देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफिन र नेपाल चिकित्सक संघबीच सम्झौता, महामारीसँग जुध्न संयुक्त परामर्श समिति गठन गर्ने निर्णय

देशान्तर

काठमाडौं । एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) र नेपाल चिकित्सक संघ बीच कोभिड– १९ महामारीसँग जुध्न संयुक्त परामर्श समिति गठन गरी अल्पकालिन र दीर्घकालिन योजनाहरु निर्माण गरेर अघि बढ्ने गरी सम्झौता भएको छ ।

बुधबार बसेको अपिन र चिकित्सक संघको संयुक्त बैठकले उक्त सम्झौता गरेको हो । सम्झौतापत्रमा अपिनका तर्फबाट अध्यक्ष बसन्तकुमार चौधरी र चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।

बैठकले तीन बुँदे निर्णय समेत गरेको छ । कोभिड १९ को महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी अफिन र नेपाल चिकित्सक संघले नेपालभरिका आफू मातहतका निजी अस्पतालहरुमा कोभिड– १९ बाट संक्रमित भएका चिकित्सकहरुका लागि आवश्यकता अनुसार बेड, आइसियु तथा भेन्टिलेटरसहितका बेडहरु प्राथमिकताकासात उपलब्ध गराइने निर्णय गरिएको छ ।

यसैगरी. अफिन र चिकित्सक संघको सहकार्यमा कोभिड– १९को बढ्दो संक्रमणबाट जोगिनका लागि अस्पतालमा हुने भिडभाड कम गर्न ओपिडी, इनपेसेन्ट, भिजिटर तथा स्वास्थ्य कामदार सम्बन्धी प्रोटोकल तथा गाइडलाइन तयार गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकमा विरगंजमा निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले तलब भत्ताको विषयलाई उठान गरी उपचार प्रक्रियामा सहभागी नहुने भनि गरेको आन्दोलनको विषयप्रति गम्भीर ध्यानाकर्षण भई गहन छलफल भएको जनाइएको छ ।

‘कोभिड महामारीका बेला यस्ता क्रियाकलापहरुलाई यथाशक्य छिटो सामान्य बनाउनुपर्ने विषयमा दुबै संघहरु सहमत हुँदै संयुक्त प्रयासमा आवश्यक सहजीकरण गर्ने निर्णय गरियो’, जारी विज्ञप्तिमा भनिएको छ ।