अमेरिकामा नोभेम्बरमा हुने निवार्चनका उम्मेदबार राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेटिक जो बाइडन दुवैको चुनावी अभियान साइबर आक्रमणमा परेको हो ।
रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले राष्ट्रपतीय निर्वाचन अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको माइक्रोसफ्टले जनाएको हो ।
फ्यान्सी बियर नामक रुसी ह्याकरहरू र फोसफोरस नामक इरानी ह्याकरहरूले राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा काम गर्ने कर्मचारी र राजनीतिक संगठनहरूमाथि आक्रमण गरेका हुन् ।
जिर्कोनियम नामक चिनियासँग सम्बन्धित ह्याकरले डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका अभियानसँग जोडिएका व्यक्तिहरूलाई निसानामा पारेका छन । माइक्रोसफ्टका अनुसार धेरैजसो साइबर आक्रमणहरू सफल भएका छैनन् ।
होमल्याण्ड सेक्युरिटी मन्त्रालयका साइबरसम्बन्धी उच्च अधिकारी क्रिस्टोफर क्रेब्सले यसअघि गुप्तचर समुदायले भन्दै आएको कुराकै पुष्टि माइक्रोसफ्टले गरेको बताएका छन् ।
यसअघि सन् २०१६ को निर्वाचनमा पनि रुसी हस्तक्षेप भएको भन्दै अमेरिकामा अझै कयौं मानिसमाथि अनुसन्धान भैरहेको छ । सोही निर्वाचनमा हस्तक्षेप गर्ने रुसी ह्याकरहरु नै अहिले फेरि सक्रिय भएको माइक्रोसफ्टको दाबी छ ।
प्रतिक्रिया