देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा ट्रम्प र बाइडेनबीच वाक – युद्ध

देशान्तर

अमेरिकामा बढ्दो नश्लीय विभेदका बारेमा राष्ट्रपतिका दुई उम्मेदवारबीच भनाभन शुरु भएको छ ।

अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसाका बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रतिष्पर्धी जो बाइडेनबीच वाक–युद्ध नै चलेको हो ।

ओरिगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शनमा रहेका ‘ब्ल्याक लाइभ्स म्याटर’का प्रदर्शनकारी र ट्रम्पका समर्थकबीच झडप हुँदा चलेको गोली लागेर एक जना मारिएका थिए ।

चुनावी रन्कोमा रहेका राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याटिक मेयर टेड ह्वीलरलाई शहरमा हिंसा र हत्यालाई स्वीकृति दिएको आरोप लगाए ।

तर बाइडेनले भने पोर्टल्याण्डसहित देशका विभिन्न स्थानमा हिंसा बढ्नुको मुख्य कारक नै ट्रम्प भएको आरोप लगाउँदै परिणामको विचारै नगरी उनले हिंसालाई बढावा दिएको जिकिर गरे ।

शनिबार राति ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारीबीचको झडपमा हानेको गोली लागेर एक व्यक्ति मारिएकामा ट्रम्पले मृत्यु हुने व्यक्तिप्रति श्रद्धाञ्जली दिएका थिए ।

मारिनेको पहिचान त खुलाइएको छैन, तर उनी ट्रम्प समर्थक रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएका ट्रम्पले विस्कनसिनको केनोशामा प्रहरीले ढाडमा हानेको सात गोली लागेर मृत्युसँग संघर्ष गरिरहेका ज्याकोब ब्लेकका बारेमा भने केही बाेलेका छैनन ।

मिनेशोटाको मिनियापोलिसमा गत मे २५ मा प्रहरी ज्यादतीबाट निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइड मारिएपछि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेदविरुद्ध आन्दोलन हुँदै आएको छ । आन्दोलनको केन्द्रमा ओरिगनको पोर्टल्याण्ड शहर बनेको छ ।

राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डका मेयरलाई मूर्ख भन्दै हिंसा भड्किएको आरोप लगाउँदै त्यहाँ संघीय सुरक्षाकर्मी पठाउने बताइसक्नु भएको छ । मेयर ह्वीलरले भने ट्रम्पले नै देशमा विभाजन र घृणा सृजना गरेको जवाफ फर्काएका छन् ।

बाइडेनले भने ट्रम्पले समर्थकहरुलाई हिंसाको मार्ग नअपनाउन अपिल गर्न नसकेको टिप्पणी गर्दै यसबाट उनको कमजोरी झल्केको बताए ।