देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यी हुन् काठमाडौं उपत्यकाका कोरोना हटस्पट क्षेत्र

देशान्तर

काठमाडाैँ – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले साउन ४ गते सिंहदरबारमा ५ सय ८ जनाको स्वाब लिएर परीक्षण गर्दा दुई जना ट्राफिक प्रहरीलाई कोरोना पोजिटिभ देखिएको थियो । असार तेस्रो साता उपत्यकाका १२ स्थानमा ५ हजार जनाको स्वाब परीक्षण गर्दा तीन जनालाई मात्रै कोरोना पोजिटिभ देखियो । अर्थात् स्वाब परीक्षण गरेकामा पोजिटिभ देखिने दर १ प्रतिशत पनि थिएन । तर अहिलेको स्थिति निकै भिन्न भइसकेको छ ।

बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा भदौ ९ मा ५ सय १९ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ६० जना ९११.५६ प्रतिशत० लाई कोरोना देखियो । ‘हरेक वडाबाट सबै क्षेत्रका व्यवसायीलाई समेट्ने गरी एउटा वडाका कम्तीमा १० जनालाई भेला गरेर परीक्षण गराएका थियौं । कन्ट्याक्ट ट्रेसिङमा नपरेका व्यक्तिको स्वाब निकाल्दा पनि संक्रमित दर उच्च देखियो,’ बूढानीलकण्ठका मेयर उद्धवप्रसाद खरेलले भने ।

नगरमा १५ प्रतिशत हाराहारी संक्रमित रहेको अनुमानमा आफैंले भीटीएम किनेर परीक्षण जारी राखेको उनले बताए । कपन र बूढानीलकण्ठ क्षेत्रका चार स्थानमा स्वाब निकाल्दा बूढानीलकण्ठमै बढी पाइएको उनले जनाए । ‘निषेधाज्ञापछि पीसीआर गर्दा संक्रमित हुनेमा परिवार–परिवार नै देखिएको छ,’ उनले भने, ‘निषेधाज्ञाले छिमेकी र अरूलाई सार्न भने रोकेको छ ।’

काठमाडौं महानगरपालिका–४ मा भदौ ९ मै १ सय ८ जनाको स्वाब संकलन गर्दा १५ जनालाई पोजिटिभ देखिएको थियो । भारतबाट आएकी एक महिलामा संक्रमण देखिएपछि महाबौद्ध क्षेत्रमा भदौ १० मा १ सय २६ जनाको स्वाब परीक्षण गर्दा ३० जना ९करिब २४ प्रतिशत० लाई कोरानो पोजिटिभ देखियो । यहाँ कन्ट्याक्ट ट्रेसिङमा परेका र नपरेका दुवैको पीसीआर गरिएको थियो । ‘दुई साताअघि र अहिलेको अवस्था फरक भएको छ । पहिला पोजिटिभ आउनेको संख्या न्यून हुन्थ्यो,’ ईडीसीडीका निर्देशक डा। वासुदेव पाण्डेले भने, ‘पहिले पोजिटिभ कसको आयो भनेर खोज्नुपर्थ्यो, अहिले नेगेटिभ कसको आयो भनेर खोज्नुपर्ने अवस्था छ ।’

कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहलाई दिइएको भए पनि ईडीसीडीले उपत्यकाका तीनै जिल्लामा कन्ट्याक्ट ट्रेसिङ र समुदाय स्तरमा संक्रमणको अवस्था पत्ता लगाउन निश्चित क्षेत्रमा स्वाब संकलन गरिरहेको छ । ‘जति पनि ठाउँमा हामीले स्वाब संकलन गरेर परीक्षण गरेका छौं सबैतिर संक्रमणको दर पहिलाको भन्दा उच्च देखिन्छ,’ डा. पाण्डेले भने, ‘समुदायमा अहिलेको अवस्थाबारे थप बुझ्न एन्टीबडी परीक्षण गर्नुपर्ने हुन्छ । यसको तयारी भइरहेको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म देशभरको पीसीआर परीक्षणमा संक्रमण दर ५.९ प्रतिशत पुगेको छ । जुन दर एक महिनाअघि ५.२ प्रतिशतमात्रै थियो । मृत्यु दर पनि बढेको छ । एक महिनाअघि मृत्युदर ०.२ प्रतिशत रहेकोमा शुक्रबार ०.६ प्रतिशत पुगेको छ । ‘एक महिना र अहिलेको तुलना गर्नै सकिँदैन । अहिले संक्रमितको संख्या उच्च पुगेको छ,’ डा. पाण्डेले भने, ‘जुन कुरा तथ्यले पनि पुष्टि गर्छ । अझै पनि सावधानी नअपनाउने हो भने संक्रमित दर बढ्न सक्छन् ।’ ईडीसीडीले संक्रमण उच्च देखिएका काठमाडौंको कोटेश्वर, बालुवाटार, चाबहिल, महाराजगन्ज, बूढानीलकण्ठ, महाबौद्ध क्षेत्रमा समुदायस्तरमा परीक्षण गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका स्वास्थ्य महाशाखाको कोरोना रोकथाम र नियन्त्रण टोलीका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार काठमाडौंको बालाजु र कोटेश्वर क्षेत्रमा दुई सयभन्दा बढी संक्रमित भइसकेका छन् । एक सयभन्दा बढी संक्रमित भएका क्षेत्रहरूमा महाराजगन्ज, धुम्बाराही, बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, स्वयम्भू छन् । इनबहाल, बागबजारमा पनि सयभन्दा बढी संक्रमित छन् । काठमाडौंका संक्रमितमध्ये ५५ प्रतिशत काठमाडौं महानगरमा मात्रै छन् । बिहीबारसम्म महानगरमा ३ हजार १ सय ८ जना संक्रमित भइसकेका छन् ।

भक्तपुरमा मध्यपुर थिमि नगरपालिकाको ३ नम्बर वडा कौशलटार, गट्ठाघर र ललितपुरमा महानगरपालिका क्षेत्रको कुपन्डोल, सानेपा, च्यासल, गाःबहालमा संक्रमित उच्च छन् । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।