीले अँगाल्दै आएको सिद्धान्त, नीति र कार्यक्रम माथि व्यापक बहस गरेर जनताको भावनाअनुसारको सही बाटो पहिल्याउन सकेन भने कांग्रेसको महाधिवेशन हुनु र नहुनुसँग आम जनताको कुनै सरोकार हुने छैन । कांग्रेस अहिलेकै जस्तो यथास्थितिकै विचार–सिद्धान्त, नीति र नेतृत्व बोकेर हिँड्छ भने देश र जनताका लागि कांग्रेसकै सान्दर्भिकता रहने छैन । यो तीतो यथार्थलाई वर्तमान नेतृत्वले कुनै आग्रह र पूर्वाग्रह वा विगतमा शान्ति प्रक्रिया र संविधान निर्माणको चरणमा व्यहोरेको बाह्य हस्तक्षेप र दबाबजस्ता अवाञ्छित गतिविधिबाट मुक्त भएर पहिले देश, अनि पार्टीलाई केन्द्रमा राखेर स्वतन्त्र ढंगले सोच्दैन भने स्थिति सामान्य हुने छैन ।

वर्तमान नेतृत्व कुनै पनि सर्तमा पार्टी कब्जा गर्ने मुड बनाएर बसेको छ । आफ्नो नेतृत्वमा विगतमा भएको तीन तहको निर्वाचनमा शर्मनाक पराजयको जिम्मेवारी लिन, आत्मसमीक्षासमेत गर्न इच्छुक नहुने नेतृत्वबाट पुनः केही आशा गर्न सकिन्न । वर्तमान नेतृत्वको विकल्पमा नेतृत्वको दाबी गर्नेहरूको लिस्ट पनि लामो नै भइसकेको छ तर आजका मितिसम्म कसैको पनि पार्टीभित्र देखिएका समस्या के हो ? पार्टी संगठनमा के कस्ता चुनौती छन् र भविष्यमा पार्टी र देशलाई यसरी यहाँ पु¥याउनेछु भन्ने सोच र कार्यक्रमसहितको कुनै योजना आजका मितिसम्म सुन्न वा पढ्न पाइएको छैन । केवल वर्तमान सभापतिको असफलता माथि खेलेर वैतर्णी पार गर्ने सोचमा सभापतिको दाबी प्रस्तुत गरिरहेका देखिन्छन् ।

सामान्यतः बाहिरबाट हेर्दा देश सामान्य गतिबाट हिँडेको छ । त्यत्रा ठूला परिवर्तन भए, संविधानसभाले संविधान दियो, त्यसअनुसार देशमा तीन तहको निर्वाचन सम्पन्न भयो, तीनै तहका सरकारहरू आ–आफ्ना ढंगले काम पनि गरिरहेका छन् । तर यथार्थमा देश नराम्रोसँग संकटको बाटोमा देश अगाडि बढिरहेको छ । संकट निम्त्याउन सरकार आफैं उद्यत देखिन्छ । ऐतिहासिक प्रजातान्त्रिक दल न सडक, न संसद् कतै भूमिकामा देखिन्छ म मुद्दा यतिका छन् निरीह भएर अकर्मण्य भएर बसेको छ । यस्तो चरम निराशाको राजनीतिक अवस्थामा देशले एउटा जबरजस्त नेता खोजिरहेको छ । नेपाली मौलिक परम्परा, धर्म, संस्कृति र राष्ट्रियतालाई ध्यानमा राखे देशलाई बचाउन सक्ने, प्रजातन्त्रलाई बचाउन सक्ने त्यो नेता आज देशले खोजेको छ । त्यो नेता कम्युनिस्ट कित्ताबाट उठेर आउन सम्भव छैन । अहिले हरेक पार्टीमा इमानदार, नेपाललाई राम्रोसँग बुझेको नेतृत्वको संकट नै परेको छ । नेपाली कांग्रेसमा वैचारिक विचलन र गतिहीनता आफ्नो ठाउँमा छँदैछ, नेपाली कांग्रेसको यो हविगत हुनुको एउटा प्रमुख कारण एउटा गतिलो नेताकै अभावले हो ।

अहिलेको कांग्रेसका बीपी, गणेशमान सिंह वा किसुनजी जस्ता महान् राष्ट्रवादी प्रजातन्त्रवादी नेता जन्मन सम्भव छैन । कांग्रेसबाट यस्तो नेता जन्मियोस् कि जसले कांग्रेसको मात्र होइन सिंगो देशको नेतृत्व दिन सकोस् । तर के गर्नु ? सरकारको निकम्मापनले मलको अभाव हुँदा प्रधानमन्त्री ओलीले बंगलादेशका प्रधानमन्त्रीसँग पैंचोमा मल मागेको जस्तो लौन मोदीजी वा सी जी पिङ, देश चलाउन नै गाह्रो भो, केही समयका लागि एउटा गतिलो मान्छे पठाइदेऊ भनेर नेता सापट माग्न पनि नमिल्ने !

आकाशबाट खसाल्न वा जमिनबाट उत्खनन गरेर निकाल्न पनि नमिल्ले ! यही भएका नालायक नेतामध्येबाट एउटा लायक नेता खोज्नुको आम कांग्रेसजनसँग अर्को विकल्प छैन । आसन्न महाधिवेशनले गर्ने यति हो । तै पनि आम कांग्रेसजनले गुटबन्दीबाट मुक्त भएर अहिलेदेखि नै कांग्रेसमा व्यापक विचार चिन्तन माथि बहसलाई अगाडि बढाउन सकियो, महाधिवेशनबाट पार्टीलाई वैचारिक रूपमा करेक्सन गर्दै बीपीको विचार चिन्तनको मार्गमा ल्याउन सकियो र भएकामध्येको एउटा गतिलोलाई नेतृत्वमा पु¥याउन सकियो भने कांग्रेस फेरि पनि बौरिएर आउने सम्भावना छ । जागौं कांगे्रस जागौं !


  • 326
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    326
    Shares