देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमण, परीक्षण र मृत्यु : विश्वका अन्य देशको तुलनामा कहाँ छ नेपाल?

देशान्तर

काठमाडाैँ – नेपालमा कोभिड तीव्र रूपमा फैलिएको छ, निको हुनेको संख्या पनि उल्लेखनीय छ। शुक्रबारसम्म संक्रमित भएका ५१ हजार नौ सय १९ मध्ये ३६ हजार ६ सय ७२ जना भाइरसमुक्त भएका छन् । अहिले १४ हजार नौ सय २५ जना उपचारको क्रममा छन् । तीन सय २२ को मृत्यु भएको छ ।

नेपालमा प्रति १० लाखमा मृत्युदर ११ छ । मृत्युदर बंगलादेशमा २८, पाकिस्तानमा २९, अफगानिस्तानमा ३६, भारतमा ५६ र माल्दिभ्समा ५७ छ । श्रीलंकामा भने मृत्युदर प्रति १० लाख शून्य दशमलव ६ मात्रै छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

अमेरिकामा संक्रमितको संख्या धेरै मात्र छैन, मृत्युदर पनि उच्च छ । जनसंख्याको हिसाबमा प्रति १० लाखमा अमेरिकामा पाँच सय ९४ जनाको मृत्यु भाइरस संक्रमणका कारण भएको छ । त्यस्तै, इटालीमा प्रति १० लाखमा मृत्युदर पाँच सय ८९ छ । तर, ब्राजिलमा मृत्युदर अमेरिका र इटालीभन्दा पनि धेरै छ । त्यहाँ प्रति १० लाखमा ६ सय १० को मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म आठ लाख २१ हजारको परीक्षण भएको छ, यो भनेको प्रति १० लाख जनसंख्यामा २८ हजार परीक्षण भएको छ । छिमेकी भारतमा प्रति १० लाखमा ३९ हजारको परीक्षण भएको छ। दक्षिण एसियामा सबैभन्दा धेरै परीक्षण माल्दिभ्सले गरेको छ । पाँच लाख जनसंख्या भएको माल्दिभ्समा एक लाख २७ हजारको परीक्षण भएको छ । यो संख्या प्रति १० लाखमा हिसाब गर्दा दुई लाख ३५ हजार हुन्छ । त्यस्तै, भुटानले पनि प्रति १० लाखमा एक लाख ४४ हजारका दरले परीक्षण गरेको छ । भुटानमा कुल जनसंख्या सात लाख ७३ हजार छ ।

 पाकिस्तानमा प्रति १० लाखमा १२ हजार नौ सय, श्रीलंकामा ११ हजार ६ सय, बंगलादेशमा १० हजार दुई सय र अफगानिस्तानमा दुई हजार सात सयको परीक्षण भएको छ । परीक्षणमा खाडीको देश युएई अग्रपंक्तिमा छ । उसले प्रति १० लाखमा आठ लाख र बहराइनले सात लाखको परीक्षण गरेका छन् । त्यस्तै, युरोपमा डेनमार्क अगाडि छ । डेनमार्कले प्रति १० लाखमा चार लाख ९७ हजार, इटालीले एक लाख ५९ हजार र नेदरल्यान्डले एक लाख ६ हजारको परीक्षण गरेका छन् ।

अमेरिकाले प्रति १० लाखमा दुई लाख ७२ हजार, रसियाले दुई लाख ७३ हजार, चीनले एक लाख ११ हजारको परीक्षण गरेका छन् । अफ्रिकी देशमा रुवाण्डाले प्रति १० लाख जनसंख्यामा ३४ हजार नौ सय नौ, जिम्बाबेले १० हजार दुई सय र इथियोपियाले नौ हजार सात सय परीक्षण गरेका छन् ।