देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती

देशान्तर

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।

विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उहाँको निधन भएको थियो ।

तीस वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । साथै नेपालमा छापाखाना भित्र्याउने योगदानसमेत पनि उनले नै पाएका छन् ।

युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेकाे रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरेका थिए। भानुभक्तलाई चर्चामा ल्याउने काम उनले गरे। भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।

शृङ्गारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाएका नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए । नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा भट्टले लेखेकाे गजल व्यङ्ग्यात्मक शैलीका समेत हुन्थे । ‘जता हेर्‍यो त्यतै मेरो नजर्मा राम प्यारा छन्’, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो’ यी उहाँका गजलका नमूना हुन् ।