देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्को सातादेखि समुदायमा एन्टिबडी परीक्षण

देशान्तर

उपत्यकाको समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्राविधिक सहयोग लिएर यो साताभित्र तालिम सकाएर अर्को साताबाट समुदायमा परीक्षण (सेरो प्रिभिलेन्स अध्ययन) अघि बढाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ‘उपत्यकामा ट्राभल हिस्ट्री नभएका संक्रमित देखिएको र महिला संक्रमित प्रतिशत बढेको हुनाले संक्रमण समुदायमा फैलिएको हो कि भन्न सकिन्छ, समुदायको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गर्न लागेका हौं,’ ईडीसीडीका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने ।


संक्रमितको संख्या बढेकाले समुदायस्तरमा सेरो प्रिभिलेन्स अध्ययन गर्न मन्त्रालयलाई आफूहरूले सुझाव दिएको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । ‘यो अध्ययनले काठमाडौं उपत्यकाको कुल जनसंख्यामा कति संक्रमण भएछ, कति प्रतिशतको मृत्यु भयो भन्ने थाहा हुन्छ । त्यसैले हामीले यही सुझाव दिएका हौं,’ उनले भने, ‘यो अध्ययनको नतिजाबाट योजना बनाउन पनि सहज हुन्छ ।’ यो अध्ययनमा तोकिएको क्षेत्रका सर्वसाधारणको रगत निकालेर संक्रमण भएको छ कि छैन भनेर परीक्षण गरिन्छ । पीसीआर गर्दा तत्काल कोरोना भएको मात्रै थाहा हुन्छ तर, कोरोना लागेर निको भइसकेको हो भने थाहा हुँदैन । समुदायमा एन्टिबडी परीक्षण गर्नका लागि ‘र्‍यान्डम स्याम्पलिङ’ का आधारमा कुल जनसंख्याको निश्चित प्रतिशत छानिन्छ ।

‘सबैको परीक्षण गर्न सकिँदैन । निश्चित ठाउँमा गएर नमुना लिएर अध्ययन गरिन्छ,’ बाँस्तोलाले भने । समुदायका धेरै व्यक्तिको परीक्षण गर्ने र अवस्था पत्ता लगाउने उपयुक्त विधि एन्टिबडी परीक्षण भएको उनले बताए । ईडीसीडीका निर्देशक डा. पाण्डेले एन्टिबडी सेरोलोजिकल टेस्ट विश्वसनीय र भरपर्दो हुने भएकाले समुदायमा ठूलो समूहको परीक्षण हुने बताए । एन्टिबडी परीक्षणमा शरीरमा कोरोना भाइरस संक्रमण छ भने त्यसविरुद्ध शरीरले उत्पादन गरेको भाइरसप्रतिरोधी प्रोटिन भए/नभएको हेरिन्छ । कान्तिपुरमा खबर छ ।