देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भो सिन्जोसँग ओलीको तुलना नगरौं !

देशान्तर

जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजिनामा दिएपछि विश्व राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । वीवीसी, सीएनएन, अलजजीरा, रोयटर्सदेखि ग्लोवल टाइम्स लगायत विश्वभरका मिडियामा सिन्जोको राजिनामाको खवरले महत्वपुर्ण परिघटनाका रुपमा चर्चा जमाएको छ ।

पछिल्लो एक साताको अवधिमा दुई पटक स्वास्थ्य परिक्षणका लागि अस्पताल पुगेका ६५ वर्षिय सिन्जोले आफ्नो स्वास्थ्यका कारण मुलुक र जनताको हीतमा राम्रा निर्णय गर्न नसक्ने हो कि भन्ने चिन्ताले सताएको र जारी कार्यकाल पुरा गर्न नपाएको भन्दै आम जनतासँग माफि माग्दै पद छाडेका हुन् । दुई तिहाइ जनमतका साथ सत्तामा पुगेका सिन्जोको कार्यकाल सकिन अझै एक वर्ष बाँकी थियो । धेरै वर्षदेखि अल्सरेटिभ कोलाइटिस नामको ठुलो आन्द्रा सम्बन्धी रोगबाट पीडीत रहँदै आएका सिन्जोको स्वास्थ्य अवस्था पछिल्ला दिनमा आएर थप बल्झिदै गएको थियो । सिन्जो जापानमा सबैभन्दा लामो समयसम्म निरन्तर सत्ता सम्हाल्ने प्रधानमन्त्री हुन । सन् २०१२ देखि २०२० सम्म उनी निरन्तर जापानको प्रधानमन्त्री रहँदै आएका छन् । यसअघि सन् २००६ देखि २००७ सम्म पनि सिन्जो छोटो समयका लागि जापानको प्रधानमन्त्री रहेका थिए । त्यसबेला पनि स्वास्थ्यकै कारणले उनले पद छाडेका थिए ।

सिन्जोको राजिनामा लगत्तै सामाजिक संजाल तिव्र प्रतिकृयाहरूले भरिएका छन् । उनको राजिनामा आउने खवर सार्वजनिक भए लगत्तै वरिष्ठ पत्रकार तारानाथ दाहालले बिरामी भएपछि सरकार हाक्न बाधा हुने ठानेर जापानका ६५ बर्षीय प्रधानमन्त्री सिन्जो आबेले पदावधि एक वर्ष छदै राजिनामा दिन लागेछन् । हामा प्रधानमन्त्री ओलीको पनि स्वास्थ्य अबस्था कति जटिल र कमजोर छ भन्ने दुनियाँलाई थाहा छ । तर देश गज्जबले हाकेर समृद्धीका लागि स्थायित्व दिएकै छन् भन्ने ब्यग्यात्मक टुइट गर्नुभएको छ । त्यस्तै सुवास घिमिरेले बिरामी भएका प्रधानमन्त्रीले राजिनामा दिने ! तर जापानमा, भनेर नेपालका प्रधानमन्त्रीप्रति ब्यंग्य गर्नुभएको छ । त्यस्तै विराट अनुपमले जनताले राजिनामा नमागि राजिनामा दिएर जापानी प्रधानमन्त्री सिन्जोले जनमतको अपमान गरे भनेर लेख्नुभएको छ ।

राजिनामा दिएका जापानी समकक्षीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका प्रधानमन्त्री ओलीको टुइटमा आश्चर्यवोधक शैलीमा पत्रकार तथा आमसंचारका अध्यापक श्रीराम पौडेलले जापानी प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा गरेको प्रम ओलीले जानाजान इग्नोर गर्नुभएजस्तो लाग्यो । जापानसँग वलियो मित्रता रहेका मुलुकका कार्यकारीहरूले सिन्जो कार्यकालका सम्बन्धको स्मरण गरेका छन् । हाम्रा राष्ट्रपतिको जापान भ्रमणको वर्षदिन पुग्न अझै दुई महिना बाँकि छ भनेर उत्तर फर्काउनु भएको छ । पत्रकार चन्द्रशेखर अधिकारीले कोमाबाटै शासन चलाउनेहरूलाई सिन्जोले सन्देश दिएकै हुन है ! स्वास्थ्य लाभको कामना !! भन्ने टुइट गर्नुभएको छ । यस्तै मधुसुधनको टुइट छ– यी जापानका प्रधानमन्त्री हुतिहारा रहेछन् । आइसीयुमा बसेर पनि शासन कसरी चलाउन सकिन्छ भन्ने नेपालका प्रधानमन्त्रीबाट सिक्नु नि ।

समग्रमा सफल भनिएका र राजिनामाका लागि कुनै दवावमा नरहेका जापानी प्रधानमन्त्रीको पद त्यागको घोषणा तथा कामै गर्न नसकेको भनेर चौतर्फी राजिनामा माग गर्दा पनि अनेक तिकडम र खेलोफड्को गरेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पद जोगाएका ओलीबिचको तुलना सामाजिक संजालमा मज्जैले गरेको देखिन्छ ।

तर लिवरल डेमोक्रेटिक पार्टीका अध्यक्ष रहेका सिन्जो आधुनिक जापानको इतिहासमा सबैभन्दा सफल प्रधानमन्त्री मानिन्छन् । विश्वकै ठूला ६ वटा अर्थतन्त्र मध्ये अमेरिका, चीन पछि तेसो नम्बरमा आउने जापानको अर्थतन्त्र सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । जापानको इकोनोमिक्सलाई आबेनमिक्स उपनामले चिनिन्छ । सरदर आयु नब्बेदेखि एक सय वर्षसम्म रहने जापानमा ६५ बर्षको उमेरलाई युवा अबस्थाकै रुपमा लिइन्छ । पदवाट राजिनामा दिन उपस्थित सिन्जोले जम्माजम्मी वीस मिनेट मात्रै सम्बोधन गरे । सम्बोधनमा न उनी आत्मप्रशंसामा रमाए, न त जापानमा उनले गरेका कामहरूकै चर्चा परिचर्चा गरे, बरु उल्टै आफूले गर्न नसकेका कामका लागि जनतासमक्ष विनम्रतापूर्वक क्षमा मागे । कोभिड– १९ महामारी नियन्त्रण र ब्यवस्थापनमा पनि उनी अहोरात्र खटिइरहेकै थिए । विरामी भेट्न र अस्पताल निरीक्षण गर्न अमेरिकी राष्ट्रपति ट्रम्प मास्क नलगाई दौडेको तथा भारतका प्रधानमन्त्री मोदीले स्वास्थ्यलाभको कामना गरेको जस्तै महामारी नियन्त्रणको काममा सिन्जोको पनि चर्चा चलेको थियो ।

यता नेपालका प्रधानमन्त्री ओलीको काम गराई, वोली र व्यवहार सबैले देख्दैभोग्दै आएकै छौं । उमेर र स्वास्थ्य अबस्थाको त धेरै चर्चा परिचर्चा गर्नु श्रेयस्कर नहोला । पद जोगाउन रातारात शितल निवास र नेता वामदेव निवास भैसेपाटी ओहोरदोहोर गरेका प्रधानमन्त्रीबाट म खट्न सकिन भनेर राजिनामाको आश गर्नु फर्सीको बोटमा काक्रो फल्ला भनेर आश गर्नु बराबर हो । प्रधानमन्त्री ओली यस्तो ठूलो महामारीमा न कुनै विरामी भेट्न अस्पताल पुगे न त क्वोरेन्टिन र कोभिड बिषेष अस्पताल निरिक्षणमै । पद जोगाउन गरेको धपेडी वाहेक अरु काममा ओलीको सक्रियता केवल वालुवाटार र सिंहदरवारको चौघेरामै सिमित छ । सिन्जोसँग ओलीको तुलना गर्नु आफैमा हास्यास्पद छ । तर पनि यस्तो संकटको बेला आश राख्नु र अन्य नेतासँग आफ्ना नेताको तुलना गर्न पाउने अधिकार त आम नेपाली जनमानससँग सुरक्षित हुने नै भयो । तर व्यर्थको तुलनाले न ओलीको घैटोमा घाम लाग्नेछ, न नेपालको विग्रदो स्थिती नै सुध्रनेछ । त्यसैले, भो सिन्जोसँग ओलीको तुलना नगरौं !