नेपाली काग्रेस (नेका) केन्द्रीय कायसमितिको असार २२ गतेको बैठकले तय गरेको फागुन ७–१० को महाधिवेशन कोभिड— १९ संक्रमणको कारणले होस् अथवा त्यसको बहानामा नै किन नहोस् अनिश्चित हुँदैछ । निश्चित चाहिँ १४औं महाधिवेशन आउँदो ६ महिनाको अवधिमा अर्को कुनै मितिमा हुन्छ । त्यसैगरी अर्को निश्चित कार्यचाहिँ उक्त महाधिवेशनले दुईमध्ये एक विकल्पहरू (क) यथास्थितिलाई निरन्तरता दिने अथवा (ख) पार्टीले गुमेको साख तथा हैसियतलाई पुनस्र्थापना गर्नेमध्ये एकलाई रोज्नेछ ।
स्थापनकालदेखि नै नेकामा नेतृत्व हाबी हुने परिपाटी छ । पार्टीले प्रतिपादन तथा अवलम्बन गर्ने नीतिलगायत पार्टी व्यवस्थापन र सञ्चालन अभिभारा नेतृत्वमा निहित हुने परम्परा नै छ । यस परिपेक्ष्यमा १४औं महाधिवेशनले विद्यमान नेतृत्वलाई निरन्तरता दिने अथवा नयाँ नेतृत्व चयन गर्ने निर्णय लिनेछ ।
महाधिवेशन नजिकिँदै गर्दा स्थापित तीन गुटहरूमा विभाजित दलको सभापति पदका प्रत्याशीहरूको संख्या दर्जन पुग्न लागेको छ । यदि व्यक्तिपरक नहुने हो भने सभापति पदका प्रत्यासीहरूलाई तीन पंक्ति वा कित्ताअन्तर्गत राख्न सकिन्छ । ती हुन् (१) ‘दोस्रो पुस्ताका नेता’ चाहे ती स्थापन पक्षका हुन् अथवा इतरका । पार्टी सभापति एक चोटी बन्न पाउनुपर्ने माग राख्न्नेहरू, (२) विरासतलाई निरन्तरता दिने (अघोषित) हकदारहरू तथा (३) नेकाले गुमाएको हैसियत फिर्ता लिँदै यस दललाई गन्तव्य उन्मुख तुल्याउने युवा पिँढी ।
प्रथम पंक्तिका नेताहरूमध्ये अधिकांशको पृष्टभूमि नेपाल विद्यार्थी संघ स्थापना पूर्वदेखि विद्यार्थी आन्दोलनमा सक्रियताबाट भएको हो । अत्यन्त प्रतिकूल राजनैतिक अवस्थामा (पञ्चायतले जरो गाड्दै गरेको, नेका नेताहरू जेल अथवा निर्वासन तथा प्रशासन संयन्त्र कांग्रेसलाई खोजीखोजी गिरफतार गर्न सक्रिय) दोस्रो पुस्ताका नेताहरूकै अथक प्रयासमा नेपाल विद्यार्थी संघ गठन भएको हो । हाल सात दशक पार गरिसकेका यी नेताहरूबीच एकआपसमा दुई, चार वर्ष उमेर तलमाथि भए पनि उनीहरू कुनै कालखण्डका अभिन्न मित्र थिए । के खाऊ, के लाऊ भन्ने उमेरमा “टाउकोमा कात्रो बेरेर” पञ्चायत व्यवस्थाको विरोध गर्दै नेकाको मियो यिनले नै जोगाएको हो । अधिकांशले पटकपटक लामो अवधि जेल वा निर्वासनमा बिताए । संसदीय व्यवस्थाको पुनस्र्थापना कालखण्डमा उनीहरूले गरेको विगतको योगदानको कदरस्वरूप अधिकांशलाई पटकपटक सत्तामा हाबी हुने अवसर पार्टीले सुम्पियो । प्रधानमन्त्री, संसद्, सभामुख, उपप्रधानमन्त्री तथा मन्त्री पदमा यही समूहका नेताहरूको वर्चस्व रह्यो । पार्टी सञ्चालन कार्यमा पनि उनीहरू हाबी हुन पाए ।
विगत तीन दशक लामो कालखण्डमा दोस्रो पुस्ताले गरेको योगदानहरूको आलोचनात्मक मूल्यांकन गर्ने हो भने तीन तथ्यहरू प्रकाशमा आउँछ । जस्तै, (१) दुई जीवित संस्थापक नेताहरू गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईले असन्तुष्टि पोख्दै पार्टी त्यागे, (२) नेका र नागरिकहरूबीचको चार दशक लामो सुमधुर सम्बन्धमा तिक्तता आउनुका साथै दलप्रतिको बढ्दो जनमानसमा उब्जेको विश्वासको संकट तथा (३) पार्टीमा बिचौलियाहरूको हाबी आदि । छोटकरीमा भन्नुपर्दा नेकाले वर्तमान कालखण्डमा भोग्दै गरेको नियति (दुर्दशा) का निमित्त “दोस्रो पुस्ता”को भूमिका अहम् छ ।
दोस्रो पंक्तिका प्रत्यासीहरूको पृष्ठभूमि नेता पुत्र हुनुको छ । गुटगत हिसाबले उनीहरूमध्ये एक संस्थापन पक्षसँग आबद्ध छन् भने दुई “इतरपक्ष” । तीनमध्ये दुईले (प्रकाशमान सिंह तथा विमेलेन्द्र निधि) नेपाल विद्यार्थी (नेवि) संघ मार्फत विद्यार्थी आन्दोलनमा सहभागिता जनाएर सुरु गरेका हुन्, आफ्नो राजनैतिक ‘करिअर’ । नेविसंघ उनीहरूका निमित्त ‘प्लेटफर्म’ अथवा ‘स्विमिङपुलको स्प्रिङ बोर्ड’ थियो । दुवैले नेविसंघको नेतृत्वको हाबी हुँदै ‘राष्ट्रिय स्तरको नेता’को छवि निर्माण गर्न सफल भएका छन् । दुवैलाई पार्टीको उच्च पदहरू जस्तै उपसभापति, महामन्त्री र सरकारको मन्त्री तथा उपप्रधानमन्त्री पद मिलिसकेका छन् । विरासतको हकदार दाबेदारी गर्नेहरूमध्ये डा. शशांक कोइरालामात्र यस्तो नेता हुन् जसको नेविसंघको राजनीतिसँग कुनै सरोकार रहेन तथा हालसम्म उनलाई सत्तासीन हुने अवसर पनि मिलेको छैन । पार्टीको १३औं महाधिवेशनमा डा. कोइरालालाई निर्वाचित महामन्त्री पद प्राप्त भयो तथा संविधानसभादेखि संघीय संसद्को निर्वाचित सदस्य बन्ने अवसर पनि । जुन सौभाग्य बीपी पुत्र भएको नाताले डा. कोइरालालाई पूर्व पार्टी सभापति एवं प्रधानमन्त्री पुत्र पदवी मिलेको छ त्यो अन्य दुईलाई छैन । गणेशमान सिंह तथा महेन्द्रनारायण निधि दुवै पार्टी सभापति अथवा प्रधानमन्त्री हुन पाएनन् । पिता पार्टीका ख्याति प्राप्त नेता भएको नाताले नेता पुत्रहरूलाई पार्टीको सभापति पदप्रति मोह हुनु स्वाभाविक नै हो । तिनैले हासिल गरेको सफलताहरूमा पैतृक पृष्ठभूमि तथा आफ्नो सक्षमतामध्ये कुन चाहिँले बढी भूमिका खेल्यो जस्ता विवादित विषयमा प्रवेश गर्ने मनसाय मेरो छैन ।
तेस्रो पंक्तिमा आफ्नै पौरखमा विद्यार्थी जीवनदेखि नेविसंघसँग आबद्ध भएर नेका राजनीतिमा प्रवेश गरेका ‘युवा नेताहरू’ पर्दछन् । उमेरको हदले सात दशक पार गरिसकेका दोस्रो पुस्ता तथा ५० वर्ष पार गरिसकेका नेता पुत्र प्रत्याशीहरूका निमित्त यस पंक्तिका दाबेदार ‘महात्वाकांक्षी’ युवा भन्ने छ । त्यसो भनिरहँदा विगतमा नेकाको इतिहास तथा पहिचान निर्माणकर्ताहरूले आजका युवा नेताहरूको उमेरमा आफ्नो कीर्ति कायम गरिसकेको वास्तविकतालाई ओझेलमा उनीहरूले पार्ने गर्दछन् । युवा समूहका प्रत्यासीहरूको लामो संघर्षशील इतिहास नभए पनि उनीहरूले अध्ययन गरेका छन् । दलले विगतमा के कस्ता संकटहरू भोग्यो त्यसको विश्लेषण उनीहरूले गरेका छन् । वर्तमानमा दलले भोग्दै गरेको संकटका कारणहरूलाई केलाई केलाई उनीहरूले विश्लेषण पनि गरेका छन् । पहिलो र दोस्रो पंक्तिका नेताहरूले गर्न नसकेको अथवा नचाहेको अनेक कार्यहरूमध्येको प्रमुख चाहिँ यस समूहका प्रत्यासीहरूले नेका तथा राष्ट्रको भविष्य सुनिश्चित गर्ने मार्गचित्र उनीहरूले कोरेका छन् ।
माथि उल्लेख गरिएका प्रथम तथा दोस्रो पंक्तिका अदक्ष पदका दाबेदार नेताहरूले प्रदर्शन चारित्रिक गुणहरूमा खासै भिन्नता छैन । उनीहरूको गुट मात्रै फरक हो । दुवै कित्ताका उम्मेदवारहरूले ‘दलको स्वर्ण अक्षरमा लेखेको गौरवशाली ऐतिहासिक देनहरू’ घण्टौंसम्म पट्यारलाग्दो व्याख्या गर्दछन् । ‘महामानव तथा जननायक’ बीपी कोइरालाको ‘वैचारिक सान्दर्भिकता’को चर्चा गर्न पनि उनीहरूले भ्याइदिन्छन् । उनीहरूमध्ये कोही बेलाबखत बीपीको मार्गदर्शनबाट दल विचलित भएको दुःखेसो पनि पोख्दछन् । तर दुवैथरीले बीपीको ‘सुकुला मुकिलाहरू’ (वर्तमान सन्दर्भमा बिचौलिया)को कब्जाबाट पार्टीलाई जोगाउने चुनौतीप्रति ध्यान दिनेभन्दा लाभ हासिल गर्न सफल रहे । त्यसैगरी बीपीको उक्ति ‘देशको उन्नति हाम्रो लक्ष्य हो । कांग्रेस संस्था हाम्रो साधन हो’लाई आफ्नो र आफन्तको उन्नति लक्ष्य प्राप्तिका निमित्त कांग्रेस संस्थालाई साधनको रूपमा प्रयोग गर्न सफल रहे । उनीहरूले अँगालेको संस्कारको प्राथमिकतामा नेका तथा जनसाधारण पर्न नै सकेनन् ।
नेकालाई (२०७६/७६) स्थानीय तह, प्रान्तीय तथा संघीय संसद्हरूका निमित्त सम्पन्न भएका चुनावहरूमा अकल्पनीय हार व्यहोर्नु पर्यो । प्रथम संसदीय निर्वाचनमा दुई तिहाइ मत प्राप्त गरेको, संसदीय प्रणालीको पुनस्र्थापन कालखण्डमा भएका निर्वाचनहरूमा समेत प्रथम अथवा दोस्रो स्थान प्राप्त गर्दै गरेको नेकालाई यस पटक ‘लज्जास्पद हार’ व्यहोर्नु पर्दाको मर्म बुझ्न कठिन छैन । विगत तीन दशक लामो अवधिमा मतदाताको अनुपातमा पार्टीको मतपेटिकामा खस्ने मत संख्या घट्दै गएको हो । त्यस विषय दलभित्र छलफल गर्ने जरुरत नेतृत्वले ठानेन । न त उसले नागरिकहरूबीच रहेको सम्बन्ध झिनो हुँदै जानुको पछाडिका कारणहरूको खोजमा समय बिताउनु आवश्यक ठान्यो । स्थापित कांग्रेस पहिचान तथा चरित्र अर्थात् निस्वार्थी नागरिक हक अधिकार समर्पित विद्रोहीहरूको समूह भन्ने जनमानसको विश्वासमा आएको ह्रासप्रति चनाखो नै हुन सक्यो । संसदीय प्रणालीको पुनस्र्थापनापश्चात्को तीन दशकमध्ये झन्डै दुई दशक लामो अवधिमा नेकाले सत्तासीन हुने अथवा सत्ता साझेदारीमा अहम् भूमिका निर्वाह गर्ने अवसर पायो । त्यस्ता अवसरहरूमा एकपछि अर्को गरेर कांग्रेस नेताहरू भ्रष्टाचारका काण्डहरूमा मात्र होइन आपराधिक गतिविधिहरूमा समेत मुछिए । पार्टी नेतृत्वले त्यस्ता प्रवृत्तिको भत्र्सना गर्नु तथा आपराधिक क्रियाकलापमा संलग्न हुनेहरूलाई अलगिनुको साटो संरक्षण दिन बढी समय व्यतित गर्यो ।
समकालीन स्थापित नेतृत्वले आत्मकेन्द्रित हुँदै आफ्नो अभीष्ट पूर्तिका निमित्त नेका दललाई भरपुर उपयोग गर्यो । चाहे संस्थापन पक्षका हुन् अथवा इतर पक्षकै किन नहुन अध्यक्ष दोस्रोे पुस्ताका तथा विरासतका हकदाबी गर्ने प्रत्यासीहरूमध्ये अधिकांश सत्तामा केन्द्रित हुने छैनन् अथवा दललाई आफ्नो फाइदाका निमित्त प्रयोग गर्ने छैनन् भन्ने आकांक्षा राख्नका निमित्त उनीहरूको विगतका क्रियाकलापले शंकाको सुविधा गर्ने स्थानसमेत छोडेका छैनन् । ढिलै भए पनि समय आएको छ, कांग्रेसजनका निमित्त ऊर्जाशील चलायमान निस्वार्थी नेतृत्व चयन गर्ने यस दलको गुमेको साख र लोकप्रियतालाई पुनस्र्थापना गर्नका निमित्त । यदि विवेक हाबी हुने हो भने यो सुवर्ण अवसर हो, दोस्रो पुस्ताका नेता तथा पैतृक विरासतको आधारमा प्रत्याशी हुनेहरूका निमित्त आफ्नो कार्यकालको अन्त्यमा समीक्षा गरेर पदभार नयाँ पुस्ताका सक्षम नेतालाई सर्वसम्मतिले चयन गर्ने । अन्यथा आफैं पुनः हाबी हुन खोज्दा उनीहरूकै जीवनकालमा नेकाले प्रजापरिषद्को नियति भोग्ने प्रबल सम्भावना हुनेछ ।
भाद्र १४ गते प्रकाशित देशान्तर साप्ताहिकबाट
प्रतिक्रिया