देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय काँग्रेसको भावी अध्यक्ष को होला?

देशान्तर

भारतीय काँग्रेस अध्यक्ष सोनिया गान्धीले अध्यक्ष पद छाड्ने आँकलन गरिएको छ । यस्तोमा अब काँग्रेस अध्यक्ष को होला त्यसको चर्चा पनि शुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अन्तरिम अध्यक्ष सोनियाले आज विहान ११ बजे वर्किङ कमिटी (सीडब्ल्यूसी) को बैठक आह्वान गरेकी छिन् ।

उक्त वैठकमा पार्टीको नयाँ अध्यक्ष चुन्नका लागि प्रस्ताव गर्ने बुझिएको छ । यो बैठक कोरोना भाइरसको महामारीका कारण भिडियो कन्फ्रेन्स मार्फत हुने छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोनियाले पार्टीका नेताहरुसँग नयाँ अध्यक्ष चयन गर्न अनौपचारिक तरिकाले आग्रह गरिसकेकी छिन् । सोनिया काँग्रेसमा २० वर्ष देखि अलग अलग भूमिकामा रहेर काम गरिसकेकी छिन् ।
उता, राहुल गान्धीले अध्यक्षको जिम्मेवारी लिन इन्कार गरेको बताइएको छ ।

२०१९ को लोकसभा निर्वाचनमा पार्टी पराजय भएपछि राहुलले अध्यक्ष पदबाट राजीनामा दिएपछि सोनिया अन्तरिम अध्यक्ष बनेकी थिइन् । एक वर्षका लागि अन्तरिम अध्यक्ष भएकी सोनियाको कार्यकाल अगस्ट १० तारिखमा सकिएको थियो । पछिल्लो बैठकमा सोनियालाई पार्टीको कमाण्ड सम्हाल्न आग्रह गर्दा उनले आफूलाई इच्छा नभएको बताएकी थिइन् ।


बैठकमा काँग्रेससँग रहेका ४ विकल्प

१. सोनिय पार्टीको अन्तरिम अध्यक्षमा रहिरहने । अध्यक्षको चयनका लागि चुनावी प्रक्रिया अघि बढाउने ।

२. चुनाव मार्फत राहुललाई फेरि अध्यक्ष नबनाउँदासम्म गैर गान्धी नेता अर्थात वरिष्ठ नेतालाई अध्यक्ष मानेर अघि बढ्ने । यस्तोमा, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, मल्लिकार्जुन खड्गे र मुकुल वासनिकको नाम चर्चामा छ ।

३. अहिले नै राहुललाई अध्यक्ष बनाउनका लागि मनाउने । अहिलेसम्म राहुलको राजीनामा स्वीकृत नभएकाले उनलाई पुनः सोही पदमा फर्काउन सकिने अवस्था रहेको काँग्रेस नेताहरुको बुझाई छ । यसैगरी राहुललाई संगठनमा ब्यापक फेरबदल गर्न दिने सुविधा पनि दिन सकिने तयारी छ ।

४. अध्यक्षका लागि राहुलको नाम आजै प्रस्ताव पनि हुन सक्छ । महासचिव केसी वेणुगोपालले अध्यक्षमा राहुललाई फेरि प्रस्ताव गर्न सक्छन् । तर कार्यसमितिले चुनावको घोषणा गरेमा भने यी विकल्पहरु त्यही सकिने छन् ।

सन् २०१४ को चुनावमा सोनिया गान्धी अध्यक्ष थिइन् । यो चुनावमा काँग्रेस इतिहासमै सबैभन्दा कम ४४ सिटमा समेटियो । २०१९ को चुनावको दौरान राहुल अध्यक्ष थिए । उक्त चुनावमा काँग्रेसले जम्मा ५२ सिट हात पारेको थियो ।
सन् २०१० मा काँग्रेसका कार्यकर्ता चार करोड थिए । तर अहिले त्यो संख्या एक करोडले घटेको पाइएको छ । मध्यप्रदेश, राजस्थान, गुजरात र मणिपुर लगाएतका ठाउँमा काँग्रेस नेताहरुकाबीचको आपसी खिचातानीक ाकारण कार्यकर्ता भड्किएका छन् ।

सलमान खुर्शीदले सबैको सहमतिमा राहुललाई अध्यक्ष बनाउन जोड दिएका छन् । पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पनि अहिले गान्धी परिवारकै सदस्यलाई अध्यक्ष बनाउन जोड दिएका छन् ।

छत्तिसगढका मुख्यमन्त्री भूपेश बघेल पनि राहुल गान्धीकै पक्षमा छन् । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पनि राहुलले नै काँग्रेसको नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् ।
तर, केही नेताहरु भने काँग्रेसको विरासत अब गान्धी परिवारबाट बाहिर जानुपर्ने पक्षमा पनि रहेका छन् ।

गुलाम नवी आजाद, आनन्द शर्मा, कपिल सिब्बल, मनिष तिवारी र शशि थरुरसहित २३ नेताले सोनियालाई पत्र लेखेर पार्टीमा परिवर्तन आवश्यक रहेको उल्लेख गरेका छन् ।