देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसईईमा विद्यालयले पठाए आफूखुसी अंक

देशान्तर

कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपेको देखिएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाले यसको पुष्टि गरेको छ ।

ग्रेडिङ सुरु भएको वर्ष ०७२ को एसईईमा ४ मा ४ जीपीए नै प्राप्त गर्ने विद्यार्थीको संख्या २ मात्रै थियो । ०७३ मा यो संख्या बढेर ४ भयो । ०७३ सम्मको एसईईमा अनिवार्य विषयमध्ये अंग्रेजी र विज्ञानमा मात्रै प्रयोगात्मक थियो । ०७४ देखि गणितबाहेक सबै विषयमा कम्तीमा २५ अंक प्रयोगात्मक थपियो । सबै विषयमा शिक्षकले नै प्रयोगात्मक नम्बर दिने व्यवस्था भएपछि ०७४ मा ४ जीपीए ल्याउनेको संख्या ७४ पुगेको थियो । ०७५ मा १ सय ६ जनाले ४ जीपीए ल्याए ।

स्रोतबाट प्राप्त ०७६ को नतिजा विश्लेषण गर्दा ९ हजार ३ सय १९ जनाले ४ जीपीए ल्याएका छन् । यो संख्या यस वर्ष नियमिततर्फका ४ लाख ७२ हजार ७८ जनाको १ दशमलव ९७ हो । यसपालि काठमाडौं जिल्लामा मात्रै १ हजार ५ सय ५२ जनाले ४ जीपीए ल्याएका छन् । बोर्डले भने यस वर्ष तथ्यांक नै लुकाएको छ ।

विद्यालयले आफूखुसी अंक दिएकैले यस वर्ष ४ जीपीए ल्याउनेको संख्या बढेको शिक्षा विकास तथा समन्वय इकाइका एक प्रमुखले बताए । ‘यस वर्ष सहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई प्रायः ४ जीपीए दिएको पाइयो,’ बोर्डका एक सदस्यले भने ।

नतिजाले शिक्षक र विद्यालयमाथि नै नैतिक प्रश्न उठेको शिक्षाविद् विद्यानाथ कोइरालाले बताए । ‘विद्यार्थीको शैक्षिक स्तर बढेको यसले पुष्टि गर्दैन, शिक्षकहरूले आफ्नो हात जगन्नाथ गरे, उनीहरूको इमानमा प्रश्न गर्ने बेला आयो,’ उनले भने । लोकसेवा आयोगको प्रतिस्पर्धादेखि अन्य निकायको परीक्षामा पनि एसईईको प्रमाणपत्रले मान्यता पाउँदै आएको छ । ‘१० कक्षाको परीक्षालाई ५ कक्षाको जस्तै मान्दा त यसले खासै असर नगर्ला तर अहिलेसम्म यसको एउटा मान्यता छ,’ कोइरालाले भने, ‘१० कक्षामा शिक्षकले दिएको नम्बरले ११ र १२ कक्षामा काम गर्छ कि गर्दैन, यो गम्भीर प्रश्न हो ।’

बोर्डले अभिभावक, विद्यार्थी र विषयगत शिक्षकको दबाबमा विद्यार्थीको सिकाइ स्तरभन्दा पनि बढी नम्बर राखेर पठाउन सक्ने भएकाले नम्बर दिने सूत्र नै बनाएर कार्यविधि बनाइएको थियो । ‘सकेसम्म पारदर्शी होस् भनेर नम्बर दिने सूत्रसहित कार्यविधि तयार पारेका थियौं,’ बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘कुन विद्यालयको नतिजा विगतमा कस्तो थियो, यसपालि कस्तो छ भन्ने पनि निगरानी गर्छौं, अलि पछि विश्लेषण गरौंला ।’ कान्तिपुरमा खबर छ।