देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरमा कांग्रेस कार्यकर्ता नेकपा प्रवेश गरेको भ्रामक हल्ला

देशान्तर

भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुका नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता श्याम खत्री नेकपा प्रवेश गरेको भन्दै विभिन्न संचारमाध्यमको प्रयोग गर्दै भ्रामक हल्ला फिजाएपछि उनले त्यसको खण्डन गर्दै झुटको खेतीको संज्ञा दिएका छन् । उनले आफू २०७६ सालदेखि कांग्रेसको सक्रिय कार्यकर्ताको रुपमा कार्यरत रहेको जनाउँदै नेकपाका स्थानीय नेताहरुलाई झुठको खेती बन्द गर्द सचेत गराएका छन् ।

केही समय अघि विभिन्न संचार माध्यमले नेकपाका नेताको इशारामा श्याम खत्री लगायतका युवा नेकपा प्रवेश गरेको भन्दै भ्रामक समाचार सम्प्रेषण गरेपछि खत्रीले आफू २०७६ सालदेखि कांग्रेसमै सक्रिय रहेको र आजीवन कांग्रेस पार्टीमै रहेर देश र जनताको सेवामा समर्पित हुने स्पष्ट पारेका छन् ।

‘मेरो नेपाली कांग्रेस पार्टी र नेताप्रति सदैव उच्च सम्मान छ । मैले २०७६ सालमै नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमै गएर सदस्यता लिएर सक्रियतापूर्वक नेपाली कांग्रेसको विधि विधान र नियम अनुसार यस पार्टीमा सकृय रुपमा लागिपरेको छु । विषम परिस्थितीमा यो देश र जनताको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस नै भएकोमा दुईमत छैन’, उनले भनेका छन्, ‘देश र जनता डुब्नै लाग्दा पनि भ्रष्टाचारमा लिप्त भएर मुलुकलाई आर्थिक रुपमा टाट पल्टाउन खोज्ने वर्तमान सरकार विरुद्ध हामी युवाले एकमत हुन र नेपाल र नेपालीको रक्षाका खातिर नेपाली कांग्रेसमा आवद्ध हुन म सबैलाई आह्वान गर्दछु ।’

उनले आफू कसैको दबाब र प्रभावमा नेपाली कांग्रेसमा आवद्ध नभएको पनि स्पष्ट पारेका छन् । ‘म कसैको दबाब र प्रभावमा नेपाली कांग्रेसमा गएको होइन । अब यो मेरो बाँकी जीवन नेपाली कांग्रेसको माध्यमबाट यो समाज र देशको सेवा गर्ने प्रण गर्दछु । हिजो, आज र भोलि र दिर्घकालसम्म नेपाली काग्रेसमै रहन्छु, मेरो विषयमा संचार माध्यममा जे जस्तो समाचार आयो त्यो सरासर गलत थियो’, उनले भने ।