देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देश बनाउने कसले ?

देशान्तर

भनिन्छ, हुने बिरुवाको चिल्लो पात । र युवा उमेरमा पौरखी भएका व्यक्तिहरूले जीवनमा दुःख पाउनु पर्दैन भन्ने हाम्रो सामाजिक मान्यता र विश्वास पनि छ । यो मान्यता र विश्वास विश्वव्यापी र शास्वत हो । यस सन्दर्भमा एप्पल कम्प्युटरका संस्थापक स्टिभ जब्सले भनेको कुरा साँच्चै वैज्ञानिक र तर्कपूर्ण छ । उनी युवाहरूलाई भन्छन्, ‘३० वर्षसम्म तिमी आफ्नो बानी बनाऊ, त्यसै बानीले तिमीलाई बनाउँछ ।’ अर्थात् ३० वर्षभित्र हरेक युवाले आफूमा राम्रा गुण र आदतहरूको विकास गरिसक्नु पर्दछ जसको आधारशिलामा गतिलो भविष्यको निर्माण सम्भव हुन्छ । युवा उमेर अर्थात् समयमै होस नपु¥याउने हो भने आफूले दुःख पाउने मात्र होइन, आउने सन्ततिलाई अभिशाप छाडेर जाने अपराधको भागी पनि हुनुपर्छ ।

संसारभरिका युवाहरूका लागि यो अनुसरणीय मार्गनिर्देश हो । उनी शाकाहारी थिए, हिप्पी भएर हिन्दू मन्दिर र बुद्ध धर्मका ध्यान केन्द्र चहार्ने आवारा युवा थिए । गाँजा, चरेस र लागूपदार्थका अम्मली जब्स त्योभन्दा बढी एक क्रिश्चियन अमेरिकी कुमारी आमा जाओने र उच्च वर्गका सिरियाली मुस्लिम विद्यार्थी अब्दुल फतेह जिन्दालीका अवैध सन्तान थिए । आफ्नो जीवनको संघर्षमय पाठशालामा प्राप्त शिक्षा उनले विश्वलाई दिएर गए । अवकाश प्राप्त सैनिक पल जब्स र क्लाराका धर्म पुत्रको रूपमा हुर्किएर कलेजको शिक्षासमेत नलिएको व्यक्तिले कसरी यतिबिघ्न प्रगति गर्न सक्छ भन्ने दृष्टान्त छोडेर गए । उनले आफ्ना धर्म पिता जब्सबाट सिकेको कुरा निकै उत्प्रेरक थियो । उनले पुराना गाडीहरूको मर्मत गर्थे र नयाँ जस्तै पार्थे । यो स्टिभलाई गज्जब लाग्थ्यो । पल जब्स छोरालाई भन्थे, देखिने चिज राम्रो बनाएर मात्र हुँदैन, नदेखिने भित्री चिजसमेत राम्रो हुनुपर्छ नत्र सामान दिगो हुँदैन । यस कुराको उनमा गहिरो प्रभाव थियो । र उनले उत्पादन गरेका एप्पलका ग्याजेटहरू आवरणमा मात्र होइन भित्रैदेखि राम्रा र दह्रा छन् । जति दाम परे पनि ग्राहकहरू एप्पलकै उत्पादन खोज्छन् । यो साँच्चै ठूलो साख र विश्वसनियता हो ।

यो प्रसंग किन उद्धृत गरिएको हो भने युवा ऊर्जा, क्षमता, संकल्प र महत्वाकांक्षाको परिणाम नै समाजको उन्नति तथा राष्ट्रको विकास हो । संसारका विकसित देशहरूले यो रहस्य समयमै थाहा पाए । साँच्चै भन्ने हो भने युवा संकल्प र पसिनाले ती देशहरू समृद्ध बने । नजिककै कुरा गरौं । आधुनिक सिंगापुरका जनक मानिने लि क्वान युले ३० वर्षको उमेरमा पिपल एक्सन पार्टीको स्थापना गरे सन् १९५३ मा । आफ्नो भाग्य खोज्दै समुद्री किनाराको पछौटेभूमि सिंगापुर आइपुगेका चिनियाँहरू, मुख्य भूमि मलेसियाका रैथानेहरू र भारतीय मूलका तमिलहरूको बसोबास रहेको बेलायतीहरूको औपनिवेशिक शासन रहेको सानो मुलुकमा केही गर्नुपर्छ भन्ने अन्तरप्रेरणाले उनलाई राजनीतिमा धकेल्यो । त्यसैको परिणाम आजको सिंगापुर हो । इन्डोनेसियनहरूको आक्रमणमा परेर तहसनहस भएको, बेलायतीहरूको अधिकतम दोहनमा परेको, जापानीहरूले चरम शोषण गरेको र दोस्रो विश्वयुद्धमा विदेशीको युद्ध मैदान भएको सानो राष्ट्रलाई सम्हालेर उनले समृद्ध, विकसित र सम्मानित राष्ट्र बनाउन कति मेहनत गर्नुप¥यो होला, सहजै अनुमान गर्न सकिन्छ ।

अर्कातिर दक्षिण पूर्वी एसियाको सिंगापुरसँग जोडिएको कृषिमा आधारित अर्थतन्त्र भएको पछौटे मुलुक मलेसिया कसरी आजको अवस्थामा पुग्यो भन्ने कुरा हामी सबैका लागि दृष्टान्त भएको छ । त्यहाँ पनि मेडिकल साइन्स पढेका एकजना युवाको संकल्प नै राष्ट्रिय समृद्धिको मुख्य कारकको रूपमा रहेको छ । जातीय विद्वेषबाट उत्पन्न आपसी हिंसा र कलहबाट जोगाएर भौतिक पूर्वाधार र संरचनाको निर्माण गरी जवाफदेही शासन र कुशल, सक्षम एवं इमानदार नेतृत्वको माध्यमबाट उल्लेखनीय प्रगति गर्न सक्नुमा महाथिर मोहम्मद विश्वविख्यात छन् । महाथिरले आफ्नो देशलाई मौलिक ढंगले विकसित बनाउन खोजे । आफू प्रधानमन्त्री भएको केही वर्षपछि ‘भिजन २०२०’ लागू गरे । संसारका विकसित देशहरूले अपनाएको विकास मोडेलको अनुकरण गरेनन् । असाध्यै भौतिकवादी बन्दै गएको आधुनिक विश्व उनलाई मन परेको थिएन । नैतिक आदर्श र मूल्यमा आधारित समाज बनाउने उनको सपना थियो । आफ्नोपन र मौलिकताको जगेर्ना गर्दै राष्ट्रको द्रुत विकास गर्ने । उनले देशको औद्योगिकरणलाई जोड मात्र दिएनन् निर्यातमुखी अर्थतन्त्रको जग नै बसाए । पुत्रजया नामक प्रशासनिक केन्द्र अर्थात् नयाँ सहर नै बसाए । आफ्नो पहिलो २२ वर्षे प्रधानमन्त्रीत्वकाल टुंग्याउँदै गर्दा नयाँ सहरको समुद्घाटन गर्न समेत भ्याए । यो सबै उनको दृढ अठोटको परिणाम थियो । पार्क चुङ हीले दक्षिण कोरिया र देङ स्याओ पेङले चीन निर्माणको सपना देख्दा पनि यही भावना नै कारक थियो ।

यी प्रसंगहरू किन उल्लेख गरिएको हो भने अपार प्राकृतिक तथा धार्मिक सम्पदा भएको र विकासको प्रचुर सम्भावना बोकेको नेपाल आजसम्म किन गरिब छ भनेरै हो । यसको कारण के ? सोझो र स्पष्ट उत्तर के हो भने नेपालको राजनीतिमा राम्रा पात्रहरूलाई कहिल्यै प्रोत्साहन गरिएन । नेताहरूले देशको उन्नतिमा पटक्कै ध्यान दिएनन् । बेलाबेलामा यहाँ प्रश्न उठ्ने गरेको छ कि देशले युवाहरूको संरक्षण गरिदिएन । युवाहरूको भविष्य बर्बाद भयो । यहीनिर समस्या छ । के युवाहरूले राष्ट्र निर्माणमा ध्यान दिए त ? साँच्चै विडम्बना देखिन्छ । राजनीतिमा पसेका युवाहरू नेताका झोले भए र बाहिर बसेकाहरू रमिते भए । राजनीतिक दलभित्रका युवाले आफ्नै पार्टी सुधार्न सकेनन्, राजनीति के सुधार्न सक्थे ! बाहिरबाट धारेहात लगाएर बसेकाहरू दलले बनाई देलान् भनेर बसे । यही प्रवृत्ति अँगालेको भए न अमेरिका बन्थ्यो न युरोप । त्यहाँको नयाँ पुस्ता नजम्जमाएको भए आज उनीहरूले वर्तमानको समृद्धि भोग्न पाउने थिएनन् । त्यहाँका युवाहरूले आफ्नो देश आफ्नैं अग्रसरता र संकल्पले बनाए । देश बनेपछि भविष्यको के कुरा ?

नेपालका युवाहरू पेरिफेरिमा बसेर राजनीतिप्रति घृणा पस्किन्छन् । राज्यप्रति आक्रोश व्यक्त गर्छन् र हरबखत प्रतिक्रिया दिइराख्छन् । यो शैली नितान्त प्रतिक्रियावादी शैली हो । आफ्नो देशको राजनीति बिग्रेको देखेर पनि त्यसलाई सुधार्न कम्मर नकस्नु र कसैले आएर कुनै दिन देश बनाइदेला भनेर अनन्तकालसम्म माला जपिराख्नु या पर्खेर बस्नु युवाहरूको कर्तव्य होइन । यो सरासर परमुखापेक्षी प्रवृत्ति हो । लि क्वान, महाथिर, पार्क या देङले यस्तै सोचेको भए ती देश र त्यहाँको समाज बन्ने थिएन । युवावयमै उनीहरू राजनीतिमा नतानिएका भए त्यहाँको नयाँ पुस्ताले अहिलेको समृद्धि देख्न पाउने थिएनन् । कुन बाटो या राजनीतिक प्रणालीको माध्यमबाट विकास भयो, त्यो बेग्लै कुरा हो । तानाशाही व्यवस्था साँच्चै खराब हो तर त्यसले गरेको विकासलाई नकार्न त सकिँदैन । जनअधिकार स्थापनाको लडाइँ त निरन्तर चलिरहन्छ । आखिर दक्षिण कोरियनहरूले विकासका अलावा प्रजातन्त्रको स्थापना पनि गरेरै छाडे । चीनमा समेत ढिलो चाँडो प्रजातन्त्र नआई सुखै छैन । प्रजातन्त्र मानव सभ्यताको अभिन्न अंग हो ।

प्रजातन्त्र निसर्त राजनीतिक प्रणाली होइन । र त्यति सजिलो व्यवस्था पनि होइन । यसलाई व्यवहारले नै सिद्ध गर्न सक्नुपर्छ । यसको सिद्धान्त फलाकेर मात्र हुँदैन । तदनुकूलको व्यवहार छ कि छैन, यसैबाट प्रजातन्त्र जाँचिन्छ । प्रजातन्त्रको कंकाल देखाउँदैमा त्यो वास्तविक प्रजातन्त्र हुँदैन । स्टिभका बाबु पलले भनेजस्तो वस्तु बाहिर देखिएजस्तो भित्रैबाट राम्रो हुनुपर्छ । नत्र ग्राहकको त्यस वस्तुप्रति मोह जाग्दैन । यस सन्दर्भमा एउटा रोचक घटना छ । काठमाडौंको धोबीखोलामा एउटा कार खस्यो । कारमा सवार एकजना महिला डाक्टर थिइन् । उनी निकै घाइते भइन् । जब उनको मुखबाट आवाज निस्क्यो, भन्दै थिइन्, मेरो आईफोन, मेरो आईफोन । मृत्युको मुखमा पुग्दासम्म सम्झनलायक वस्तु बनाए स्टिभले, आफ्ना बाबुको प्रेरणाबाट ।

यो प्रसंग किन ल्याइएको हो भने प्रजातन्त्रका घोषित आदर्शहरू साँच्चै मननीय छन् । तर व्यवहार कस्तो छ । कम्तीमा पनि नेपालमा त पटक्कै राम्रो छैन । त्यसैले बारम्बार दुर्घटना भइरहन्छ । पटकपटक यसको स्थापना र पुनस्र्थापनाको संघर्ष चलिरहन्छ । प्रजातन्त्रको स्वरूप खडा गरेर मात्र त हुँदैन । यसलाई त अभ्यासले नागरिकहरूको जीवन पद्धति बनाउनु पर्दछ । बाहिर सिंगारेर मात्र हुँदैन, भित्र पनि उत्तिकै सुन्दर राख्न सक्नु पर्दछ । नेपालको प्रजातन्त्र देखिनमा मात्र चिटिक्क भयो । यसको आन्तरिक स्वरूप पटक्कै चित्तबुझ्दो भएन । दलहरूको अवस्था पनि त्यस्तै छ । देख्दा चिटिक्क तर आन्तरिक रूपमा भद्रगोल । त्यसैले पनि युवा आक्रोश बढेको हो । इनफ इज इनफ यसैको परिणाम हो । तर देश सुधार्ने कसले त ?

युवा उमेरमै बीपी कोइरालाले आफूलाई राजनीतिमा नहोमेको भए न प्रजातन्त्र आउँथ्यो न नेपाल बाँच्थ्यो । उनले १५ वर्षभित्र सबै नेपालीलाई मेरो परिवार सरह बनाउँछु भन्ने संकल्प पूरा गर्न पाएको भए आज नेपालको यस्तो दुरावस्था हुने थिएन । त्यसैले युवाहरूले अज्ञात शक्तिको प्रतीक्षामा दिन गनेर बस्ने प्रवृत्ति परित्याग गर्नु आजको राष्ट्रिय आवश्यकता हो । केही मानिस र राजनीतिक दलका लागि यो निर्दयीसमेत हुन सक्छ तर यो अपरिहार्य छ । तर दुर्भाग्यवश, त्यस्ता संकेतहरू पटक्कै छैनन् । हाम्रो युवा जमात आफ्नो शक्ति बिर्सेर सुस्केरा हाल्दै जीवन बिताउन अभिसप्त छ । त्यसैले हाम्रो दुर्दिनका कारण हामी आफंै हौं । भाग्यलाई पर्खिएर कर्म नगर्ने हाम्रो प्रवृत्ति हो । यस्तो समाजको लामो भविष्य हुँदैन । हुन त समाजमा दुईथरी मान्छे हुन्छन्, एकथरी चिठ्ठा पर्ला र धनी हुँला भनेर दिन गनेर बस्छन् र अर्कोथरी दिनरात मेहनत गरेर धनी र प्रतिष्ठित हुन्छन् । हाम्रो समाज चिठ्ठा पर्खेर बसिरहेको छ ।