२०१६ सालतिर म रेडियो नेपालमा जाने गर्दथें, गीत गाउन पाइन्छ कि भनेर । त्यहाँ एउटा रिहर्सल रुम थियो, ठूलो हल, जसका भित्ताहरू ‘साउन्ड प्रुफ’ थिए । त्यहीँ एक छेउमा गाएर प्रसारण गर्ने ठाउँ थियो, माइकसहितको । पहिलो पटक त्यहाँ पुग्दा, मैले देखें, कलाकारहरू आआफ्ना साजसहित रिहर्सल गरिरहेका थिए । रामशरण दर्नाल, मनुश्याम आदि भ्वाइलिन बजाइरहेका थिए ।
तबलवी तबला बजाइरहेका थिए, मादल ठोक्नेहरू मादल ठोकिरहेका थिए । नजिकै एक कुनामा प्यानो थियो । म त्यसमा आकर्षित भएँ । त्यहाँ नातिकाजी गीत गाइरहेका थिए प्यानोमा– “आजै र राति, के देखें सपना, मै मरिगएको… मै मरिगएको । नातिकाजीको मधुर स्वर गुञ्जिरहको थियो । प्यानोमा उनका औंला चलिरहेका थिए । बुझ्दा थाहा भयो, त्यो गीत माधव घिमिरेको रहेछ । बडो मीठो धुन थियो । माधव घिमिरेको गीतसँग, मेरो ‘लाइभ’ परिचय त्यही थियो ।
घिमिरेका कविताहरूबाट त कोर्सका कितावहरूबाट त म पहिल्यै परिचित भइसकेको थिएँ । तै पनि त्यो गीत सुन्दा, मलाई उनीसित एक नयाँ परिचय भएजस्तो लागेको थियो । साक्षात परिचय हुन अझै टाढै थियो ।
धेरैपछि कवि माधव घिमिरेसित मेरो परिचय भएको थियो, कहाँ, कसरी त्यो अहिले सम्झनाबाट ओर्लिएको छ । त्यसपछि उनीसित भेट हुँदा म जहिले पनि आदरपूर्वक नमस्कार गर्थे । पछि उनले प्रवचन दिएको पनि सुन्न थाले । एउटा आफ्नो शैली थियो उनको । अन्य कति कवि–लेखक उनको शैलीको नक्कल गर्थे । त्यो पनि सुन्थे । मिमिक्री ।
एकेडेमीमा जाँदा उनीसित भेट हुन्थ्यो । शिष्टाचार मात्र बढी हुन्थ्यो । समारोहहरूमा भेट हुन्थ्यो । म नमस्कार गर्थे, अब उनी चिनेको किसिमले भन्न थालेका थिए– “सबै ठीक छ ?” म भन्थें– “ठीक छ कविज्यू ।” त्यतिकै ।
तर क्रमशः परिचय बढ्दै गयो । म पनि कविता लेख्थें, रूपरेखामा । उनले कुनै कुनै पढे पनि होलान् । उनका आँखामा मप्रति परिचयको भाव देखिन थाल्यो । ‘मालती–मंगले’ पछि त उनी मसित स्नेह–भावले कुरा पनि गर्न थाले । ‘मालती–मंगले’ उनको एकदम सफल र लोकप्रिय, गीति नाटक थियो । माधव घिमिरेको ‘शकुन्तला’ गीति नाटक राम्रो थियो । तर ‘मालती–मंगले’ अत्यन्त सफल भयो । त्यो नाटक मैले कैयौं पटक हेरें । अरूलाई, पनि लगेर देखाउँथे । कविज्यू पास दिलाइदिन्थे ।
त्यसबखत म ‘साप्ताहिक विमर्श’मा लेख्थे । त्यसमा निकै लेखे पनि, ‘मालती–मंगले’बारे ।
एकपटक त्यो नाटक प्रदर्शित हुनुअघि नारायणगोपालसँग कुराकानी गर्दा, मैले सोधेको थिएँ–
“तपाईँ अचेल सेलाउनु भएको छ, भन्छन् नि ?”
उनले उत्तर दिएका थिए– “मालती–मंगले हेर्नु, म ‘छुरा’ भएर आएको छु ।”
साँच्चिकै त्यसमा नारायणगोपाल छुरा भएरै आएका थिए । सबलाई लाग्दथ्यो, ‘मालती–मंगले’ले नारायणगोपालको उचाइ पनि थपेकै थियो भने, नारायणगोपालको स्वरले पनि ‘मालती–मंगले’लाई अझ लोकप्रिय बनाउनमा मद्दत गरेकै थियो ।
जे होस्, मलाई भएको लाभ चाहिँ के थियो भने, त्यसपछि कविजी मलाई राम्रै चिन्न थाले र स्नेह पनि गर्थे ।
म उनको घरमा पनि गएको छु । उनका साथ सिनेमाको विशेष प्रदर्शन पनि हेर्न गएको छु ।
उनका काव्य ‘अश्वत्थामा’लाई विद्वान मदनमणि दीक्षित अत्यन्त उच्च कोटीको सिर्जना मान्दथे । त्यो उच्च कोटीको छ पनि । तर उनको ‘गौरी’ भने सधैं सर्वोच्च मान्नेहरू पनि थिए । एकपटक साझा प्रकाशनको सर्वेक्षणमा ‘गौरी’ उनको सर्वाधिक बिक्री हुने र सधैं धेरै बिक्री हुने पुस्तकका रूपमा नामांकित भएको थियो । एकपटक मात्र होइन ‘गौरी’ खण्ड–काव्य सधैं लोकप्रिय र सर्वाधिक बिक्री हुने काव्य–पुस्तकमा पर्दछ । ‘कविता–पुस्तक धेरै बिक्री हुँदैन’ भन्ने आम मान्यतालाई ‘गौरीले भने तोडेको छ । ‘गौरी’का मैले सम्झेअनुसार यी पंक्तिहरू :
यी रोए पनि लाग्छ दुःख मनमा
सम्झेकि आमा भनी
यी हाँसे पनि लाग्छ दुःख मनमा
बिर्सेकि आमा भनी
मलाई अत्यन्त मन छुने लाग्दछ । ‘गौरी’ नेपाली साहित्यको एक अप्रतिम शोक–काव्यका रूपमा मान्यता प्राप्त छ ।
२०६० सालमा उनले ‘राष्ट्रकवि’को उपाधि पाएका हुन् । धेरै विशिष्ट साहित्यकारले उनको ‘रथयात्रा’ समारोहमा भाग लिएका थिए । ‘राष्ट्रकवि’को उपाधि प्राप्त भएपछि एकदिन कवि विमल कोइरालाले मलाई भनेका थिएँ– “दाइ, माधव घिमिरेलाई ‘राष्ट्रकवि’ त दिलायौं नि ।” त्यसबखत उनी उच्च ओहोदामा थिए ।
नेपाली सेनाले उनीलाई सम्मान गरेको थियो । एउटा फिल्म पनि उनीबारे बनाएको थियो । त्यसमा मसित पनि विचार लिँदै कुराकानी गरिएको थियो । त्यो सराहनीय प्रयास थियो, नेपाली सेनाको । तर त्यो फिल्म मैले हेर्न पाएको छैन ।
एकपटक मसित कुरा हुँदा उनले अस्तित्ववादबारे कुरा गरेका थिए । यसबाट उनको पूर्वेली र पश्चिमा अध्ययनको विस्तार कति थियो भन्ने देखिन्छ ।
मेरो उपन्यास ‘स्वर्गीय हीरादेवीको खोज’के भूमिका उनैले लेखेका छन्, यो म कहिल्यै बिर्सन्न ।
यस्ता यशश्वी अमर साधक, हाम्रा एकमात्र ‘राष्ट्रकवि’लाई म हृदयदेखि श्रद्धाञ्जली अर्पित गर्दछु ।
प्रतिक्रिया