देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्यस्तो स्थितिमा कांग्रेसमा दुई ध्रुवबाट बहुध्रुवमा प्रतिस्पर्धा हुन सक्छ– नेता केसी

देशान्तर

अर्जुननरसिंह केसी, नेता, नेपाली कांग्रेस

कार्यतालिकाअनुसार काम भइरहेको छैन, कांग्रेसको महाधिवेशन फागुनमै हुन्छ त ?

फागुनमा तोकिएको अधिवेशन हुन्छ कि हुँदैन भन्ने भन्दा पनि यो केन्द्रीय कार्यसमितिमा अत्यन्त गम्भीरतापूर्वक छलफल भएको विषय हो । जब संस्थापन पक्षबाट तोकिएकै मितिमा महाधिवेशन गर्ने भनी प्रस्ताव भयो, तत्कालै मैले पहिलो अभिव्यक्ति दिँदै भनेको थिएँ– एकातिर कोरोना भाइरसको महामारी, साउन–भदौको वर्षा, त्यसपछि दसै–तिहार, छठपर्वजस्ता चाडपर्व र त्यसपछि जाडोयाम सुरु हुने र उच्च हिमाली जिल्लाहरूमा हिमपात पर्ने हुँदा फागुनमा नभए चैत, वैशाख अथवा जेठ १५ भित्र गर्ने गरी मिति परिमार्जन गर्नुपर्छ । जेठ १५ सम्म पुग्दा वर्षात् सुरु नहुने भएकाले उपयुक्त समय थियो । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भन्दा पनि अहिले जे जस्तो भयो भयो वस्तुगत समीक्षा गरेर अघि बढौं भनेको थिएँ । तर, त्यतिबेला सभापतिदेखि अरूले पनि तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउनुभयो ।

तर अहिले फागुनमा महाधिवेशन सम्पन्न हुने सम्भावना त देखिएन नि, हैन ?

यति दूरदर्शिता हामीले राख्न नसक्नुलाई के भन्नु ? नेतृत्व गर्नेलाई कुन शब्द प्रयोग गरौं ? मसँग शब्द छैन । यत्रो दृढताका साथ गरिएको महाधिवेशनको निर्णय कार्यान्वयन गर्ने हो भने जहाँजहाँ बाँकी रहेका काम छन् ती कुराहरूलाई छोट्याउँदै जान पनि सकिन्छ । अब यदि फागुनमा महाधिवेशन गर्न सकिँदैन भने केन्द्रीय समितिमा के कति कारणले गर्न सकिएन भन्ने जवाफसहित छलफल हुनुपर्छ ।

फागुनमा सकिएन भने महाधिवेशन कहिले गर्ने ?

फागुनभन्दा पछि सार्ने विषयमा म प्रवेश नै गर्न चाहन्न । सभापतिसहित पदाधिकारीले दृढतापूर्वक त्यही मितिमा गर्ने भनिसके पछि अहिलेको अवस्थामा त्यतिबेला किन त्यो मिति तोकिएको, के कारणले हुन सकेन र अब कहिले गर्ने भन्ने विषयमा केन्द्रीय कार्यसमितिमा प्रस्ताव आउनुपर्छ । अहिले मैले फलानो मितिमा गर्ने भनेर भन्न मिल्दैन ।

फागुनको महाधिवेशन टाढा भए पनि अहिलेदेखि नै नेतृत्वको चर्चा भने सुरु भइसकेको छ ?

नेतृत्वको प्रतिस्पर्धा जहिलेदेखि नै हुन सक्छ । किनभने राजनीतिक दलभित्र नीति, नेतृत्व, संगठन नै वास्तवमा भन्ने हो भने राजनीतिक दल हो । त्योभित्र कसैले पनि नेतृत्वको दाबी गर्नु, इच्छा आकांक्षा राख्नुलाई स्वाभाविक मान्न सकिन्छ । त्यसैले कोही साथीहरूले नेतृत्वको दाबी गर्नुभएको छ भने यसलाई मैले कुनै अनौठो मानेको छैन ।

अहिले नै नेतृत्वको हानथाप हु“दा महाधिवेशन थप प्रभावित हुने हो कि ?

महाधिवेशन त अहिले नै प्रभावित भइरहेको छ । थप प्रभावित पार्न खोजिएकै छ । हामीले चार वर्षभित्रै महाधिवेशन सकौं भनेर निरन्तर आवाज उठायौं । यो विषयलाई त्यतिबेला सम्बोधन गरेको भए चार वर्षभित्रै महाधिवेशन हुन्थ्यो । त्यो बेला कोभिड—१९ पनि थिएन । चार वर्षबाट कार्यकाल एक वर्ष थप गर्दा असाधारण परिस्थिति भनेर व्याख्या गर्ने अवस्था पनि केही थिएन । त्यतिबेला त्यसै एक वर्ष बढाइयो । अहिले कोरोना भाइरसको महामारी बढ्दो अवस्थामा छ ।

समायोजन नसकि“दा कार्यतालिका प्रभावित भयो होइन ?

कांग्रेसले निर्वाचन समिति गठन गरिसकेको छ । सबैको सहमतिमा हामीले उक्त समिति गठन गरेका हौं । उहाँहरूले निश्चित मापदण्ड तयार गरेर निर्देशिका दिइसकेपछि कसैको पनि मुख नहेरेर काम गर्नुपर्ने थियो । निर्देशिकामा भएको व्यवस्थाअनुसार उहाँहरूले निर्णय गर्न नसक्ने, गर्न नदिने अवस्थाले अत्यन्त अप्ठेरो स्थिति प्रदेश नम्बर २ का जिल्लामा देखा परेको छ । त्यसैगरी कतिपय जिल्लाहरूमा भने नियमपूर्वक समायोजन भएर आउँदा पनि केन्द्रले क्रियाशील सदस्यताको फारम नै दिएको छैन । सोलु, सिन्धुपाल्चोक, डँडेलधुरा लगाएतका केही जिल्लाहरूमा अहिले समस्या छ । समायोजन भइसके पछि फेरि थप समायोजन गर्ने कोसिस भइरहेको छ ।

समायोजन भइसकेका ठाउँमा फेरि बखेडा झिक्नुको भित्री उद्देश्य के हो त ?

विधि विधान प्रक्रियाभन्दा पनि हुकुमी शैली कांग्रेसमा हावी भएको छ । स्वेच्छाचारिक रूपमा पार्टी चलाउने र यसैबाट पार्टी कब्जा गर्ने मनस्थिति देखिन्छ, यो लोकतन्त्र र कांग्रेस दुवैका लागि दुर्भाग्यपूर्ण हुन्छ । लोकतन्त्रमा राजनीतिक दलभित्र विचारका प्रतिस्पर्धा हुन्छन् । कहिलेकाहीँ व्यक्तित्वको टकराव पनि हुन्छ । त्यसमा आश्चर्य मान्ने कुरा केही छैन । तर, अहिले प्रतिस्पर्धाभन्दा पनि कब्जाको रणनीति लिइएको देखिन्छ । अहिले जुन ढंगले पार्टी प्रवेशका नाममा केन्द्रीय कार्यसमितिमा फटाफट मनोनीत गर्ने काम भइरहेको छ । पार्टी प्रवेश गर्ने हैसियत भएका व्यक्तिलाई सदस्यता दिनु स्वाभाविक कुरा हो । तर, अहिले फलानो पार्टी प्रवेश गर्‍यो उसलाई पाँच हजार क्रियाशील सदस्यता, त्यहाँ १ हजार, यसैगरी १२ सय भनेर जसरी सदस्यता बाँडियो यो गलत छ । विजय गच्छदारको पार्टी मर्ज भएकाले उहाँले दिनु भएको लिस्ट र हाम्रो स्थानीय सभापति दुवै पक्षको क्षेत्रीय सभापति बसेर सक्रिय सदस्यता दिनुपर्छ भनेर हामीले केन्द्रीय कार्यसमितिबाट निर्णय गरेका थियौं । अरूको त कांग्रेसको विधानमा लेखिएकै अनुसार हुनुपर्ने हो ।

भनेको कांग्रेस अहिले हुकुमी शैलीमा चलेको हो, तपाईंहरूलाई पेल्दै ?

पेल्दै त के पेल्दै भन्नु । यस्तै अवस्था रहे कांग्रेसी हामी मात्रै होइन, लोकतन्त्र नै पेलिने खतरा छ । अहिले राष्ट्र नै गम्भीर दुर्घटना उन्मुख छ । देश अहिले छिमेकीहरूको गहिरो द्वन्द्वको चपेटा र अर्कोतर्फ अन्तर्राष्ट्रिय द्वन्द्वको चपेटमा पर्दै गएको छ । यो खालको जटिल परिसस्थतिमा यसबाट उन्मुक्ति दिने पार्टी भनेको नेपाली कांग्रेस मात्रै हो । नेपालका कम्युनिस्टहरू लोकतन्त्र र संविधानको जामा लगाएर एकदलीय कम्युनिस्टको दिशातर्फ अघि बढेका छन् । यसलाई रोकेर लोकतन्त्रको संरक्षण र संवद्र्धन गर्नका लागि फेरि पनि कांग्रेस मात्रै एउटा शक्ति हो । तर कांग्रेसका अहिलेका गतिविधिले देशलाई दुर्घटनातर्फ लैजाँदै छ । त्यसैले हामी अहिले कांग्रेसलाई सुधार गर्दै लैजाने पक्षमा रहेर काम गरिरहेका छौं । त्यसैले कांग्रेसको सशक्त नेतृत्व, कांग्रेसलाई नयाँ जीवन्तता, विचारको पुनर्जागरण, परिवर्तनको संवाहक, २००७, २०४७ र २०६२–०६३ को जसरी काम गर्नुपर्ने बेला छ ।

आसन्न महाधिवेशनबाट तपाईंले परिकल्पना गरेको कांग्रेस बन्छ ?

कांग्रेसलाई विचार केन्द्रित बनाउनुपर्छ । महाधिवेशन भनेको नेतृत्व चयनको मात्रै स्थल होइन । त्यो नीति निर्माण गर्ने पनि थलो भएकाले त्यसलाई प्रभावकारी बनाउन जरुरी छ । त्यसैको रूपमा हामीले आसन्न महाधिवेशनलाई प्रभावकारी रूपमा उपयोग गर्छांै । कांग्रेसलाई पुनर्जीवन दिएर फेरि पहिलो पार्टी बनाउने गरी काम गर्छौं ।

सरकार अलोकप्रिय भएका बेला प्रतिपक्षी कांग्रेसले राम्रो काम गर्नुपर्ने हो, तर कांग्रेस पनि सरकारजस्तै अलोकप्रिय छ ?

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताले जुन किसिमले भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन । सरकार असफल उन्मुख भइरहेको छ । त्यसलाई सशक्तता र जीवन्तता दिएर जनमानसमा जागरण निर्माण गर्ने काम गर्नुपर्ने थियो, प्रतिपक्षीका हिसाबले कांग्रेसले । भ्रष्टाचारको केसमा होस्, चाहे मूल्यवृद्धिको केसमा होस्, चाहे कोरोनाकै केस नै किन नहोस् यसमा कांग्रेसले सशक्तरूपमा आवाज उठाउनै सकेन । प्रतिपक्षको स्थान भनेको सडक र सदन हो । तर यी दुवै मोर्चामा कांग्रेस फितलो भयो । सदनमा भ्रष्टाचारको विषयमा पनि कुरा उठाउन सकिरहेको छैन । झिनो मसिनो स्वरमा कहिलेकाहीँ भनेर मात्रै हुँदैन । सरकारले गरेका गलत कामलाई आधार बनाएर हामीले संसद् बन्द गर्नुपर्ने थियो । विगतमा लाउडा केसमा अहिलेकै शासनमा रहेकाहरूले ५९ दिन संसद् अवरोध गरेका थिए । तर, अहिले वाइडवडी, न्यारो बडी, ओम्नीले सामान खरिद गरेको प्रकरणलगायतका थुप्रै विषयहरू हुँदा पनि कांग्रेसले केही गर्न सकेन । कांग्रेसले बरु अरू केशमा संसद् बन्द गरायो तर भ्रष्टाचारको केशमा कहिल्यै संसद् अवरोध गरेन । म पनि आफैं आश्चर्यमा परेको छु र दुःखी पनि छु, किन भएन भनेर ।

कांग्रेस किन कमजोर देखियो ?

यत्रो ऐतिहासिक पार्टी विगतको निर्वाचनमा हामी लज्जास्पद तरिकाले पराजित भयौं । त्यसको हामीले निर्मम समीक्षा गर्नुपर्ने जरुरी छ । त्यसमा देखिएका कमी कमजोरी र त्रुटिहरूलाई अब हामी दोहोर्‍याउन्नौं भनेर जनता र कार्यकर्तालाई भन्नुपर्ने र क्षमा माग्नुपर्ने स्थिति थियो । यत्रो ठूलो पराजयको समीक्षा गर्‍यौं, तर कसैले जिम्मा पनि लिएनौं । गल्तीबाट पाठ सिकेर हामी समाधानको बाटोमा पटक्कै लागेनौं । जे भइरहेको छ, त्यसैबाट २०७९ सालमा पहिलो पार्टी बनाउन सक्छौं भनेर लाग्यौं । त्यसैले नीतिगत, नेतृत्वगत र संरचनागत रूपमा पार्टीभित्र आमूल सुधार गर्दै अघि नबढ्ने हो भने झनै कमजोर बन्छ नेपाली कांग्रेस । अहिले पनि महाधिवेशनको मिति तोकिसके पछि नयाँ विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरू चार वर्ष कटेपछि गठन भए । विधानविपरीत कामहरू वर्तमान सभापति शेरबहादुर देउवाले गर्नुभएको छ । विगतमा सुशील कोइरालाले गरेका विभागहरू विधानविपरीत छन् भनेर देउवाले खारेज गर्नका लागि दबाब दिनुभएको थियो । सोहीअनुसार कोइरालाले खारेज पनि गर्नुभयो । त्यतिबेला कोइरालाले पार्टीको चारवर्षे कार्यकालभित्रै गठन गर्नुभएको थियो । तर अहिले चारवर्षे कार्यकाल सकिएर थपिएको समयमा गठन गर्नु विधानविपरीत हो । अहिले सभापति देउवाले आफ्नो पुरोना कुराहरू बिर्सिएर पार्टी कब्जा गर्ने मनस्थितिका साथ अघि बढ्नु भएको छ । अहिले जसरी विभागहरू गठन भए ती विभागहरू २०७४ का निर्वाचन अघि भएको भए परिचालनमा झनै राम्रो हुन्थ्यो । एक, दुई सिट बढी कांग्रेसले नै जित्थ्यो होला । त्यतिबेला मस्त निद्रामा सुतेका सभापति देउवा अहिले महाधिवेशनको मिति तोकिसकेपछि विभाग गठन गरेर कब्जा गर्ने रणनीतिमा हुनुहुन्छ ।

सभापति देउवाको गुट अलि बलियो देखिन्छ, तपाईंहरूको गुट हो कि समूह छुट्ट्याउन गाह्रो छ ? यस्तोमा तपाईंहरुले कसरी नयाँ नेतृत्वमा स्थापित हुन सक्नुहुन्छ ?

हामी अहिले राष्ट्रिय रूपबाट जिम्मेवारी बहन गर्ने केही व्यक्तिहरू छौं । हामीले अहिले स्वार्थविहीन संकल्प गर्नुपर्ने अवस्था छ । कांग्रेसलाई पुनर्जागरण गर्दै वैचारिक र अन्य सबै पक्षले राम्रो बनाउँछौं भनेर संकल्प गर्नुपर्ने बेला छ । पार्टीलाई नेता प्रधान होइन नीति प्रधान, पार्टीलाई व्यक्ति प्रधान होइन विधि प्रधान पार्टीलाई सत्तामुखी होइन, सत्यमुखी बनाएर गति दिन्छौं भन्ने प्रतिबद्धताका साथ पार्टीभित्रको सम्पूर्ण आन्तरिक लोकतन्त्रलाई सशक्तीकरण गर्ने, पार्टीका सामाजिक गतिविधिहरू देशव्यापीरूपमा अघि बढाउने देशभित्र देखिएका भ्रष्टाचारविरुद्ध सशक्त अभियन्ताको रूपमा पार्टीलाई जीवन्तता दिने मिसनमा हामीहरू संकल्पित होऔं । हामीहरूमध्ये जो उठ्दा पनि सहमतिबाटै अन्तिम निर्णय गरौं भन्ने मेरो जहिले पनिको प्रस्ताव हो । यो प्रस्तावमा अहिले पनि म एक भएर लागेको छु ।

तपाईंहरूको समूहबाट एउटै मात्र उम्मेदवार हुन्छ त ?

इच्छुक हुनु स्वाभाविक हो । यो समूहबाट इच्छुक र दाबेदार मान्छे म पनि हुँ । तर यो समूहबाट जो उठ्छ परिपार्टी भित्रको आमूल परिवर्तनको संवाहकको रूपबाट पार्टीलाई नयाँ जीवनतता दिन एउटा उम्मेदवार हुनुपर्छ । त्यसमा हामी काम गरिरहेका छौं ।

उताबाट विमलेन्द्र निधि पनि उम्मेदवार हुने चर्चा छ, यस्तोमा एक्लाएक्लै पनि भिड्न सकिन्छ भन्ने हो कि ?

त्यस्तो स्थितिमा दुई धु्रवबाट बहु ध्रुवमा प्रतिस्पर्धा पनि हुन सक्छ । त्यो पार्टीका लागि स्वस्थकर पनि हुन्छ । बहुध्रुवीय प्रतिस्पर्धा भएमा पछि गएर संयोजन गर्न पनि सजिलो हुन्छ । हेर्दै जानुस्, परिस्थति कसरी विकसित हुन्छ । पार्टीभित्र अहिले दुईवटा मात्रै विचार छन् । यथास्थितिबादी विचार, यत्रो पराजय पछि पनि यही तरिकाले फेरि पहिलो पार्टी बनाउने सपना देखिरहने नेतृत्व छ । तर हामी भन्छौं यसबाट पार लगाउन सकिँदैन । त्यसैले आमूल परिवर्तन गरेर नीतिगत सुधार गर्दै अघि बढ्नु पर्छ । हामी अझैं पनि आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा रहेर काम गर्नुपर्छ भन्ने पक्षमा छौं । हामी सुधारवादी पक्ष हौं । हामी सुधारवादी पक्षहरूबाट एउटा मात्रै उम्मेदवार प्रस्तुत गर्छौ भन्नेमा म विश्वस्त छु ।

त्यो उम्मेदवार को हो ?

त्यो जो पनि हुन सक्छ । म पनि हुन सक्छु । सबैको सहमति भयो भने । म यसमा सबै कुराले खुला छु । म मात्रै भनेर केन्द्रित गर्नु हुँदैन ।

सभापतिमा निधिको उम्मेदवारीको दावीले नया“नया“ समीकरणहरू बन्ने ढोका खुल्या हो ?

नयाँ समीकरण बन्ने ढोका त खुला भइसकेको छ । त्यस्तो भयो भने पार्टीको आन्तरिक विकासका लागि सकारात्मक हुन्छ भन्ने मेरो धारणा हो ।

निधिको उम्मेदवारी हु“दा आफूले हार्ने परिस्थति आयो भने आरजुलाई स्थापित गर्ने गरी तपार्इंहरूको उम्मेदवारलाई देउवाले सघाउने सम्भावना देख्नुहुन्छ ?

सम्भावनाकै भरमा केही टिप्पणी गर्न चाहन्न । तर एउटा कुरा के भन्छु भने विमलजीको पनि उम्मेदवारीको चर्चा आएको छ । अन्तिम रूपमा निर्णायक तरिकाले आउन त बाँकी नै छ । विमलजीले सभापतिमा दाबी गर्नुलाई म अस्वाभाविक मान्दिनँ । उपसभापति र उपप्रधानमन्त्री भइसकेको एकजना व्यक्ति पार्टीको सभापतिमा दाबेदारी गर्नु अस्वाभाविक पनि होइन । उहाँ साँच्चै उम्मेदवार हुनुभयो भने पार्टीभित्र बहुधुव्रीय प्रतिस्पर्धाको स्थिति उत्पन्न हुन सक्छ । त्यस्तो भयो भने अहिलेको दुईपक्षीय प्रतिस्पर्धाभन्दा जसले सक्रिय र सन्तुलित भूमिका खेल्न सक्छ ऊ नेतृत्वमा आउन सक्ने अवस्था पनि हुन्छ ।

१४ औं महाधिवेशनले परिकल्पना गरेको कांग्रेस कस्तो हो ?

अहिलेका बासी बानी, स्वेच्छाचारी विचार अहिलेको समूह र झुन्डबाट मुक्त भएर भागबन्डा होइन गुण र दोषको आधारमा साथै नेताहरूको परिक्रमा गर्नेको आधारमा नभएर परिश्रम गर्ने आधारमा, काम गर्ने मूल्य मान्यतालाई स्थापित गर्दै नयाँ नीति, नयाँ विचार र नयाँ ऊर्जाका साथ १४औं महाधिवेशनपछि नेपाली कांग्रेस आउँछ । हामी अहिले इतिहासमै कमजोर भएर चुनाव हारेका थियौं तर अब २०७९ सालको चुनावमा विगतका गल्तीहरूबाट पाठ सिक्दै एकाकार भएर कांग्रेस अघि बढ्छ र फेरि पहिलो पार्टी बन्छ ।


प्रस्तुति : मुक्तिबाबु रेग्मी

यही भाद्र १४ गते प्रकाशित देशान्तर साप्ताहिकबाट